बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘फरक पार्टीका साथी मिलाएर जाँदा अप्ठेरो छ’

‘फरक पार्टीका साथी मिलाएर जाँदा अप्ठेरो छ’


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७९, बिहिबार

स्थानीय निर्वाचन मिति बैशाख ३० गते नजिकिँदै गर्दा सबै उम्मेदवार घरदैलोदेखि चुनावी सभामा व्यस्त छन् । सबै पार्टी तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव लागिरहँदा नेपाली कांगेस नेतृत्वका गठबन्धनमा भने अझै सकस छ । आन्तरिक असन्तुष्टिकै कारण गठबन्धनका साझा उम्मेदवारलाई असहयोग हुने हो कि ? भन्ने आशंका छ ।

पोखरा महानगरपालिकामा गठबन्धनले मयेर उपमेयरमा साझा उम्मेदवार उठाए पनि वडाहरुमा भने समस्या देखिएको छ । गठबन्धन र निर्वाचन बारे नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालसँग ढोरपाटनकर्मी विजय नेपालीले गरेको कुराकानीको सम्पादित अंशः

 

स्थानीय तहको निर्वाचन आइक्सो चुनावी अभियान तीव्ररुपमा अघि बढिरहेको अवस्थामा पोखरा गठबन्धनमा तालमेल मिलेको अझै देखिएको छैन । यसले कतै चुनावी नतिजामा असर पार्ने त होइन ?

गठबन्धन गर्नका लागि पोखरामा मात्रै होइन । जिल्लाका सबै गाउँपालिकामा गठबन्धनको प्रयासहरु भएका हुन् । धेरैपट हामी साथीहरुसँग बैठक बस्दाबस्दैपनि पनि सोचेअनुसार गठबन्धन हुन सकेन । तर, त्यसको अर्थ गठबन्धन भएकै छैन भन्ने हुन्न ।
पोखरामा १६ वटा वडामा नेपाली कांग्रेससँगको गठबन्धन भएका छन् । ३३ वडामध्ये ३१ वडामा नेपाली कांग्रेसको नेतृत्वमा र दुई वटा वडामध्ये एउटामा एकीकृत समाजवादी र अर्कोमा जनता समाजवादीको उम्मेदवार देखिन्छ । केही स्वतन्त्र उम्मेदवारको कुरा पनि आइरहेको छ र त्यसको निक्र्यौल हुन बाँकी छ ।
यद्यपि गठबन्धनकै पार्टी भएकाले जनता समाजवादी नि गठबन्धनकै उम्मेदवार हुनुपर्छ भन्ने साथीहरुको तर्क छ भोलि त्यसको निक्र्याल गर्छौं । गठबन्धनलाई प्रभावकारी रुपमा अघि बढाउन समस्या फरक राजनीति पार्टी, फरक विचार, फरक पृष्ठभूमिबाट आएका कारणले सत्प्रतिशत परिणाम प्राप्त गर्ने कुरा पनि भएन ।
फरक पार्टीको गठबन्धन भएकाले ३३ मध्ये १६ वटा वडामा गठबन्धन हुनु भनेको ४८ प्रतिशत वडामा गठबन्धन हुनु हो । त्यो ४८ प्रतिशतमा गठबन्धन हुनु भनेको हाम्रो लागि एउटा राम्रो परिणाम पनि हो । सत्प्रतिशत जाने प्रयास हँुदाहुँदै पनि अब जान सकिँदैन भन्ने सम्भावना छैन त नभनौ अति नै कम छ । किनभने साथीहरु एक तरिकाबाट प्रचारप्रसारमा लागिसक्नुभएको छ ।
लागिसकेका साथिहरुलाई उम्मेदवारी फिर्ता गराउने कानूनी प्रावधान पनि छैन । स्वत्स्फुर्त रुपमा परीक्षण विष्लेषण गरेर फर्किनुभयो भने बेग्लै कुरा हो । नत्र भने जुन रुपमा अघि बढिरहेका छौ मित्रवत् प्रतिस्पर्धाको रुपमा हामी अघि बढ्छौँ ।

मित्रवत् प्रतिस्पर्धामा जाँदा उता मेयर र उपमेयरका उम्मेदवारले मत नपाउने हो कि भन्ने खतरा पनि देखिएको छ । कतिपय स्थानमा मेयर र उपमेयरका लागि मत नै नमागेको पनि देखिन्छ के गठबन्धन भएपनि ती कार्यकर्ताले गठबन्धन के का लागि भएको हो भन्ने बिर्सिएका हुन् त ?

