पोखरा/ पोखराको अघिल्लो स्थानीय निर्वाचन नतिजालाई आधार मान्ने हो ठूला भनिएका र साना दलबीचको मतान्तरमा ठूलो भिन्नता छ । ठूला भनिएको दलमा पनि विशेषगरी नेकपा एमाले र नेपाली कांग्रेसबीच मुख्य चुनावी प्रतिस्पर्धा थियो ।
अघिल्लो चुनावमा नेकपा एमालेका मेयर प्रत्याशी मानबहादुर जिशीले ६० हजार बढी मत ल्याएर जित निकाल्दा उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवरले ४६ हजार मत ल्याएका थिए । जबकि कांग्रेस उम्मेदवार कुँवरलाई नेकपा माओवादी केन्द्रले पनि समर्थन गरेको थियो । साना भनिएका दलमध्ये जनता समाजवादी पार्टीबाहेक अन्य दलले ३ हजारभन्दा माथि मत कटाउन सकेनन् ।
यस पटकको चुनावमा एकातिर एमाले छ भने अर्कातिर नेपाली कांग्रेससहित सत्तारुढ ५ दलले गठबन्धन गरेका छन् । नेकपा एमालेले २५ वर्षअघि तत्कालीन पोखरा उपमहानगर पूर्वप्रमुख कृष्ण थापा र निवर्तमान उपप्रमुख मञ्जुदेवी गुरुङलाई दोहो¥याएको छ भने गठबन्धनले नेकपा एसबाट धनराज आचार्यलाई प्रमुखमा र उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई अगाडि सारेको छ ।
आफ्नो राम्रो प्रभाव क्षेत्रमा रुपमा मान्दै आएको नेकपा एमालेले आफ्नो जितयात्रालाई निरन्तरता दिन चाहन्छ भने गठबन्धन प्रतिष्ठा जोगाउने ध्याउन्नमा छ । दुवै समूहले जित आफ्नो पोल्टामा पर्ने दाबी गर्दै आइरहेका छन् ।
तेस्रो ठूलो दल मानिएको नेकपा माओवादी केन्द्रले अघिल्लो पटक पोखरा प्रमुखमा नेपाली कांग्रेसलाई समर्थन गर्दै उम्मेदवारी दिएको थिएन । उपप्रमुखमा उम्मेदवारी दिएकी माओवादीकी गोमा ढकालले ८ हजार ७९६ मत ल्याउँदै चुनावी दौडमा तेस्रो भएकी थिइन् ।
उपप्रमुखमा विजयी भएकी नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ५६ हजार ४४८ मत र उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन् ।
‘ठूला दल’मै बेमेल !
मुख्य प्रतिस्पर्धामा रहेका नेकपा एमाले र सत्तारुढ गठबन्धन दुवैलाई सहज रुपमा चुनाव जित्न सजिलो छैन । नेकपा एमालेको गुटगत प्रभाव देखिँदो क्रममा छ भने गठबन्धनभित्र पनि मन मिल्न सकेको छैन ।
नेकपा एमालेको केन्द्रीय सचिवालयले नै सिफारिस गरेका दीपक पौडेलको विवादित भिडियो बाहिरिएपछि प्रदेश सांसदसमेत रहेका कृष्ण थापाले टिकट पाएका थिए । उम्मेदवारी दर्ताको अन्तिम समयमा टिकट खोसिएपछि पौडेल पक्ष रुष्ट छन् ।
त्यसमाथि एमालेभित्रै जातीय विभेदलाई प्रश्रय दिने व्यक्तिलाई मेयर बनाउन लागिएको भन्दै पोखरा दलित समुदायले नै थापालाई भोट नदिने अभियानै चलाइरहेका छन् । यसबाट पनि थापाको भोटलाई प्रभावित पार्न सक्ने एमालेकै नेताहरु बताउँछन् ।
उता, ५ दलीय गठबन्धन भनिएपनि अझैसम्म मन मिल्न सकेको छैन । प्रमुख र उपप्रमुखमा केन्द्रीय गठबन्धन नेतृत्वले नै बाँडफाँट गरिदिएपनि अधिकांश वडास्तरमा ‘मित्रवत् प्रतिस्पर्धा’ हुनेछ । गठबन्धन घटक जनता समाजवादी पार्टीले आफूहरुको सम्मानजनक उपस्थिति नभएको भन्दै गठबन्धन छोडिसकेको छ ।
आइतबार पोखरामा भएको गठबन्धनको साझा चुनावी आमसभा भेलामा समेत जनता समाजवादी उपस्थित थिएन । ३२ वटा वडा गठबन्धनका अरु दल बाँडफाँट गरेर २२ नम्बर वडा आफूहरुले पाउनुपर्ने माग जसपाले राख्दै आएको थियो ।
अन्य वडामा आआफ्नै तरिकाले वडास्तरमा गठबन्धन घटक दलहरुले उम्मेदवार उठाएका छन् । २२ नम्बर वडामा जसपाका सरिता क्षेत्री बरालबाहेक गठबन्धनका अन्य पार्टीले उम्मेदवारी दिएका छैनन् । तर, जसपाकी उम्मेदवार बराललाई छाडेर स्वतन्त्र उठेका उम्मेदवारलाई गठबन्धनले समर्थन गरेपछि जसपा रुष्ट बनेको हो ।
ठूला पार्टीकै मत काट्ने साना दलको दाउ !
