२०६५ सालमा विश्वप्रकाश लामिछानेको नेतृत्वको समितिले फेवातालको मापदण्ड ६५ मिटर तोकिदिएको थियो । त्यसपछिका विभिन्न कालखण्डमा यसको मापदण्डका विषयमा किचलो भइनै रह्यो किनकि ६५ मिटर मापदण्डभित्र करिव १ हजारभन्दा बढी संरचनाहरु थिए । ती संरचनालाई अवैध मान्दै भत्काउने प्रयास पटक पटक महानगरले नगरेको हैन तर कहाँ सम्भव हुनु ?अहिले भने एकाएक महानगरले स्थानीय तहको निर्वाचनको मुखैमा आएर फेवातालको मापदण्ड घटाएर ३० मिटर कायम गरेको छ । चुनावको मुखैमा यसलाई कतिले राजनीतिक फण्डाका रुपमा पनि लिएका छन् । यसको कार्यान्वयनसँगै फेवातालको अस्तित्व माथि नै थप संकट पो निम्त्याउने हो कि ठूलो प्रश्न चिन्ह् खडा गरिदिएको छ । यति मात्र हैन, पछिल्लो समय तालको क्षेत्रफलसमेत पहिलाको तथ्यांकभन्दा कम नै घोषणा गरिएको थियो ।
फेवातालको इतिहासः
पmेवाताल प्राकृतिक वा मानव निर्मित ताल भन्ने विषयमा सबैको आ–आफ्ना धारणाहरु रहेका छन् । तालको पूर्वतिर ड्याम भएकाले यसलाई मानवनिर्मित भन्ने धेरै छन् तर नामी भूगर्वविद डा. हर्क गुरुङले आफ्नो अध्ययन रिपोर्टमा बताएका छन्, ‘फेवाताल पोखरा उत्पति हुने समयमै हिमतालबाट आएको पानीले बनेको ताल थियो ।’ उनले आफ्नो पुस्तक ‘भिग्नेट्स अफ नेपाल’ मा यो पनि बताएका छन् कि फेवामा ड्याम बन्नु अगावै जंगबहादुर राणाले तालको पानी पम्प गरेर सिचाइँमा प्रयोग गर्ने सपना बुनेका थिए, जुन यथार्थमा भने सफल भएको थिएन । यस अर्थमा पनि फेवा प्राकृतिक ताल रहेको अध्ययनले देखाउँछ ।
जनमानसमा फेवा उत्पतिको आआफ्नै जनविश्वासहरु रहेका छन् । यता तालबाराही मन्दिर संरक्षण गुठी व्यवस्थापन समिति अनुसार यस मन्दिरको अस्तित्व वि.सं. १६६७ देखि कायम रहिआएको देखिन्छ । कतैकतै वि.सं. १४४७ देखि अस्तित्वमा रहेको भन्ने पनि अभिलेखहरुमा भेटिन्छन् । बाइसे चौबिसे राज्यका पालामा कास्कीका राजा कुल मण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेका थिए । प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिलालेख थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रुपमा पूजाआजा गर्न थालिएको किंवदन्ती अझै छ । पछि आएर विं.सं. २०१७ मा राजा महेन्द्रले अहिलेको स्वरुपमा मन्दिर निमार्ण गरिदिएसँगै यसको चर्चा थप चुलिएको थियो ।
पोखराको सभ्यतासँग जोडिएको फेवाः
पोखराको सभ्यता फेवातालसँग जोडिएको थियो । २०१८ सालमा तालमा पहिलोपल्ट ड्याम बनेको थियो तर यसभन्दा अघि पनि कुला नहरहरु बनाएर खेतहरु सिञ्चित गरिएका थिए । २०१६ साल ताका नेपालका प्रधानमन्त्री विपी कोइराला हुँदा चिनियाँ प्रधानमन्त्री चौ इन्लाई नेपालमा राजकीय भ्रमणमा आएका थिए । भ्रमणकै क्रममा उनले फेवातालमा नौकाविहार समेत गरेका थिए । फेवाको प्राकृतिक बाँध कमजोर भएकाले यो जुनसुकै समय भत्किन सक्ने बताउँदै नयाँ बाँध बनाउन विपीलाई उनले सुझाएका थिए ।
