मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

हाम्रो टेलिचलचित्र प्रसारण हुँदा सहर नै सुनसान हुन्थ्योः हरिवंश

हाम्रो टेलिचलचित्र प्रसारण हुँदा सहर नै सुनसान हुन्थ्योः हरिवंश

हास्यव्यङ्ग्य भनेको जस्तो फुटबल खेल्दा पेनाल्टीमा गोल हुने सम्भावना धेरै हुन्छ तर छक्याएर गोल हान्दाको ‘चार्म’ विल्कुलै भिन्न हुन्छ ।


  • ढोरपाटन संवाददाता
  • असार १३ २०८३, शनिबार

नेपाली कला क्षेत्रमा हरिवंश आचार्य विशिष्ट प्रतिभाका रूपमा चिनिनुहुन्छ । उहाँ सुपरिचित हास्य कलाकार हुनुहुन्छ । ‘लालपुर्जा’, ‘पन्ध्र गते’, ‘भकुन्डे भूत’, ‘हरिबहादुर र मदनबहादुर’ र ‘दसैँको च्याङ्ग्रा’ उहाँका हास्य टेलिशृङ्खलामध्ये चर्चित छन् । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य अर्थात् ‘मह जोडी’ का रूपमा पनि उहाँका प्रस्तुति लोकप्रिय छन् । आचार्यले गाईजात्रा महोत्सवमा विसं २०३४ मा भाग लिएपछि उहाँको प्रसिद्धि बढ्यो । ‘बलिदान’, ‘लोभीपापी’, ‘फिलिम’, ‘राजामती’, ‘जे भो राम्रै भो’, ‘तँ त साह्रै बिग्रिस नि बद्री’, ‘भुठान’ र ‘हरिबहादुरको जुत्ता’ उहाँका केही लोकप्रिय चलचित्र हुन् । गोरखापत्र १२६ वर्ष प्रवेश उपलक्ष्यामा उहाँसँग चलचित्र क्षेत्रको समसामयिक विषयमा केन्द्रित रहेर पत्रकार नारद गौतम र सुकृत नेपालले गर्नुभएको कुराकानी :

  • तपाईंको जीवन र करियरसँग जोडिएका धेरै हास्य पात्र चर्चित छन्, तीमध्ये तपाईंको मनमा विशेष रूपले बसेका वा दर्शकले अझै सम्झिरहने कुनै पात्रबारे केही बताइदिनुहुन्छ कि ?

हामीले त्यस्तो धेरै अनगन्ति शृङ्खला र चरित्र गरेका छैनौँ । थोरै नै गरेका छौँ । भर्खर भर्खर नेपालमा टेलिभिजनको उदय हुँदा हामीले ‘पन्ध्र गते’, ‘वनपाले’, ‘कान्तिपुर’, ‘दसैँ’, ‘लालपुर्जा’ र ‘सुरबेसुर’ टेलिचलचित्र बनाएका थियौँ । त्योबेला विकल्प धेरै थिएन । भारतीय दूरदर्शन र नेपाल टेलिभिजन मात्र थियो । नेपाल टेलिभिजनमा हाम्रा टेलिचलचित्र प्रसारण भयो कि यति हिट हुन्थ्यो कि शतप्रतिशत मान्छे (टेलिभिजन भएका घरका मानिस) ले हाम्रा टेलिचलचित्र हेर्नुहुन्थ्यो । टेलिभिजन भएका घरका छिमेकीसमेत आएर हेर्नुहुन्थ्यो । टेलिचलचित्र प्रसारण भएको दिनमा टेलिभिजन भएका घरका ढोकामा टोलभरिका मान्छेका जुत्ता हुन्थ्योे । धेरैका घरमा त श्यामश्वेत टेलिभिजन नै हुन्थ्यो ।

मलाई सम्झना छ, हप्ताको एक पटक जब हाम्रो टेलिचलचित्र प्रसारण हुन्थ्यो, त्यो बेला सहर नै सुनसान हुन्थ्यो । सबै मान्छे आज टेलिचलचित्र हेर्नु पर्छ भनेर बस्नुहुन्थ्यो । मैले आफ्नो टेलिचलचित्र सम्पादन गर्ने बेला धेरै पटक हेरिसकेको हुन्थेँ । म मोटरसाइकल चढेर गल्ली गल्ली घुम्थेँ र शून्य भएको देख्दा रमाइलो लाग्थ्यो । सबै पात्रलाई दर्शकले मन पनि पराउनुहुन्थ्यो । पछिल्लो समय धेरै प्रतिस्पर्धा छ । नेपालको आकाशमा धेरै विदेशी च्यानल देखिएका छन् । अहिले टेलिभिजनमा कार्यव्रmम हेर्ने फेसन पनि फरक भएको छ । पहिले टेलिचलचित्र हुन्थे भने अहिले ‘रियालिटि सो’ धेरै छन् । समय धेरै परिवर्तन भइसक्यो ।

  • कलाकारका रूपमा तपाईंले धेरै भूमिका निर्वाह गर्नुभएको छ तर मनमा भएर पनि विभिन्न कारणले गर्न नपाएको कुनै भूमिका छ कि ? 

