बागलुङ/नेकपा एमालेको तर्फबाट बागलुङ नगरपालिकामा प्रमुख पदका उमेद्वार जनकराज पौडेलले बढ्दो बसाईसराई रोक्नका लागि अब व्यवस्थित गाउँको धारणा ल्याउनुपर्ने बताएका छन् ।
चुनावी अभियानअन्र्तगत शुक्रबार बागलुङको मालिकामा आयोजित सभालाई सम्बोधन गर्दै पौडेलले शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा परिवर्तन ल्याउँदै गाउँका मान्छे गाउँमै रहने वातावरण बनाउनुपर्नेमा जोड दिए । ‘शहरहरु धान्नै नसक्नेगरी जनसंख्या बढीरहेको छ, हाम्रा गाउँ खाली भए’ पौडेलले भने ‘गाउँ रित्तिन नदिँदा अब सोही अनुसार काम गर्ने छौं ।’
सुविधा गाउँ पुग्दा गाउँ रित्तै हुने अवस्था आउनबाट रोक्नका लागि आफुले योजनबद्ध काम गर्ने उनले बताए । पौडेलले जनताका आधारभुत आवश्यकता बुझेर काम गर्ने व्यक्ति मात्रै जनप्रतिनिधि हुने दावी गरे ।
उपप्रमुखका उमेद्वार सञ्जय खड्काले आउँदो स्थानीय तह निर्बाचनमा पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको आवश्यकताको समिश्रणबाट समृद्धिका लागि आफ्नो उमेद्वारी भएको बताए । नेकपा एमालेका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले देशको चौतर्फी बिकास गर्ने पार्टी एमाले भएको भन्दै सामाजिक न्याय र समानताका लागि पनि एमालेको जीत आवश्यकता रहेको बताए ।
एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले गबन्धनबिरुद्ध एक्लै मैदानमा रहेको एमालेले जिल्लाभरका मतदाताको साथ र सहयोग पाउने बताए । कार्यक्रममा एमालेका प्रदेश कमिटिका सदस्य शिव सापकोटा लगायतले बोलेका थिए ।
एमालेले चुनावी कार्यक्रमअन्र्तगत घरदैलो र कोणसभा तथा जभेटघाट कार्यक्रमलाई तिब्र बनाएको छ । एमालेको तर्फबाट जैमिनी नगरपालिकामा प्रमुखका उमेद्वार लिला राना र उपप्रमुखका उमेद्वार उषा पौडेलले दमेकमा घरदैलो गरेका छन् । बरेङ गाउँपालिकाका सबै वडामा घरदैलो तथा सभाहरु भएको अध्यक्ष पदका उमेद्वार प्रदिप थापाले बताए ।