त्यसको दुई वर्ष पछि अर्थात वि.सं. २०१८ मा भारतीय सहयोग मिसनको १५ लाख रुपैँया आर्थिक सहयोगमा ४६ फिट अग्लो बाँध बाधिएको थियो । २९४ मिटर लामो उक्त बाँधका १९ वटा ढोकाहरु थिए । त्यसबेला उक्त बाँध बाधेर फेवातालको पानी १५ हजार रोपनी जमिनका सिंचाइ र १ मेगावाटको विजुली निकाल्ने प्रयोजनका लागि प्रयोग गरिएको थियो । तर यो बाँध २०३१ सालमा भत्किएको थियो । बाँध भत्किएसँगै फेवाको पानी ह्वात्तै घटेको थियो । यहीँ मौका छोपी फेवा अतिक्रमण सुरु भएको थियो, जुन अझै पनि रोकिएको छैन । त्यसपछि २०३५ सालमा यूएनडीपीको सहयोगमा पहिलाको बाँध भन्दा झन्डै एक सय मिटर तल अर्को बाँध निमार्ण भएको थियो ।
ब्रिटिस सर्भे अफ इन्डियाले सन् १९२५÷२६ मा तयार पारेको स्थलगत नक्साअनुसार फेवातालको क्षेत्रफल ३.४६ वर्गकिमी थियो । पछि सन् १९५७÷५८ मा सर्भे अफ इन्डियाले नै तयार पारेको नक्सामा चाँहि ४.३९ वर्गकिमी तालको क्षेत्रफल देखिएको थियो । पछि विसं २०१८ मा बाँध बनिसकेपछि नेपाल भारत सहयोग मिसनको प्रतिवेदनले तालको क्षेत्रफल १०.३६ वर्गकिमी अर्थात २० हजार ३ सय ६४ रोपनी उल्लेख गरिएको थियो । त्यसताका तालको गहिराई २९ मिटरको थियो । त्यसपछि विभिन्न समयमा उतारिएका नक्साहरुमा यसको क्षेत्रफल घट्दै आएको देखिन्छ ।
त्यसपछि ०३८ सालमा यूएनडीपीले तयार पारेको अध्ययन प्रतिवेदनमा तालको क्षेत्रफल ५ दशमलब ८ वर्गकिमी देखिएको थियो । पछि ०६४ मा विश्वप्रकाश लामिछाने नेतृत्वको समितिले गरेको अध्ययनमा तालको क्षेत्रफल ५ दशमलब ६ वर्गकिमी उल्लेख गरिएको थियो ।
तालको सिमांकन र नक्सांकनको विषय नौलो हैन । यो कार्य त्यति सहज पनि हैन । पछिल्लो समय यसको आधिकारिक क्षेत्रफलको छिनोफानो गरिएको छ । गत कात्तिकमा पुण्यप्रसाद पौडेलको संयोजकत्वमा गठित फेवातालको चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले अन्ततः तालको क्षेत्रफल ५ दशमलब ७२६ वर्गकिमी तोकियो जुन क्षेत्रफल ११ हजार २ सय ५५ रोपनी रहेको थियो । फाल्गुन १६ गते मन्त्रिपरिषद्को बैठकले यसलाई पारित पनि गर्यो ।
पारित नयाँ नक्सा र २०१८ को नक्सा दाच्ने हो भने फेवातालको क्षेत्रफल आँधाको हाराहारीमा घटेको देखिन्छ । यहीँ विषयलाई लिएर विभिन्न समयमा सर्वत्र पोखरा तातिन्छ । समितिका सदस्य सचिव एवं नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतम २०१८ को अध्ययनमै त्रुटि भएको दाबी गर्छन् । फेवातालको क्षेत्रफल कुनै पनि आधारले १० वर्गकिमी हुनै नसक्ने उनी बताउँछन् ।
तर यति भनिरहँदा विगतबाटै तालको अतिक्रमण चाहिँ भइनै रहेको विभिन्न अध्ययनले देखाउँछ । विसं २०६८ फाल्गुन ४ गते फेवातालको अतिक्रमण भएका जग्गा छानबिन गर्न उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेको अध्यक्षतामा समिति गठन भएको थियो । तालको क्षेत्रफल ६.५ वर्गकिमी प्रतिवेदनमा देखिएको थियो । लामिछाने प्रतिवेदनअनुसार तालको पश्चिमपट्टि १ हजार ६ सय ९२ रोपनी तालको जग्गा व्यक्तिले आफ्नो नाममा बनाएको देखिन्थ्यो । करिब ९ सय ५० जना व्यक्तिको लालपुर्जा खारेज गर्न सिफारिस गरेको थियो । तालको २ हजार ३१ रोपनी जग्गा खेतीयोग्य जमिनमा परिणत भएको थियो ।
