मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नेपालीले स्वच्छ सास कहिले फेर्न पाउने ?

नेपालीले स्वच्छ सास कहिले फेर्न पाउने ?


  • दिवस गुरुङ
  • बैशाख २६ २०७९, सोमबार

सरकारले नेपाल भित्रिने पेट्रोल र डिजेलबाट आर्थिक ऐन, ०६६ अनुसार प्रतिलिटर ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्कका नाममा कर उठाउँदै आएको छ । यस शीर्षकमा पछिल्लो १२ वर्षमा मात्र ११ अर्ब ५३ करोड संकलन भइसकेको छ । तर, संकलित रकम प्रदूषण नियन्त्रणका लागि खर्च नहुँदा अवस्था झन् चिन्ताजनक बन्दै गइरहेको छ ।

बारम्बार नेपालको राजधानी काठमाडौं विश्वकै प्रदुषित शहरको लिस्टमा पहिलो स्थानमा आइपुग्छ । एकपटक हैन, पटक–पटक । अझ भनौं हरेक वर्ष । सानो क्षेत्रफलमा धेरै जनघनत्व मात्र मुख्य कारक भने हैन, अव्यवस्थित सहरीकरण, औद्योगिकीकरण र मोटर गाडीहरुको अव्यवस्थित सञ्चालनले समस्या झन् विकराल बन्दै गएको छ । यो काठमाडौंका मात्र समस्या भने हैन, नेपालका ठूलाठूला सहरहरुले पछिल्लो समय यही समय ब्यहोर्दै आएका छन् ।

केही समय यता नेपालमा वायू प्रदूषणले अवस्था विकराल बनेको छ । विभिन्न मापनले त विश्वकै पहिलो वायू प्रदूषित सहरमा नेपालकै काठमाडौंलाई राखेको छ । योस्तरको प्रदूषण नहुँदा पनि २ वर्ष पहिले भारतले जनस्वास्थ्य संकटकाल लगाएको थियो । बेइजिंगमा बार्बिक्यूमा समेत निषेध गरिएको छ । पोहोर साल प्रदुषणको मात्र उच्च विन्दुमा पुगेको बेला नेपाल सरकारले भने चार दिनका लागि केवल शैक्षिक संस्थाहरुको बन्दको घोषणा गरेको थियो । यतिले मात्र सम्भव होला त? खै सरकारका सम्बन्धित निकायमा बस्नेहरुका सशक्त रणनीतिहरु ? वर्ष २०२२ को सुरुवातका केही महिनाहरु पनि नेपालको प्रदुषण मात्रा अधिकतम पुगेको थियो । यो हरेक वर्ष दोहोरिरहने चुनौती हो ।

सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारणले मात्र ३७ हजार मानिसको मृत्यु भएको तथ्यांकले देखाउँछ । धुमपानका कारण मात्र फोक्सोको रोग लाग्ने नभइ अहिले वायु प्रदूषणले यसको दर ह्वात्तै बढाएको छ ।पछिल्लो विभिन्न अध्ययनले त यो पनि देखाउँछ कि वायू प्रदूषण बढी भएका स्थानमा बस्ने मानिसमा कोभिड १९ संक्रमण हुने र कोरोनाबाट मृत्यु हुने सम्भावना बढी हुने देखाएको थियो । पछिल्लो तथ्यांकले यो पनि बताउँछ कि नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये करिब १५ प्रतिशत वायू प्रदूषणकै कारण रहेको थियो। त्यसैले कोरोनाजस्ता स्वासप्रस्वासमा लाग्ने महामारीका लागि क्याटलिस्ट बनिदिन सक्छ ,नेपालको वायू प्रदुषण ।

