पोखरा/ श्रम तथा रोजगारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले आफ्नो हातको अपमान नगर्न कांग्रेसका कार्यकर्तासँग आग्रह गरेका छन् ।
पोखरामा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेका आफ्ना पार्टीका नेता धनराज आचार्यको चुनावी प्रचारको क्रममा उनले आफ्नो हातले कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत नदिएको भए अहिलेको सरकार नै नबन्ने अवस्था रहेको जिकिरसमेत गरे । ‘वैशाख ३० गतेको निर्वाचनमा कलम चिन्हमा मतदान गर्न नहिच्किचाउनु होला’,पोखरा–२६,लेखनाथमा सोमबार आयोजित चुनावी सभामा उनले भने,‘त्यसबेला देउवाको नेतृत्वमा गठबन्धन नगरिएको भए अहिलेसम्म केपि ओलीले संविधान र संघीयता समाप्त गरिसकेका हुन्थे ।’
उनले चुनावमा गठबन्धनले पराजय भोग्नुपरे मुलुक ठ्लो दुर्घटनामा जाने ठोकुवा गरे । गठबन्धनको पराजयमा संविधान र संघीयतालगायत तमाम उपलब्धिहरु गुम्नसक्ने उनको भनाइ थियो । केपी ओलीको हैकमवाद र अहंकारले संविधान, संघीयता र गणतन्त्र धरापमा परेपछि त्यसको रक्षाका लागि गठबन्धन बनेको बताउँदै उनले प्रतिगमनलाई परास्त गर्न जीवन मरणको लडाइँमा होमिनु आवश्यक भएको बताए । फरक प्रसंगमा उनले स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गर्न सरकार लागिपरेको पनि बताए । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले केही व्यक्तिलाई मलेसिया पठाउने उद्घोष गरेको विषय विवादित भइरहेका बेला श्रममन्त्रीको यो अभिव्यक्ति आएको हो ।





