बागलुङ/ नेकपा एमालेको तर्फबाट जैमिनी नगरपालिकाको प्रमुखमा उमेद्वारी दिएका लिला राना र उपप्रमुखका उमेद्वार उषा पौडेलले घर दैलो अभियान थालेका छन् । वडा नं. ५ बिनामारेबाट एमालेले घरदैलो अभियान थालेको हो ।
यसअघि नगरको उपप्रमुख रहेका बेला रानाले बिनामारेका किसान तथा युवाहरुका लागि प्रोत्साहनका कार्यक्रम ल्याएका थिए । बिनामारेमा छोटो र स्तरीय सडक बनाउने काममा अघिल्लो कार्यकालमा आफ्नो समय खर्च गरेका रानाले सोही वडाबाट अभियानको थालनि गरेका हुन् । घर दैलोमा पुगेका रानाले समग्र जैमिनीको बिकासका लागि आफु उपप्रमुख हँदाका बखत गरेका काम हेरेर मतदान गर्न आग्रह गरे । ‘कुनै वडा बाँकी नहोला मैले बनाएका योजना अनुसारका काम नभएका’ रानाले सर्वसाधारणसँग भने ‘बिकास खोज्नेहरुले सूर्यमा मतदान गर्नुहोस्, कमजोरी गरेका छौं भने खवरदारी गर्नुहोस्, हामि सच्चिन तयार छौं ।’
सत्ता साझेदार पाँचदलीय गठबन्धनका बिरुद्धमा एमाले एक्लै मैदानमा रहेको भन्दै रानाले जनताको जीतका लागि एमालेको जीत आवश्यक रहेको बताए । उनले सबै जनताको घर दैलोमा पुगेर उनीहरुको दुःख सुख साट्ने गरेको उदाहरण सुनाउँदै एमालेले मात्रै त्यस्ता जनप्रतिनिधि बनाउन सक्ने बताए ।





