बागलुङ/ स्थानिय तहको निर्वाचन आउँन एक साता मात्र बाँकी छ । उम्मेदवारहरु यतिबेला घरदैलोलाई तिब्र बनाएका छन । बागलुङ नगरपालिकामा पाँच दलीय गठबन्धनको चुनावी सभा शनिबार बानपा ११ रायडाँडामा सम्पन्न भएको छ । रायडाडाँको रामतोला तथा आफ्रेमा घरदैलो तथा चुनावी सभा सम्पन्न भएको हो । सभामा बागलुङ नगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखको उम्मेदवार बसन्त कुमार श्रेष्ठ र उपप्रमुखका उम्मेदवार राजु खड्का सहित सवै दलका शिर्ष नेताहरु र स्थानिय जनताको उपस्थितिमा अन्तरक्रिया भएको थियो ।
सभालाई सम्बोधन गर्दै गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार बसन्त कुमार श्रेष्ठले रायडाँडा बागलुङ नगरपालिकाको सवै भन्दा विकट क्षेत्र रहेको हुँदा यसलाई विषेश क्षेत्रको रुपमा घोषणा गरेर विकास गरिने बताए । उनले जनताको चाहना अनुसार आधारभुत आवश्यकतालाई परिपुर्ति गर्ने र यस क्षेत्रमा आउने सडकलाई व्यवस्थित गर्ने बताए । रायडाँडा यस अघीनै नगरपालिकाले बिषेश क्षेत्र घोषणा गरेर काम गरेको थियो । ‘रायडाँडा सदरमुकाम देखी टाढाको वडा हो यहाँ धेरै जडिबुटी र आयआर्जन सँग जोडिने बस्तुको उत्पादन गर्न सकिने ठाउँछ’ श्रेष्ठले भने,–’यहाँ, आर्थिक विकास भौतिक विकासको आवश्यकता छ, त्यो त हामी गर्नेनै छौं । हामीले बागलुङ नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गर्नेछौं त्यसका लागि यसपाली हामीलाई मौका दिनुहोस ।’





