पोखरा/ स्थानीय तहको निर्वाचनका लागि यतिबेला उम्मेदवारहरु चुनावी घरदैलोमा छन् । उनीहरुले सम्मुनत पोखरा बनाउनेदेखि विकासका पूर्वाधार बनाउने सम्मको काम घोषणापत्रमा राखेका छन् ।
चुनावी अभियानमा होम्मिएको सत्तारुढ ५ दलीय गठबन्धनबाट उपमेयर पदमा उम्मेदवारी दिएकी कोपिला रानाभाटले पोखरा १८ सराङकोटको एक चुनावी सभाको सम्बोधन गर्दैगर्दा उनलाई अचानक खोकी लाग्यो । पानी मागिन् । तर, त्यहाँ पानीको व्यवस्था थिएन ।
महानगरपालिकाभित्रै भए पनि सराङकोटमा पानीको चरम अभाव छ । पानी माग्दा तत्काल उपलब्ध नभएपछि केहीबेरमा बोतलमा पानी पाइन् र पिइन् । रानाभाटमात्रै होइन्, सराङकोट पुग्ने उम्मेदवारहरु कृष्ण थापा, धनराज आचार्य, मञ्जु गुरुङ, गणेश पौडेल, शंकर खराल सबैले त्यहाँ भनेकोबेला पानी पाउँदैनन् । सराङकोटसहित कास्कीकोट, कालिका, माझाठाना लगायत महानगरभित्र नै पर्ने यी वडाहरुमा पानी नहुँदा त्यहाँका स्थानीय चरम अभाव खेप्न बाध्य छन् ।
पोखरा महानगरपालिका बनेसँगै विकासले परिवर्तन हुने सोच राखेर जनप्रतिनिधिलाई मत दिए । उम्मेदवारले मत पनि पाए । तर, विकास पाएनन् । पाँच वर्षपछि फेरि अहिले निर्वाचन आएको छ । निर्वाचनमा एमाले, गठबन्धन, राप्रपा, स्वतन्त्र उम्मेदवार सबै मत माग्न आउँछन् महानगरमा रहेका काकाकुल वस्तीका स्थानीयको एउटै प्रश्न छ ‘पानी कहिले पाइन्छ ?’
हरेक पटक खानेपानीलाई चुनावी एजेन्डा बनाउँदै विभिन्न राजनीतिक दलले ती वडामा मत माग्दै आएका छन् । तर, स्थानीयले भने अहिलेसम्म सुकेको आँत मनग्गे भिजाउन सकेका छैनन् । ती ठाउँमा राजनीतिक दलका घोषणापत्रअनुसार धारा त पुग्यो । तर, पानी पुगेन ।
पोखरा २८ माझाठान डाडाँगाउकी श्रीमाया नेपालीको दैनिकीको आधा दिन पानी बोक्न मै जान्छ । १४ वर्षकै उमेरमा विवाह भएर आएकी उनी अहिले ४१ वर्षकी पुगिन् । गाउँमा पानी आउँछ सबै स्थानीय एकै ठाउँमा पानी भर्न जान्छन् । धेरै पाए २ गाग्री पानी पाइन्छ । त्यो पानी न त पिउन पुग्छ न त खाना पकाउन ।
चौपाया, लुगा धुने, नुहाउने तथा अन्य कामका लागि पानी लिन अझै पनि करिब आधा घण्टाको बाटो तय गर्नैपर्छ । ‘हामीले थाक खानेपानी खान्थ्यौं अहिले त्यो पनि बाटाका कारण आउन छाडेको छ । खानेपानीको निकै दुख छ । कसैले केही गर्दैनन्,’ नेपालीले गुनासो गरिन्, ‘धेरै समय तल पेधेँरोबाटै बोकेर खाइयो त्यसपछि खाल्टे खानेपानीको पानी आउन थाल्यो त्यो पनि दिनको एक दुई गाग्रीमात्र पाइन्छ ।’