मेयर र उपमेयरको हकमा फरक तरिकाले सोच्न पर्ने कुरा नै छैन । मेयर उपमेयर गठबन्धनकै उम्मेदवार हुनुहुन्छ । गठबन्धनका सबै राजनैतिक पार्टीले आफ्नो साझा उम्मेदवारको रुपमा वहाँहरुलाई सबैले लिएर हिँड्नै पर्छ र सबैले जिताउने पर्छ भन्ने एउटा कुरा रह्यो ।
जहाँसम्म गठबन्धनको अर्को कुरा रह्यो मित्रवत् प्रतिस्पर्धाको कुरा आयो कांग्रेसको नेतृत्वमा रहेको केन्द्रीय गठबन्धन जुन छ त्यसले केही सर्कलरहरु गरेको छ, निर्देशन दिएको छ । त्यो निर्देशनमध्ये एउटा जुन–जुन वडामा सहमति हुन सक्छ त्यसमा गठबन्धनको आधारमा जाने जहाँ सहमति हुन सक्दैन त्यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने । त्यसकारण हामीले गठबन्धन हुन सकेका वडाहरुमा गठबन्धन गरेका छौं ।
मित्रवत् प्रतिस्पर्धाको हकमा मेयर उपमेयरमा पाँच दलकै मेयर उपमेयर धनराज र कोपिला नै हुनुहुन्छ । त्यसमा कुनै दुविधा छैन र कतै हाम्रा नेपाली कांग्रेसका साथीहरुले मेयर उपमेयरका व्यानरहरु लिनुभएको छैन भने हामी पार्टीको तर्फबाट निदेर्शन गर्छौं । अनुरोध गर्छौं । र, अन्य राजनीतिक पार्टीले पनि मेयर उपमेयरलाई साझा उम्मेदवारको रुपमा मानेर सबै तहमा वहाँहरुलेपनि निर्देशन गर्नुपर्छ भन्ने अनुरोध छ ।

तपाईं रुपान्तरण गर्नका लागि हिँडेको व्यक्ति, नयाँ कार्यसमितिमा आइरहँदा एकै पटक निर्वाचनको भारी काँधमा आयो आफ्नै पार्टीमा त उम्मेदवार मिलाउन गाह्रो हुन्छ अहिले पाँच पार्टी मिलाउँदा कस्तो अनुभव भइहरहेको छ ?

त्यो त स्वभाविकै हो । एउटै पार्टी, एउटै संगठन, विचार र दृष्टिभूमिबाट हुर्किएकै पार्टीमा फरक फरक विचारका व्यक्ति हुन्छन् । फरक विचारका व्यक्तिलाई समायोजन गरेर जानेकुरा चुनौतीपूर्ण त छँदै छ । त्यसमा अन्य पार्टीका सदस्यहरुलाई पनि मिलाएर लाँदाखेरि असजिलो अफ्ठेरो नरहने त कुरै रहेन ।
त्यो असहजताकाबीच पनि हामीले धेरै व्यवस्थापन गरेका छौँ र केही व्यवस्थापन हुन बाँकी रहेको कुरा हो र यो निर्वाचनमा केही हुन नसकेपनि आउँदा निर्वाचनमा पनि थप ठाउँहरुमा हामीले गठबन्धन गरेर जाने नै छौं भन्ने कुरामा राष्ट्रिय राजनीति कसरी अघि बढ्छ भन्ने कुरा रह्यो । चुनौतीका बीचमै हामीले गठबन्धन ग¥यौं । आशा छ निर्वाचनको परिणाले राम्रै गराउँछ ।

कास्की जिल्लालाई त एमालेको गढको रुपमा लिने गरेको पाइन्छ यस्तो स्थितिमा गठबन्धनले निर्वाचन जित्ने मुख्य आधारचाहिँ के छ ?

हामीले जित्ने आधार भनेको एउटा हाम्रो संगठनको ताकत हो । सबै भन्दा ठूलो ताकत भनेको कांग्रेसको बल हो । त्यसलाई अलिकति सहयोग गर्नका लागि गठबन्धनसँग जोडिएको हो । जहाँ जहाँ गठबन्धन भएको छ त्यहाँ गठबन्धनको ताकत बलियो छ भन्ने कुरा बुझ्न पर्छ ।
अर्को जित्ने आधार भनेको नेकपा एमाले जो हिजो नगरपालिका वा गाउँपालिका जहाँजहाँ रहेर वहाँले काम गर्नुभयो ती बेला सपना आम जनताका बीचमा बाँड्नुभयो त्यो मनजित्ने किसिमको हुन सकेन । भ्रष्टाचार बढ्यो, सुशासनमा उहाँहरुले काम गर्नै सक्नुभएन जताततै अस्तव्यस्त र अनियमितता भए यस्ता यस्ता कारणहरुले गर्दा जनताले दुई तिहाई दिएर पठाएको एमालेले पुरा समय काम गर्नै सकेन ।
उसको आन्तरिक खिचलो, गलत प्रवृत्तिका कारण जुन रुपमा पाँच वर्षमा पूरा गर्नुपर्ने कुराहरु थियो त्यो पुरा हुन सकेन त्यसैले जनताको मतको कदर भएन जनता प्रति इमान्दार हुन सकेनन् त्यसकारण एमाले प्रति जनताको धेरै ठूलो वितृष्णा छन् जनता अब त्यो उहाँहरुको नेतृत्व चाहानुहुन्न देश संकटमा परेको समयमा नेपाली कांग्रेसले चलाएको कारणले निर्वाचन जित्ने ताकत र वातावरण बनेको छ ।

