प्यारो छोरा हिम्मतमा शुभ आर्शीवाद साथै सुस्वास्थ्यको कामना
छोरा हिम्मतले दिदी रुयासा र आमा रुपक देवी थापामगरलाई लेखेको पत्र फुर्सदमा एकपटक पढ्नु है । त्यहाँ पनि तिमीलाई काम लाग्ने सन्देशमुलक सुझावहरु हुन सक्दछ । खाली आफूलाई मात्र लेखेको पत्र मात्र पढने होइन । थप चिठी,निबन्ध,उपन्यास,कथा,लेख,रचना आदिको अध्ययन र विश्लेषण गर्न बाँकी छ ।
अहिले तिम्रो वार्षिक परिक्षा आएको छ । पूरा समय परीक्षाको तयारीकालागि दिनु पर्दछ । तर, छोराले बीचबीचमा मोबाइलमा समेत ध्यान दिन लाग्दा कतै परीक्षाको समयमा पढाइमा भन्दा बढी समय मोबाइलमा ध्यान दिने र परीक्षामा छोराको कम ग्रेड आउने त होइन भन्ने लागेको छ । तर, फेरि मोबाइल नहेर्ने भन्ने त होइन नि! गृहकार्य सकेर भोलि पढने पाठ आज घरमा नै पढेर गएमा राम्रोसँग कक्षामा बुझेर पढ्न सकिन्छ ।
छोरा तिमी बालिग मतदाता भएका छैनौ । तर आमा रुपक देवी थापामगर र दिदी रुयासा निलमलाई ०७९ साल वैशाख ३० गते शुक्रबार हुने स्थानीय सरकारको चुनावमा भोट माग्न आउने पार्टी उम्मेदवारलाई भोट दिँदा सैद्धान्तिक मतका अलावा केही सुझावहरु दिन सक्छौ ।
आमा,हजुरआमा,हजुरबाबा र दिदीलाई मतदान गर्दा तपाईंले चिनेको हैन, मतदातालाई चिनेकोलाई भोट दिने हो भन्नु है !शैक्षिक योग्यता उच्च भएको र सोही बमोजिम बुझाइ भएको, विशेषत महिला,बालबालिका,अपाङ्गता,असहाय समुदाय तथा व्यक्तिहरु प्रति समभाव राख्न सक्नेलाई अमूल्य मतदान दिनुहोला भन्न सक्नुपर्दछ । स्थानीय बौद्धिक, राजनीतिज्ञ तथा समाजसेवी परिचालन गर्न सक्ने, पाका वृद्धलाई सम्मान गर्न सक्ने,सामाजिक,साँस्कृतिक तथा आर्थिक विकास बुझेको,शिक्षा,स्वास्थ्य,मानवीय तथा विकासमा कम्तीमा ५ वर्षे आवधिक योजना प्रस्तुत गर्न सक्नेलाई मतदान गर्न सक्नु पर्दछ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम बाहेक अन्य रोजगारीका अवस्था निर्माण तथा सिर्जना गर्न सक्ने, स्थानीय कृषि तथा पशुपालनका लागि आवश्यक पर्ने भौतिक तथा मानविय व्यवस्थापन गर्ने सक्षमता भएको, सामूहिक निर्णय मान्ने र सामुहिक