ठूला भनिएका दलमा मतभेद् सिर्जना भएपछि आफूहरुले नजिते पनि ‘सम्मानजनक मत’ ल्याउने अहिले साना पार्टीको दाबी छ । अघिल्लो चुनावमा २ हजार २७२ मत ल्याएको राष्ट्रिय प्रजातन्त्र पार्टी यसपटक आफूहरुको मत बढ्ने दाबी गरेको छ ।
‘पहिलेको नतिजा हेरेर हामीलाई अहिले सानो पार्टी भन्न मिल्दैन । ठूला भनिएका पार्टीबाट आजित युवापुस्ताको हाम्रो पार्टीमा लहर छ,’ राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका मेयर प्रत्याशी शंकर खराल भन्छन्, ‘नजिते पनि ठूला दलका उम्मेदवारसँग बराबरी हुन्छौं ।’
अटेरी नामक अभियानबाट स्वतन्त्र उम्मेदवारी दिएका खड्कराज (गनेस) पौडेल एमालेभित्रको गुट लडाइँ र गठबन्धनभित्रको बेमेलको फाइदा आफूलाई हुने दाबी गर्छन् । ‘स्थानीय तहमा दलीय संयन्त्रविरुद्ध उठ्ने म एक्लो हुँ । त्यसो हुँदा उहिले उहाँहरुले पाएको मतबाटै मैले भोट पाउने हो,’ उनी भन्छन् । दलगत रुपमा एक लाख जना पार्टी कार्यकर्ता भए पनि बाँकी स्वतन्त्र नागरिक भएकाले उनीहरुको भोट आफूलाई आउने दाबी उनको छ ।
विवेकशील साझाबाट उम्मेदवारी दिएकी सुशिला केसी पनि ठूला दलले पाउने भोटबाटै आफूलाई मत आउने दाबी गर्छिन् । कति मत आउँछ भन्नेबारे आफूले आँकलन नगरेपनि ‘सम्मानजनक मत’ आउने उनको दाबी छ । ‘उहिल्यैदेखि पटकपटक भोट दिएर जितायौं । तर, पोखरा बन्नुको साटो बिग्रिँदै गएको छ,’ उनको तर्क छ, ‘त्यसबाट थाकेको जनताहरु मलाई भोट दिन्छन् ।’
अघिल्लो निर्वाचनमा पोखरामा १ लाख ६८ हजार ०६८ जना मतदाता थिए । त्यसमा पनि जम्मा ७४.८३ प्रतिशतले मतदातामात्रै मतदानमा भाग लिएको निर्वाचन कार्यालयको तथ्यांक छ । यसपटक पोखरामा ३९ हजार नयाँ मतदाता थपिएका छन् ।
अघिल्लो निर्वाचनलाई आधार मान्ने हो भने स्वतन्त्रबाट उठेका ५ जना उम्मेदवारलाई जम्मा ३ सय ५१ मत दिएका थिए । जबकी महानगर प्रमुखमा विजयी भएका नेकपा एमालेका मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएका थिए । जिसीका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजी कुँवर ४६ हजार ४१६ मत ल्याएका थिए । कुँवरलाई नेकपा माओवादीको समेत सहयोग थियो ।
अघिल्लो पटक स्वतन्त्रमा ५ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुले जम्मा जम्मा ३ सय ५१ मत दिएका थिए । ०७४ सालको स्थानीय निर्वाचनमा पोखरा महानगर प्रमुखमा १३ वटा राजनीतिक दल र ५ जना स्वतन्त्रले उम्मेदवारी दिएका थिए । अहिले १६ वटा राजनीतिक दल र ७ जनाले पोखरा महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।