त्यस्तो खासै छैन । मैले गर्न पाइरहेको छु । नेपालमा ठुलठुला ऐतिहासिक चलचित्र बन्ने वातावरण छैन । न त इतिहाससँग सम्बन्धित कथा नै बनाउन सकिएको छ । त्यस्तोमा अभिनय गर्न पाए हुन्थ्यो । हामीसँग स्रोतसाधन पनि कम छ । यो क्षेत्रमा खासै लगानी गर्नेले चासो देखाएको पनि देखिँदैन । त्यसैले ऐतिहासिक चलचित्र बने हुन्थ्यो भन्ने छ । त्यसमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने छ । नत्र अधिकांशमा मैले काम गरिसकेको छु । मेरो अभिनय भनेको हास्यव्यङ्ग्यबाट सुरु भएको हो तर पछिल्लो समय मैले केही गम्भीर भूमिका भएका चलचित्रमा पनि काम गरेँ । उमेरले गर्दा पनि होला अब मलाई हास्यभन्दा पनि अलि गम्भीर चरित्र गर्न रुचि छ ।

  • व्यस्त कार्यतालिकाबिच फुर्सदका क्षणमा तपाईं कसरी समय बिताउनुहुन्छ ? अहिले चलचित्रको क्षेत्रमा केही गर्दै हुनुहुन्छ कि ?

मलाई खासै फुर्सद हुँदैन । अहिले म ‘पाँच पाण्डव’ भन्ने चलचित्रमा अभिनय गरिरहेको छु । महसञ्चारको होइन, त्यसको निर्माता अरू नै हुनुहुन्छ । म त्यो चलचित्रको एउटा पात्र हुँ । चलचित्रको निर्देशक पनि अरू नै हुनुहुन्छ । म अस्ति ४० दिन झापामा बसेर आएँ । अझ १० दिन जतिको काम बाँकी छ ।

  • चलचित्र ‘भुठान’ को कथाभन्दा पनि तपाईको अभिनयको तारिफ धेरै भएको छ । किन होला ? 

चलचित्रमा म एकदमै फरक भूमिकामा देखिएको छु । कुनैबेला बलिदान भन्ने चलचित्रमा मेरो क्यारेक्टर भिन्न थियो । त्यसमा मैले एउटा क्रान्तिकारी युवाको भूमिका निर्वाह गरेको थिएँ । त्यसबाट मैले हास्यबाहेक अन्यमा पनि अभिनय गर्न सक्दो रहेछु भन्ने छाप बसेको थियो । ‘भुठान’ एउटा

‘आर्ट’ चलचित्र हो । चलचित्र हलमा हाउसफुल भएर एकैचोटी सय दिन मनाउने चलचित्र होइन । त्यसको प्रदर्शनीको समय निर्माणकर्ताले बिगारेको हो । त्यो चलचित्र कम्तीमा दुई/तीन वटा हलमा निश्चित समयमा प्रदर्शन भएको भए त्यसका दर्शक पक्कै हुन्थे होला । फेरि यस्तो चलचित्रका दर्शक थोरै नै हुन्छन् । यो एउटा अन्तर्राष्ट्रियस्तरको चलचित्र बनेको छ । अहिले त्यो चलचित्र अमेजोन प्राइममा पनि हेर्न पाइन्छ । त्यसमा मेरो भूमिका अन्य चलचित्रको भन्दा फरक नै छ । चलचित्रमा मैले मेरो उमेरका मान्छे, जो नेपालबाट अमेरिका गएर बसेका छन्, उनीहरूको दैनिकी कसरी बितिरहेको छ भन्ने अभिनयमार्फत दर्साउन खोजेको छु ।

  • आफैँ चलचित्र निर्देशन गर्ने तयारी पनि यहाँको छ कि ? 