हितका लागि आवश्यक कार्य योजना निर्माण गर्न सक्ने, स्थानीय कला संस्कृतिको संरक्षण विकास तथा प्रचार प्रसारमा आवश्यक कार्य गर्न सक्ने,कुनै टोल विशेष समुदाय र क्षेत्र भन्दा समग्र वडाको विकासका लागि काम निरन्तर गर्ने स्थानीय सरकारको चुनावमा उम्मेदरवारलाई भोट दिने गर्नुपर्दछ ।
छोरा हिम्मतले राष्ट्रिय कृषिगणना ०७८ बारे जानकारी लिनु पर्दछ । नेपालमा वि.स.२०१८ सालदेखि केन्द्रीय तथ्यांक विभागले हरेक दश दश वर्षमा राष्ट्रिय कृषिगणना सञ्चालन गर्दै आएको छ । कृषि गणनाको शिलशिलामा मुलुकको सातौ कृषिगणना २०७८ चैत,२०७९ साल वैशाख र जेठ महिनामा सञ्चालन भएको छ ।
नेपालको ७७ जिल्लाका ७ सय ५३ वटा स्थानीय तह अन्तर्गतका गाउँपालिका,नगरपालिका,उपमहानगरपालिका तथा महानगरपालिकाहरुमा वैज्ञानिक विधिले छनोट गरिएका वडा वा वडा खण्डमा छानिएका कृषक पविारसँग व्यक्तिगत अन्तर्वाताद्धारा कृषि चलन सम्बन्धी विस्तृत विवरण संकलन गरिने व्यवस्था छ । नेपालको अर्थतन्त्रमा कृषिक्षेत्रको महत्वपुर्ण भएकोले कुल गार्हस्थ उत्पादनमा एक चौथाई भन्दा बढी योगदान रहेको छ ।
छोरा हिम्मतले कृषि गणनामा कृषक परिवार,कृषक परिवारले चलन गरेको जग्गाको उपभोग र उपयोग,कित्ताहरुको विवरण,सिँचाइ गरेको जग्गाको क्षेत्रफल,अन्नवाली,कोसेबाली,दलहन,कन्दमुल,तेलबाली,नगदेबाली,मसलाबाली,तरकारी बाली र फलफुल लगाएको जग्गाको क्षेत्रफल तथा प्रमुख बालीहरुको उत्पादन,बीउबिजन,विषादी र मलखादको प्रयोग, उमेर समुह र जात अनुसार पाल्तु पशुपन्छीको संख्या,कृषि कार्यमा प्रयोग हुने भवन र संरचनाको अवस्था,कृषि औजार,माछापालन,मौरीपालन,च्याउखेती,पुष्पखेती,रेशमपालन, कृषिमा ऋण/बीमा/अनुदान, कृषिमा वातावरणको प्रभाव, खाद्यान्नको पर्याप्तता र परिवारका अन्य आर्थिक कृयाकलाप,कृषि कामदार,महिलाको नाममा रहेको जग्गाका बारेमा विवरण संकलन गरिनेछ ।
तथ्यांक ऐन,२०१५ बमोजिम सामुदायिक प्रश्नावली अन्तर्गत वडाको भु उपयोग, समुदायमा हुने प्रमुख कृषि उत्पादन, मूल्य र उत्पादकत्व सम्बन्धी विवरण, कृषि कामदारको अवस्था र पारिश्रमिक, विपद्का घटनाले समुदायमा गरेको असर, समुदायमा उपलब्ध सेवा सुविधाहरु, कृषि बजार, बडामा सञ्चालित विकास कार्यक्रमहरु, फोहर व्यवस्थापन, जंगली जनावरले केषिमा गरेको क्षति, सामुदायिक कुुकुर र गाई वस्तुको सख्या आदि विवरणहरु संकलन गरिन्छ है !