ऐतिहासिक रुपमा तालकै जग्गा भएपनि १९९० सालदेखि तिरोभरो तिर्दै आएको ५ सय ४० रोपनी जग्गाको मुआब्जा दिन सिफारिस गरेको छ भने बाँकी १६९२ रोपनी सरकारले ढिलो नगरी तालकै क्षेत्रमा समावेश गर्न सुझाव दिइएको थियो । मुआब्जा मात्र अर्बौ लाग्ने तथ्यांकले देखाउँछ । प्रदेश सरकार वा महानगर कसले यो बेहोर्ने भन्ने विषयनै टुगों लागेको छैन ।
फेवाको आयु निर्धारण गर्ने अर्को तत्व यसको गहिराइ । ०३१ सालमा ३३ मिटर गहिरो फेवाताल ०६४ को नापीमा १८ मिटर मात्र गहिरो देखिएको थियो । पछिल्लो समय २०१७ मा अमेरिकी विश्वविद्यालयका ४ जना प्रोफेसर र दुई नेपालीको टोलीले गरेको अध्ययनले भने तालको अधिकतम गहिराइ १९ मिटर र न्युनतम भने ८ मिटर पत्ता लागेको थियो । यसरी विभिन्न तथ्यलाई केलाउँदा करिब १०० वर्षमा फेवाको अस्तित्व विलिन हुने धेरैले अनुमान गरेका छन् । जापानिज सहयोग संस्था जाइकाले गरेको अध्ययनअनुसार फेवातालमा बर्सेनि १ लाख ४२ हजार मेट्रिक टन माटो र फोहोरमैला थुप्रिने गरेकोे छ । जसबाट प्रत्येक वर्ष शून्य दशमलब १८ वर्ग कि.मी. ताल पुरिँदै आएको छ ।
फेवातालको सिरानमा रहेका हर्पन, अँधेरी, लौरुक र बेतयनी खोलामा एक वर्ष अघि बाँध र सिल्टपोखरी बनाइएका थिए । करिब २९ करोड लगानीमा सम्पन्न भएका ती पुर्वाधारहरु एक वर्षमै जीर्ण बनेका थिए । थप २५ करोड थप्नु पर्ने अनुसन्धानले देखाएको थियो ।
तालको वरपरका क्षेत्रमा मात्र अहिले करिब ५ सय किमी सडक विस्तार भइरहेको छ । वर्षेणी यही सडकबाट बगेर आउने ग्रेगर, ढुंगा, माटो तालमा पुरिदै गएको छ । एक वर्षभित्र प्राय सबै सडकहरु ढलान गर्ने योजना रहेको महानगर बताउँछ ।
माघमा सुरु भएको बाँध मर्मत कार्य अन्तिम चरणमा आइपुगेको थियो । अन्तिममा आएर तालबाट १५ हजार घन मिटर माटो निकाल्ने निर्णय भएको थियो । तर यसका लागि कुन सरकारले कति बजेट निकास गर्ने यकिन हुन सकेको थिएन । प्रदेश सरकार र महानगरबीचको तालमेल नमिल्दा यो कार्य ढिला भएको धेरैको बुझाई थियो ।
फेवाताल केवल ताल मात्र हैन, सभ्यता पनि हो । पोखराको सभ्यतासँगै फेवातालसँगै जोडिएर आउँछ । फेवातालको अस्तित्व मेटिनु भनेको सिंगो पोखराको सभ्यता मेटिनु हो । अझ भनौं, गण्डकीकै अस्तित्वमा आँच आउनु हो । फेवातालमा माछापुच्छे«को लोभलाग्दो तस्विरको चर्चा विश्वको कुन कुनामा हुँदैन ? सन् २०१७ मा पोखरा विश्वकै तेस्रो सुन्दर गन्तव्य र घुम्नै पर्ने पहिलो गन्तव्यका रुपमा समावेश भएको थियो ।
फेवातालको किनार, लेकसाइडमा मात्र अहिले सयौं होटल, रेष्टुरा लगायत विभिन्न व्यापार व्यवसाय तालकै अस्तित्वमा अडिएका छन् । तालकै जग्गालाई अतिक्रमण गरेर नयाँनयाँ संरचनाहरु बन्ने क्रम अझै रोकिएको भने छैन । तालकै अस्तित्वमा बाचिरहेका उनीहरु ताललाई नै मिचेर आफ्नो भविष्यको अस्तित्व धरापमा पारिरहेका हेक्का राख्दैनन् । यही गतिमा तालमा मानव बस्तीको अतिक्रमण,जलकुम्भीको फैलावट बढ्दै जाने हो भने अबको सय वर्षमा फेवाको अस्तित्व मेटिने धेरै अध्ययन रिपोर्टहरुले देखाउँछ । अनि सँगै मेटिनेछ पोखराको अस्तित्व । त्यसैले लेकसाइडको सडक छेउमा झुन्डिएको एउटा बोर्ड बारम्बर सम्झन्छु,‘नो मोर लेक, नो मोर लेकसाइड । सेभ फेवा लेक ।’





