पृष्ठभूमि
मानव जीवनका अत्यावश्यक आवश्यकतामध्ये स्वास्थ्य, सुरक्षा र शिक्षा हुन् । आज, काममा सुरक्षा र स्वास्थ्यका लागि अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा कोभिड १९ को प्रभाव पश्चात कोभिड नियन्त्रणका क्रममा स्वास्थोपचार र सुरक्षाका लागी अग्र पंक्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि सुरक्षा कवजका रुपमा पिपिई र मास्कलाई लिइयो ।
भिडभाडमा जानु पर्दा सर्वसाधारण सबैका लागि मास्कको अनिवार्य प्रयोगलाई प्राथमिकता दिइयो । तर, कोभिडको प्रभाव कम हुन लाग्दा नलाग्दै यो साधन उपयोगमा वेवास्ता गरिँदै आएको पाइन्छ । जोखिमपूर्ण काममा सुरक्षा साधन, स्वास्थ्य तथा सुरक्षाको वातावरण व्यवस्थापनतर्फ कसले ध्यान दिने ? कामदारलाई सुरक्षा तालिम दिईएको छ कि छैन ? यिनै कुराहरुको संक्षिप्त चर्चा गरौं ।
काममा सुरक्षाको अवस्था
तालिम प्राप्त सुरक्षाकर्मीले भिड नियन्त्रण गर्दा वा अग्नि नियन्त्रकले दमकलको प्रयोग गर्दा उपयोगमा ल्याउने ड्रेस तथा साधन बाहेक घरदेखि पहरामा झुण्डिएर जोखिमपूर्ण काम गर्नेहरु चाहिँ साधारण पोसाकमै खटिएको हामीले देख्न सक्छौं । तर, स्वास्थ्य र सुरक्षा तालिमबेगर नै जहानिया राणा शासनविरुद्ध कल्याणकारी आर्थिक आश्वासनसहित आन्दोलनलाई चर्काउन मजदुरको उपयोग र बलिदानी चढाएको ७ दशक नाघिसक्दासम्म संस्थानमा कार्यरत मजदुरका रोजिरोटी व्यवस्था हुने केयौं कारखाना नै बन्द हुदा स्थिति उल्टो भइदियो ।
फाटफुट रुपमा काम गर्ने मजदुरको सुरक्षा र स्वास्थ्य स्थितिको कुरै नगरौं । हरेक काममा जोखिमको अवस्थालाई मध्यनजर राखेर उपयुक्त सुरक्षा कवज, सिप र स्वास्थका लागि उपचारसहितको सचेतना, प्रयोग र व्यवहारिक स्थितिको अनुगमन, व्यवस्थापन र अनिवार्यता नहुनुमा स्वयं मजदुर, रोजगारदाता र सरोकारवाला निकायको कमजोरी स्पष्ट छ । अर्कोतर्फ, रोजगारीको निश्चिततासहित पूर्ण सुरक्षित वातावरणमा काम गर्दा गराउँदा स्वयं मजदुर, रोजगारदाता र राष्टलाई चौतर्फी लाभ हुने अवस्थालाई पनि नजर अन्दाज गरिएको पाइन्छ ।
काम गर्ने स्थानको वातावरणीय, भौतिक, जैविक, रासायनिक तथा मानसिक स्वास्थ्यको स्थितिलाई ध्यानमा राखेर कामदारलाई तालिम वा सचेतना दिने गरेको पनि पाइँदैन र सुरक्षाका उपकरण तथा साधनको व्यवस्थापन नै छैन भन्दा फरक नपर्ला ।
काममा स्वास्थ्यको अवस्था
सर्वसाधारणदेखि मजदुर तथा कर्मचारी सबैका लागि सरकारले स्वास्थ बिमाको व्यवस्था गर्न सूचित गरेपनि अधिकांश नागरिकले स्वास्थ्य बिमा गराएर सुविधा लिन सकिरहेको अवस्था छैन । कोभिड १९ को कारण बेरोजगारी बढ्दै जाँदा नागरिकमा रोजिरोटीको समस्या छोडेर स्वास्थ्य बिमा गराउनेतर्फ ध्यान गएको पाइँदैन ।
रोजगारदाताले आफ्ना कामदार तथा कर्मचारीको स्वास्थ्य बिमा, जीवन बिमा गराउनु पर्ने, सञ्चयकोष खडा गरिदिनुपर्ने सरकारी निति केवल कागजी घोडामै सीमित भइरहे । स्थानीयदेखि अन्तर्राष्ट्रिय खेलकुदहरुमा स्वास्थ्यकर्मीसहितको स्वास्थ उपचारको व्यवस्था हुन सक्ने, सार्वजनिक सवारी तथा सडकदेखि सगरमाथासम्म जोखिमपुर्ण काममा अहोरात्र खटिने मजदुर तथा कर्मचारीका लागि व्यवस्थित स्वास्थ जाँचसहितको उपचार व्यबस्था हुन नसक्ने अवस्थाबाट हामी गुज्रिरहेका छौं ।
कामको गम्भीर्यता अनुसार आवश्यक प्राथमिक उपचारको तालिम, सामाग्रीको व्यवस्थापन र कामदारको स्वास्थ्य जाँच गरी स्वस्थ्य कामदारलाई मात्र काममा लगाउनु पर्नेमा काम गर्न सक्ने अवस्थासम्मका कामदारलाई सकुन्जेल काममा लगाउने गरेको पाइन्छ ।
काममा सुरक्षा तथा स्वास्थ्यको व्यवस्था सम्भव छ या आवश्यकता हो ?
कामको प्रकृति अनुसार कामदारको स्वाथ परिक्षण, आवश्यक तालिम, औषधी तथा सेफ्टी साधनको व्यवस्था सहित काममा लगाउन संभव छ । तर, स्वास्थ निजी क्षेत्रबाट केवल जनघनत्वका आधारमा स्वास्थकर्मीसहित सुविधा सम्पन्न स्वास्थ संस्थाहरुको बजार सम्भव हुने, जोखिमपूर्ण कामसहित मानव गतिविधि सञ्चालन हुने विकट स्थानमा सामान्य सुविधा पनि नहुने स्थितिलाई विश्लेषण गरी त्यस्ता स्थानमा अनिवार्य सुरक्षा र स्वास्थ्यको प्रवन्ध गर्नु राज्यको दायित्व र आवश्यकता हो ।