छोरा तिमीले हरेक वर्ष मनाइने दिवस,जयन्तीका बारेमा समेत जानकारी लिनु पर्दछ । म पत्रमा सांकेतिक विवरणको रुपमा दिवसलाई प्रस्तुत गर्न चाहान्छु । बाँकी दिवसहरु छोराले खोजी खोजी अध्ययन मनन र दिवसका नाराहरु बारेमा जानकार हुनु पर्दछ ।
हरेक वैशाख ११ गते लोकतन्त्र दिवस, मे १ विश्व मजदुर दिवस, हेरक जेठ १५ गते गणतन्त्र दिवस, हेरक जेठ २१ गते जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस, असार १५ गते राष्ट्रिय धान दिवस, भाद्र २२ गते निजामति दिवस, असोज ३ गते संविधान दिवस, हरेक डिसेम्बर ३ तारिख अन्तर्राष्ट्रिय अपांग दिवस, पुस २७ गते राष्ट्रिय एकता दिवस, माघ १६ गते शहिद दिवस, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, मार्च ८ तारिख अन्तराष्ट्रिय महिला दिवस, मे ३ तारिख विश्व प्रेस स्वतन्त्रता दिवस, मे ८ तारिख विश्व रेडक्रस दिवस, वैशाख २६ गते कानुन दिवस, मे २२ तारिख विश्व जैविक विविधता दिवस, जुन ५ तारिख विश्व वातावरण दिवस, जुन १२ तारिख विश्व बाल श्रम विरुद्ध दिवस, जुन १४ तारिख विश्व रक्तदाता दिवस, जुन २० विश्व शरणार्थी दिवस, जुन २१ विश्व योग दिवस/विश्व संगीत दिवस, जुलाई २ विश्व सहकारी दिवस, जुलाई ११ विश्व जनसंख्या दिवस, जुलाई २९ विश्व बाघ दिवस,अगष्ट ९ अन्तराष्ट्रिय आदिवासी दिवस पर्दछ ।
छोरा हिम्मत तिमीले थप दिवसहरुको बारे जानकारी लिनु पर्दछ । त्यसैगरी सेप्टेवर ५ मानव बेचविखनविरुद्ध दिवस, भदौ १९ गते नेपाल रेडक्रस दिवस, भदौ २९ राष्ट्रिय बाल दिवस, असोज १ राष्ट्रिय विज्ञान दिवस, सेप्टेवेर २१ विश्व शान्ति दिवस,सेप्टेवेर २७ तारिख विश्व पर्यटन दिवस, सेप्टेवेर २९ विश्व मुटु दिवस,अक्टोवर १ विश्व ज्येष्ठ नागरिक दिवस, अक्टोवर ५ विश्व शिक्षक दिवस, अक्टोवर ९ विश्व हुलाक दिवस,अक्टोवर १३ विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस, अक्टोवर १६ विश्व खाद्य दिवस, अक्टोवर १७ अन्तराष्ट्रिय गरिबी निवारण दिवस, नोभेम्वर ९ विश्व स्वतन्त्रता दिवस, नोभेम्बर १४ विश्व मधुमेह दिवस, मसिर १ राष्ट्रिय कर दिवस, नोभेम्बर २० अन्तराष्ट्रिय बाल दिवस, नोभेम्बर २५ अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस,डिसेम्बर १ विश्व एड्स दिवस, डिसेम्बर ३ विश्व अपांग दिवस, डिसेम्बर ७ अन्तराष्ट्रिय नागरिक उड्डयन दिवस, डिसेम्बर ९ भ्रष्टाचार विरुद्ध दिवस, डिसेम्बर १० विश्व मानव अधिकार दिवस, माघ २ गते भूकम्प सुरक्षा दिवस, माघ १५ गते नेपाल नर्सिङ दिवस, फेब्रुअरी २ विश्व सिमसार दिवस, फ्रेबुअरी ४ विश्व क्यान्सर दिवस, फे्रवुअरी १४ प्रणय दिवस, फ्रेबुअरी २१ अन्तराष्ट्रिय मातृभाषा दिवस, मार्च २२ विश्व पानी दिवस, मार्च २४ विश्व क्षयरोग दिवस, अप्रिल १ मुर्ख दिवस आदि इत्यादि रहेका छन् ।
छोरा हिम्मतले विभिन्न दिवसको नारा, कहिले देखि मनाउन थालिएको हो ? सो को बारेमा विश्लेषणात्मक क्षमता विकासमा अभिवृद्धि गर्नमा जरुरी हुन्छ । हरेक गतिविधिका बारेमा जानकारी लिनु र व्यक्तित्व विकासमा ध्यान दिनु पर्दछ । अध्ययनलाई गहिराईमा पुरयाउनको लागि दिवस समारोहले महत्वपुर्ण भुमिका निर्वाह गरेको हुन्छ । साथी संगीहरुसँग अन्तक्रिया गर्ने गर्दा बास्तविक जीवनमा तार्किकता बढाउनमा सहयोग पुरयाउँछ । भन्दै बाँकी गन्थन मन्थन अर्को पत्रमा लेख्ने नै छु । छोराको मर्निङ वाक गर्ने बानी विकासले निरन्तरता पाओस भन्दै पत्र अन्त गर्न चाहान्छु ।
उही तिम्रो बाबा
बागलुङ नगरपालिका १०,भकुण्डे