पाइपमा पानी आएपनि धारा भने नपुगेको नेपालीले बताइन् । सरकारले ल्याएको पानी अपुग भएपछि विसि झर्न बाध्य भएको उनी सुनाउँछिन् । ‘पानीको सदुपयोग नै भएन । ठूलो परिवार हुने त अहिलेपनि डोको बोकेरै जानुपर्छ । यहाँ पानी कहिले दुई महिनामा आउँछ कहिले ६ महिनामा,’ उनले दुखेसो पोखिन् ।
कालिकाकै ५६ वर्षीया पार्वती ढकालले पनि अहिलेसम्म पानीको दुख भएको सुनाउँछिन् । ‘यहाँ स्वास्थ्य चौकी छन्, सानो बजार छ, विद्यालय, उच्च माध्यामिक विद्यालय पनि छन् । तर सबैक्षेत्रका लागि एउटा मात्र धारा छ,’ उनले भनिन्, ‘हामीले त्यतिबेला एक घर १५ हजार रुपैयाँका दरले पनि उठाएर सिख्नेअरीबाट सोलारबाट पानी ल्याएका थियौँ । त्यो पनि आएन ।’
कालिकामा पहिला थाक खोलाबाट पानी ल्याइएको थियो । करिब ३० वर्ष अघि थाक खानेपानी आयोजना सञ्चालनमा ल्याइएपनि पछिल्लो दुई वर्षदेखि पानी आउन छाडेको छ । उक्त गाउँ हालका मेयर मानबहादुर जिसीको गाउँ पनि हो । पोखराका मेयरकै गाउँमा २ वर्षदेखि पानी आएको छैन ।
उक्त क्षेत्रबाट नेपाली कांग्रेस, नेकपा एमालेले केन्द्रीय नेता तथा मन्त्रीसम्म पाए । तर, कसैले पनि जनताको मर्म बुझनै सकेनन् । यस्तै समस्या सुनाउँछन्, सराङकोटका मिनबहादुुर थापा । उनले खानेपानीको मामिलामा अझै सरकार भएको अनुभव गर्न नपाएको गुनासो गरे ।
‘सराङकोट पोखराको महत्वपूर्ण ठाउँ भयो तर विकास भएन,’ थापाले गुनासो गर्दै भने, ‘पानी अन्य ठाउँमा ल्याइयो तर हाम्रोमा आएन ।’ स्थानीय हिमकला थापाले पानीको समस्या रहेको गुनासो पोखिन् । उनले ग्यारजातीलाई स्थानिय सरकारले हेला गरेको दुखेसो पोखिन् ।
पोखराका ग्रामीण भेगमा यो समस्या निकै जटिल छ । कतिपय स्थानमा धारा बनेको छ पानी बगेको छैन । स्थानीयहरु पानी आउने आशमा पाँच वर्ष अघि दिएको मत अहिलेपनि झलझली सम्झिरहेका छन् । उनीहरुको गुनासो छ, ‘भोट माग्ने बेलासम्म त हो सबै गरिदिने । त्यसपछि बिर्सिहाल्छन् ।’
अहिले फेरि उम्मेदवारहरु उनीहरुको घरआँगनमा पुगेका छन् । विकासको ठूलो लहर सुनाउँछन् । तर, उनीहरुलाई विश्वासै लाग्दैन । देशको राजनीतिमा स्थीरता नदेखिएपछि संघीय संरचनामा जाँदा दुई तिहाई मत दिँदासमेत हुन नसकेको विकास अब हुन्छ भन्नेमा उनीहरु आस नै गर्दैनन् ।
उम्मेदवारहरु घरघर पुगेर मत मागिरहेपनि यसको तत्कालै समाधान गर्ने गरी कोही आउँछन् जस्तो पनि लाग्न छोडिसकको स्थानीय बताउँछन् । उनीहरु भन्छन्, ‘पानीको आशमा बसेको कति भयो, भयो । सधैं विश्वासले मत दियौं । अब त कोही आएर गरिदिन्छन्जस्तो पनि लाग्न छोडिसक्यो ।’





