पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका पार्टी कि सुध्रिन र कि मैदान छाड्नुपर्ने बताएका छन् । पोखरामा शनिबार भएको राप्रपाको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले उक्त त्यसका लागि आफूहरुलाई मौका दिनुपर्नेसमेत बताए ।
३० वर्षदेखि एमाले, कांग्रेस, माओवादीको शासन आफूहरुले हेरिहेको तर, कुनै परिवर्तन नभएको जिकिर गरेका छन् । उनले ती पार्टीहरु अझै कति वर्ष अवधि थपिदिँदा देश बन्छ भन्ने प्रश्नसमेत राखेका छन् ।
‘मैले आलोचना गर्न भनेको होइन । तर, कोही कांग्रे्रेसको साथीहरु भन्न सक्छ ? शेरबहादुर देउवालाई अवधि थपिदियो भने यो देश बन्छ ?’ उनले प्रश्न गरे, ‘केपी ओली, प्रचण्डहरुलाई कतिचोटि, कति वर्ष थपिदियो भने यो देश बन्छ ? कोही एमाले माओवादीका साथीहरुले भन्न सक्छ ?’
उनले अगाडि भने भने, ‘फेरि मलाई भन्न लाग्छ कि यिनै पार्टीका यिनै नेतालाई देश बन्छ भन्नु भनेको साँढेको टाङमुनि बाल्टी थापको जस्तै हो । साँढेको टाङमुनी बाल्टी थापेर दूध आउँछ ? आउँदैन ।’
आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अब आफूहरुलाई मौका दिनुपर्नेसमेत बताएका छन् । उनले खुलेर राप्रपामा आउन नसके पनि गोप्य मतदान गरेर सहयोग गर्न सुझाए । ‘खुलेर आउने खुलेर आउनुस् । खुल्न नसक्नेले आफ्नै पार्टीमा बसेर हाम्रो पार्टीलाई भोट हाल्नुस्,’ उनले भने ।
नेपाली जनताले कम्युनिस्ट पार्टीलाई केन्द्रसहित ७ वटै प्रदेश सरकारको नेतृत्व गर्न दिएपनि असफल भएको लिङ्देनको जिकिर छ । हेर्नुस् त माओवादी, एमालेका साथीहरु नेपाली जनताले यो कम्युनिस्ट पार्टीलाई ८ वटै सरकारको नेतृत्व गर्न दिएको होइन ? यो कम्युस्टिको सरकार कसले ढालेको ?’ उनले प्रश्न गरे, ‘कांग्रेसले ढालेको हो ? राप्रपाले ढालेको हो ? जनताले ढालेको हो ?’
झन्डै २ तिहाइको प्रतिनिधि सभा र सातै वटा प्रदेशको मतलाई पनि ५ वर्ष थाम्न नसकेको उनको भनाइ थियो । ‘अब भन्नुस् त्यो एमाले भन्ने पार्टीलाई कति सिट दियौं भने थामिखान्छन् होला ? त्यसकारण अब कसैले पनि गल्ती गर्नुहुँदैन,’ उनले भने ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पोखरालाई सुधार्न आफूहरु मौकाको पर्खाइमा रहेको पनि दाबी गरे । ‘पोखरामा अहिलेसम्म एकचोटि गरेर देखाउने मौका पाएको छैनौं । हामीले यहाँ ग¥यौं, त्यहाँ ग¥यौं भनेर देखाउन केही चिज छैन । मौकै पा’को छैन,’ लिङ्देनले भने, ‘एकचोटिमात्रै तपाईंहरुले राप्रपामा भोट हाल्नु भयो भने राजेन्द्र लिङ्देनले भोट माग्दैन, हाम्रो कामले माग्छ त्यसबेला !’
लिङ्देनले आफ्नो क्षेत्रमा राप्रपालाई हराउन नसक्ने देखेपछि एमाले र कांग्रेसले गठबन्धन गरेको बताए । ‘राप्रपालाई अब एक्लै जित्न सकिँदैन भनेर एमाले र कांग्रेसले गठबन्धन गरेर राप्रपाविरुद्ध लडिराखेका छन् । कांग्रेस एमालेले घुँडा टेकिसके,’ उनले भने । राप्रपाले पोखरा महानगरको मेयरमा शंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई उठाएको छ । अघिल्लो चुनावमा पोखरामा राप्रपा चौथो स्थान ल्याएको थियो ।