गाउँगाउँमा अझैपनि मतदान शिक्षा आवस्यक देखियो यसलाई कसरी तयारी गर्नुभएको छ त ?

मतदाता शिक्षा दिनुपर्छ भन्ने हामीलाई लगेकै छ । पहिला पनि मतदाता शिक्षा दिएकै हो र अहिले त झन गठबन्धनलाई तपाईँ हामी जानेकैले पनि मतदान गर्न कठिन देखिएको छ ।
कतै गाह्रो हुने हो कि कतै अलमलमा पर्ने हो कि भन्ने अवस्था हुँदा अक्षर पढ्न नसक्ने बुबा आमाहरुका लागि यो धेरै कठिन कुरा छ यसलाई मतदाता शिक्षा मार्फत प्रशिक्षित गर्ने र शिक्षादिने कुरा पार्टीले अघि बढाइसकेको छ हामी त्यही रुपमा अघि बढ्छौं ।

निर्वाचन पटकपटक आउँछन् । तर, अपांगमैत्री भएर कहिल्यै पनि आएनन् । मतदान गर्न नै निकै कठिन हुने अपांगता भएका व्यक्तिहरुको गुनासो पनि व्यापक छ यसलाई आगामी दिनमा सुधार गर्न जरुरी देखिएको छ तपाईको धारणा के छ ?

राम्रो कुरा सम्झाउनु भयो । अब अपांगमैत्री गर्ने जुन कुराहरु छन् एउटा राष्ट्रिय पार्टीले त्यो गर्नै पर्छ । अहिले सम्म त्यो गम्भीर भएर सोचेको अवस्था भने छैन । तपाईँले स्मरण गराउनुभयो अब यसलाई कसरी गराउन सकिन्छ त्यो तर्फ हामी आजैबाट लाग्ने छौँ र यसलाई सुधार गरेर जानेछौ ।
हामी धेरै परिवर्तनका कुरा गर्छौ घोषणापत्रदेखी भाषणसम्म धेरै नै देखिन्छन् तर चुनावमा प्रचार प्रसारमा पुरानै शैली अनुशरण गर्दै योजना सुनाउन छाडेर सडक अवरुद्ध गरेर सर्वसाधरणलाई मर्कापर्ने गरी नाचगान गर्ने,ध्वनी प्रदुर्सन गर्ने

काम मात्र गरेको देखियो सुख दिने प्रतिबद्धता व्यक्त गरिरहँदा किन दुःख दिइरहनुभएको छ ?

अब यो प्रचार प्रसारको शैली र डिजिटल युगमा डिजिटलाइज गरेर जानुपर्छभन्ने नै हो तर हामी जुन परम्पराबाट हुर्की आएका छौँ त्यो चरित्र तोड्न सकिएको छैन् । हामीले अब प्रविधिमा कसरी जान सकिन्छ भन्ने विषयमा छलफल गरिरहेका छौँ हामीले योजनाहरु पनि ल्यायौँ तर पुर्णता प्राप्त गर्न भने सकेनौ आउँदा दिनमा तपाईहरुले सोचेजस्तै प्रचार प्रसारको शैली नै परिवर्तन गरिनुपर्छ भन्ने मलाई लाग्छ । तपाईहरुको सरसल्लाह म पार्टीलाई राख्नेछु ।

अन्त्यमा आम मतदातालाई के भन्न चाहानुहुन्छ ?

आम मतदातालाई नेपाली कांग्रेसको तर्फबाट बैशाख ३० गतेको निर्वाचनमा सहभागि भई आफ्नो अधिकारको प्रयोग गरि मतदान गर्नुहुन अनुरोध गर्दछु । इमान्दार र सक्षम व्यक्तिलाई नै मतदान गर्न अनुरोध गर्दछु धन्यवाद ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->