दुई वर्षअघि ‘काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ र सो कार्यान्वयनबारे छलफल भएको थियो । अब राजधानीका लागिमात्र सीमित नभइ सिंगो नेपालका लागि यस्ता कार्ययोजनाको कार्यान्वयन हुन नितान्त जरुरत देखिन्छ । भविष्यमा अवस्था झन् जटिल हुने सक्ने आकलन विज्ञहरुले गरेका छन् । यसका लागि राष्ट्रिय रुपमा नै नीति नियम र योजनाहरु तर्जुमा गर्नुपर्ने देखिन्छ ।

नेपालमा मानिसको मृत्यु हुने प्रमुख तीन कारण मुटुसम्बन्धि रोग, फोक्सोसम्बन्धी रोग र मस्तिष्कघात रहेका छन् । जसको मुख्य कारक नै रहेको छ वायू प्रदूषण । प्रदूषणकै कारणले शारीरिक मात्र नभई विभिन्न मानसिक चुनौतीहरु निम्त्याएका छन् । स्मरण शक्तिमा ह्रास आउने, पठनपाठनमा रुचि घट्ने आदि समस्याहरु यसका उदाहरणहरु हुन् ।

यता ‘वातावरण प्रदूषण नियन्त्रण’ नाममा शीर्षक तोकेरै सरकारले कर असुली गरेको पनि लामो समय भइसकेको छ । सरकारले नेपाल भित्रिने पेट्रोल र डिजेलबाट आर्थिक ऐन, ०६६ अनुसार प्रतिलिटर ५० पैसाका दरले प्रदूषण नियन्त्रण शुल्कका नाममा कर उठाउँदै आएको छ । यस शीर्षकमा पछिल्लो १२ वर्षमा मात्र ११ अर्ब ५३ करोड संकलन भइसकेको छ । तर, संकलित रकम प्रदूषण नियन्त्रणका लागि खर्च नहुँदा अवस्था झन् चिन्ताजनक बन्दै गइरहेको छ ।यद्यपि
सरकारको तर्फबाट भने यस रकम विभिन्न शीर्षकमा वातावरण संरक्षण कार्यहरुमै उपयोग भएको ठहर छ । ठीक शीर्षकमा उल्लेखनीय परिवर्तन आउने योजनाहरु भए नभएको अनुगमन र अध्ययन गर्ने कुनै निकाय नै नेपालमा छैनन् ।

वायू प्रदूषणमा सबैभन्दा खतरनाक तत्वहरु हुन्, पिएम २.५, पिएम १०, ओजोन, नाइट्रोजन डाइअक्साइड, सल्फर डाइअक्साइड, कार्बन डाइअक्साइड आदि । यहाँ पिएम २.५ ले २.५ माइक्रोनभन्दा साना कणहरुलाई बुझाउँछ भने पिएम १० ले १० माइक्रोनभन्दा साना कणहरुलाई बुझाउँछ । कण जति सानो भयो त्यति नै बढी हानिकारक हुन्छन् । कारण, कण जति साना हुन्छन्, त्यति नै यो फोक्सोको अति सूक्ष्म छिद्रहरुमा र मस्तिष्कका अति संवेदनशील भागहरु भित्र पस्न सक्छन् ।

सन् २०१३ मा विश्वका करिव ३ लाख मानिसमा गरिएको अध्ययनको निष्कर्ष अनुसार पिएम १० को अस्वभाविक वृद्धिले २२ प्रतिशत फोक्सोको क्यान्सर हुने जोखिम बढाउँछ भने सोही मात्रामा पिएम २.५ को वृद्धि हुँदा ३६ प्रतिशत फोक्सोको क्यान्सर हुने जोखिम बढाउँछ । यस्ता सूक्ष्म कणहरु इन्धन बाल्दा, रसायनिक प्रतिक्रिया हुँदा र डढेलो आदिबाट बढी निस्कन्छन् । संसारमा असामयिक मृत्युको छैटौं कारण पनि यही मानिन्छ ।