मैले चलचित्र लेख्न चाहिँ लेख्छु तर निर्देशन गर्दिनँ । निर्देशक भइसकेपछि धेरै जिम्मा लिनु पर्छ । कहिलेकाहीँ रातभरि नै सुटिङ हुन्छ । मैले आफूले अभिनय गरेको चलचित्रको सुटिङ चाहिँ रातभर जागराम बसेर भए पनि गर्छु तर आफैँ निर्देशन गर्न मन छैन । निर्देशकको दायित्व एकदमै धेरै हुन्छ । अहिले हामीभन्दा पनि राम्रा राम्रा युवा निर्देशक आएका छन् । निर्देशन उहाँहरूलाई गराउने र काम चाहिँ हामी गर्ने ।

  • समग्र चलचित्र क्षेत्रलाई अहिले कस्तो रूपमा लिनुभएको छ ? 

नेपालमा चलचित्र चाहिनेभन्दा धेरै बनिरहेका छन् । हाम्रो बजारभन्दा एकदमै धेरै बन्यो । फेरि म बनाउँछु, तपाईंहरू नबनाउनुस् भन्न पनि मिल्दैन । यो सबैको अधिकारको कुरा हो । सबैलाई रहर पनि होला । यसमा फाइदा पनि छ किनभने मान्छेले रोजगारी पाइरहेका छन् ।

धेरै प्राविधिकले रोजगारी पाएका छन् । यति हुँदा हुँदै पनि ९५ प्रतिशत चलचित्र अभैm पनि आफ्नो लगानी सुरक्षित गर्न सकिरहेका छैनन् । एकै हप्तामा तीनदेखि चार वटा चलचित्र प्रदर्शनमा आइरहेका छन् । त्यो हाम्रो चलचित्र बजारमा धेरै नै हो । फेरि यहाँ निर्यात गर्ने ठाउँ पनि छैन ।

  • तपाई र अभिनेता मदनकृष्ण श्रेष्ठले फरक फरक चलचित्रमा अभिनय गरिरहनुभएको छ । दुवैलाई दर्शकले एकसाथ हेर्ने इच्छा जाहेर गरेका छन् । यसमा भित्रभित्रै केही हुँदै छ कि ? 

हामीले सँगै काम गरी नै रहेका छौँ । चलचित्र ‘हरिबहादुरको जुत्तामा’ पनि मदन दाइलाई अन्तमा ल्याएर जोडेका छौँ । एउटै चलचित्रमा दुई जना खेल्नै पर्छ भन्ने हुँदैन । त्यो त जबरजस्ती मिलाउनुपर्ने हुन्छ । दाइले अहिले चारदेखि पाँच वटा चलचित्रमा अभिनय गर्नुभएको छ र त्यहाँ मैले खेलेको छैन । तपाई अभिनय नगर्नुहोस् भनेर भन्ने कुरा पनि त भएन । मलाई सुहाउने क्यारेक्टर मैले पाइरहेको छु । हामीमा दुई जनासँगै काम गर्नै पर्छ भन्ने छैन । निकट भविष्यमा अवश्य नै जोडिएला ।

  • अबको दिनमा तपाईंलाई दर्शकले कस्तो भूमिकामा देख्न पाउने छन् ? 

अहिले एउटा ‘पाँच पाण्डव’ भन्ने चलचित्र निर्माण भइरहेको छ । त्यसमा म पाँच पाण्डवमध्ये युधिष्ठिरको भूमिकामा छु । चलचित्रमा अहिलेको समाज र त्योबेलाको समाजको ‘फ्युजन’ छ ।

  • नेपालको हास्यव्यङ्ग्य अहिले कस्तो छ ? 

अहिले हास्यव्यङ्ग्यमा एकदमै राम्रो अभिनय गर्ने क्षमता भएका भाइबहिनी आउनुभएको छ ।  दुई/चार जना त एकदमै लोभ लाग्ने कलाकार हुनुहुन्छ । विशेष गरेर ‘रियालिटी सो’ हरूमा यस्तो कुरा सुन्न पाइन्छ । हास्यव्यङ्ग्य भनेको जस्तो फुटबल खेल्दा पेनाल्टीमा गोल हुने सम्भावना धेरै हुन्छ तर छक्याएर गोल हान्दाको ‘चार्म’ विल्कुलै भिन्न हुन्छ । यसैले पनि अहिले हास्यव्यङ्ग्य गर्ने चलन अलि बढेको छ ।

  • कला क्षेत्रमा लागेका युवापुस्तालाई यहाँको सुझाव केही छ कि ?