प्रदूषण मापन गर्ने निकायहरुले प्रदूषणको मापन गरी आम जनमानसले बुझ्ने गरी श्रेणीकरण गरी ए.क्यु.यास. अर्थात एयर क्वालिटी स्केलमार्फत् नतिजा दिन्छ । यसलाई विशेषगरी छ तहमा वर्गीकरण गरिएको हुन्छ । ० देखि ५० स्वच्छ, ५१ देखि १०० मध्यम र स्वासप्रस्वासका रोगीलाई असहज हुने, १०१ देखि १५० जोखिमयुक्त समूहका लागि अस्वस्थ र उनीहरु अत्यावश्यकबाहेक बाहिर निस्कन नहुने, १५१ देखि २०० अस्वस्थ र जो कोहीले पनि असहज महसुस गर्ने भएकाले सबैले बिनाकारण बाहिर निस्कन नहुने, २०१ देखि ३०० अति अस्वस्थ र आपतकालीन स्वास्थ्य जोखिमको घोषणा गर्नुपर्ने र बाहिर निस्कन नहुने र अन्तिम ३०१ भन्दामाथि उच्च स्वास्थ्य सतर्कता अपनाउनु पर्ने र जो कोहीलाई जोखिमपूर्ण स्वास्थ्य समस्या देखिन सक्छ ।

‘ओल्ड एयर क्वालिटी इन्डेक्स’ अनुसार मार्च ३०, २०२१, २२ः२० अनुसार काठमाडौंको ए.क्यु.आई २ सय १४ रहेको छ । आई.क्यु.एयरले अहिले काठमाडौंलाई विश्वकै दोस्रो जोखिममा राखेको छ । आइ.क्यु.एयर ले २०२० मा पि.यम २.५ लाई मुख्य आधार मानेर संसारकै प्रदूषित सहर चीनको होतानलाई सूचीको पहिलो स्थानमा राखेको थियो र यो सहर अहिले पनि पहिलो स्थानमा नै रहेको छ । हाल युरोप र उत्तर अमेरिका सबैभन्दा स्वच्छ छन् । जसका ए.क्यु.आई ५० भन्दा कम रहेका छन् । यसभन्दा अघि नेपालको ए.क्यु.आई भ्यालु ४०० भन्दा बढी पनि देखिएको थियो ।

यता विज्ञहरु भन्छन् कि धूलोको कारणले अहिले सूर्यको प्रकाशको किरण हामीसम्म आइपुगेको छ्रैन, जसले गर्दा ‘भिटामिन डी’ को कमी भएर रोग प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ । यसले गर्दा रुघाखोकीलगायत विभिन्न रोगहरु निम्त्याउने गर्दछ । थप चुनौती त दीर्घ खालको दम, खोकीका बिरामीहरुमा देखिएको छ । प्रदूषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, स्वासप्रश्वासमा गाह्रो हुने समस्या देखा परेका छन् ।

प्रदुषणका कारकहरुः

वर्खा याम सुरु हुन अगावै नेपालमा डढेलोको मात्र अत्याधिक हुने गर्दछन् । सुक्खा याममा डढेलो सजिलै हुने गर्दछन् । तराइदेखि पहाड हुँदै विभिन्न क्षेत्रहरुमा सयौं संख्यामा वन डढेलो भएका थिए ।
अनि अर्को मुख्य कारण हो अव्यवस्थित सवारी चाप र सडकको दुर्गति । मुख्य मुख्य शहरहरुमा ट्राफिक चाप बढ्दो देखिन्छ । म्याद गुज्रेका इन्धनका सवारी साधनहरुले प्रदुषणको मात्रा झन् बढाएको छ । यता सडक विस्तारमा ढिलासुस्ती र गुणस्तरहीन सडकहरु शहरका मुख्य समस्याहरु रहेका छन् । हरदिन नेपालको वायु प्रदुषणको मात्रा बढ्दो छ । अनि बढ्दो छ यसले निम्त्याउने चुनौतीहरु ।

समाधानहरु के के छन् त ?