चलचित्रसँगै थिएटर र कला क्षेत्रको पनि उन्नति भइरहेको छ । थिएटर भनेको मान्छेको कला सिक्ने थलो पनि हो । हाम्रो पालामा हामीले पढेरभन्दा पनि परेर गरेको हो तर अहिले सबै कुरामा सुविधा छ । अहिले अभिनय पढ्ने कलेज पनि धेरै नै खुलेका छन् ।  पढेर आउन पाइन्छ । विभिन्न मञ्च फराकिला भएका छन् तर यो क्षेत्रमा जति मान्छे लाग्नुभएको छ, सबैलाई अर्थिक जोहो गर्न भने सजिलो छैन । जीवन जेनतेन चल्छ । त्यसैले यस क्षेत्रमा लाग्नेले विकल्प सोचेर आउनु पर्छ ।

  •  नेपालको पहिलो समाचारपत्र गोरखापत्र १२६ वर्षमा प्रवेश गरेको छ, गोरखापत्रसँग यहाँको स्मरण केही छ कि ? 

हामीलाई यहाँसम्म ल्याउने पहिलो गुन गोरखापत्रले नै लगाएको हो । गोरखापत्रमा समाचार छापिसकेपछि साक्षर मान्छे सबैले पढ्ने, एउटा सूचनाको माध्यम नै त्यही थियो । मनोरञ्जनको माध्यम पनि त्यही नै थियो । भैरव अर्यालका कृति, केशवराज पिँडालीका कुरा र साहित्यकारका लेख पढिन्थ्यो । अभिनय गरेपछि गोरखापत्रमा नाम छापिँदा त्यसको चार्म नै बेग्लै हुन्थ्यो । गोरखापत्रमा एउटा फोटो छापिँदा सिएनएनमा आएको जस्तो लाग्थ्यो ।

गाईजात्रा महोत्सवमा भाग लिएदेखि नै गोल्ड मेडल प्राप्त गर्दै गएँ । गोरखापत्रमा दुर्गानाथ शर्मा हुनुहुन्थ्यो, उहाँले पहिलो पटक आफ्नो लेखमा मेरो नाम राखेर धेरै तारिफ गर्नुभएको थियो । त्यसको कटिङ निकालेर सिरानीमा टाँसेर राखेको आज पनि मलाई याद छ । त्यसलाई हेर्दा एकदमै प्रेरणा मिल्थ्यो र काम गर्ने जाँगर बढेर आउँथ्यो । पछिल्लो समयमा ‘विज्ञापन’ नाटककै कुरा गरौँ । उक्त नाटक हामीले ३७६ पटक देखायौँ । त्यसमा गोरखापत्रमा एउटा विज्ञापन छापिसकेपछि अन्त केही पनि भन्नु पर्दैन्थ्यो । सबैतिर हल्ला हुन्थ्यो । मैले राष्ट्र बैङ्कमा पनि काम गरेँ । त्यहाँ रेडियो कार्यक्रम चलाउँथे । एकै दिनमा स्व्रिmप्ट लेखेर रेकर्ड गर्थे, जुन मेरा लागि सजिलो काम थियो । पाँच दिन मेरो खासै काम हुँदैन्थ्यो र म गोरखापत्र पढेर बिताउँथेँ ।

  • ‘लालपुर्जा’ सुटिङका लागि मुस्ताङ जाँदा गोरखापत्रको विज्ञापनको एउटा रोचक प्रसङ्ग थियो, यसको केही सम्झना छ कि ? 

त्यसमा जग्गाधनी धु्रवराम पण्डित भन्ने मेरो क्यारेक्टर थियो । त्यो समय काठमाडौँमा जग्गाधनी बढी पीडित थिए । आफ्नो जग्गा छ तर न घर बनाउन पाइन्छ न त्यहाँ गएर खेती गर्न पाइन्छ । अझ एउटै गाउँमा धेरै मोही भएको ठाउँमा त जग्गाधनी भाग्नुपर्ने स्थिति थियो । भूकम्पले घर भत्कियो बस्ने ठाउँ छैन । आफ्नो नाममा भएको लालपुर्जाको जमिन माग्दा पनि द्वैध स्वामित्वले गर्दा उसले पाउँदैन । कथाको यही प्रसङ्ग जोड्दै यो टेलिचलचित्र बनाएका हौँ । गोरखापत्रमा  जग्गाको हकदाबी गर्ने व्यक्ति कोही छ भने दाबी गर्न आउनु भन्ने सूचना निकालिन्छ । ३५ दिनभित्र कोही दाबी गर्न आएन भने जसले दाबी गरेको हो उसको नाममा जग्गा दर्ता हुन्छ । यसैलाई कथा बनाएर यो सिरियल बनाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->