जहाँ समस्या, त्यहाँ उपायहरु, उखानै छ । त्यसैले समस्यबाट भाग्नु भन्दा समाधानका उपायहरु खोज्नु नितान्त आवश्यक देखिन्छ । पहिलो कदम भनेको त वन डढेलोलाई नियन्त्रण गर्नु नै हो । यसका लागि वन जंगलमा फायर लाइनहरु निमार्ण गर्ने, समयसमयमा पातपतिंगरहरु सोहोरेर मल वा गाइवस्तुका लागि प्रयोगमा ल्याउने वा वन डढेलो सम्बन्धित जनचेनतामूलक कार्यक्रमहरु सञ्चालनमा ल्याइनुपर्छ । वन डढेलो एक वर्षको मात्र समस्या भने हैन, त्यसैले व्यापक रुपमा योजना र कार्यक्रमहरु तर्जुमा गरिनुपर्छ ।

शहरहरुमा प्रदुषणको मात्रा बढाउने अर्को कारक हो अव्यवस्थित शहरीकरण, औद्योकिकरण र सवारी चाप । सरकारले नै हरेक शहरमा व्यवस्थित सिटी प्लानिङको ब्रोड प्लानहरु बनाउनुपर्छ । समयमै सडक मर्मत र विस्तारका कार्यहरुलाई सम्पन्न गर्नुका साथै पुराना म्याद गुज्रेका सवारी साधनको प्रयोयमा कमी गर्दा पनि वायु प्रदुषणको मात्रामा केही घट्नेछ ।

भविष्यमा के सिक्ने?

भविष्यमा ट्राफिक व्यवस्थापन तथा यातायातमा सुधार, सडकको स्तरोन्नति, कलकारखानाबाट फोहोर उत्सर्जनको कटौती, फोहोरमैलाको व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउनु पर्नेछ ।
आगामी दिनहरुमा यस्तै अवस्था नआउन भन्न सकिँदैन । यसका लागि पूर्ण तयारी हुन जरुरत देखिन्छ । गर्मी याममा सबैभन्दा बढी वनजंगलमा डढेलो लाग्छ । यसलाई नियन्त्रण गर्न नियन्त्रित डढेलो लगाउन सकिन्छ । हरेक सामुदायिक वन तथा सरोकारवालाहरुमा डढेलो बारे जनचेतनामुलक कार्यक्रम र विभिन्न नियन्त्रणका रणनीतिहरु तर्जुमा गरिनुपर्छ । जंगलमा पर्याप्त मात्रामा मानव निर्मित पोखरीहरु बनाइनुपर्छ, ताकी यसले चिस्यान कायम गरोस् । अनिडढेलो लागि हाले नियन्त्रणका लागि आवश्यक उपकरणहरु र दक्ष जनशक्तिको पूर्व तयारी हुन जरुरत देखिन्छ ।

व्यवस्थित सहरीकरण, उद्योग कलकारखानाहरुको स्तरोन्नति, विद्युतीय गाडीहरुको प्रयोग र साइकलमैत्री सहरहरुको परिकल्पना गरिनुपर्छ । अनि पर्याप्त मात्रामा वृक्षरोपण र वनजंगल संरक्षणलाई प्राथमिकतामा राख्नुपर्छ ।

अन्त्यमा,

दिनानुदिन बढ्दो औद्योगिकीरण, अव्यवस्थित सहरीकरण, जलवायु परिवर्तनका कारणले नेपालको मात्र नभई सिंगो विश्वको वातावरणको स्तर खस्किदै गएको छ । सम्पन्न अर्बपतिहरु चन्द्रमा र मंगल ग्रहमा मानववस्ती बसाल्न तछाडमछाड गर्दै छन् । अनि अबौं र खबौं डलर लगानी गरिरहेका छन् । बरु पृथ्वीको भविष्य सुनिश्चित गर्न सबैको ध्यान जान जरुरत देखिन्छ । समयमै सबैको घंैटोमा घाम लागोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->