पोखरा/ एमालेले सुरुमा गण्डकी प्रदेश सचिवालय सदस्य दीपक पौडेललाई पोखराको मेयरको उम्मेदवार घोषणा ग¥यो । जिल्लाले पठाएका ११ जनामध्ये दीपकको नाम अध्यक्ष केपी ओलीले नै रोजेका थिए । तर, उनको रोजाइ धेरै टिकेन । दीपकमाथि ‘चोरी’को अभियोग लाग्यो । अभियोगसँगै दीपकको टिकट खोसियो । खोस्ने पनि उनै केपी थिए ।एकाएक प्रदेश सांसद कृष्ण थापाले मेयरको र उपमेयर हुन नखोजेकी मञ्जुदेवीलाई उपमेयरको उम्मेदवार बनाइयो । यसले एमालेभित्र भुइँचालो ल्यायो । यो निर्णयले निम्त्याएको ‘कम्पन’ सायद अझै सकिएको छैन ।
त्यही बुझेर होला, सोमबार पोखरामा आयोजित चुनावी सभामा अध्यक्ष केपी ओलीले असन्तुष्टिलाई सम्हाल्ने प्रयत्न गरे । कांग्रेस,माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति आक्रामक रुपले प्रस्तुत भएका अध्यक्ष ओली अन्त्यतिर पार्टीभित्रको समस्यामा प्रवेश गरे । उनले पार्टीले एउटा पद धेरैलाई बाँड्न नसक्ने भएकाले किञ्चित मन नदुखाउन र मिलेको रहेनछ भने पछि मिलाएर लैजाने प्रतिवद्धता व्यक्त गरे । ‘आफैले भनेकोजस्तो नहुनसक्छ । धेरै जनालाई गर्न सकिँदैन । एउटा पदमा एउटा व्यक्तिलाई निर्णय गर्नुपर्ने हुन्छ । किञ्चित मन नदुखाउनुहोस्’,उनले भने,‘ मिलेको छैन रहेछ भने पछि मिलाउँला । यो कृष्ण थापा उठेको हैन, पार्टीको उम्मेदवार हो । भोट कृष्ण थापाको फोटोमा हैन,सूर्यमा भोट हाल्ने हो ।’ गठबन्धनलाई हराउन मेयर भइसकेका अनुभवी र पोखरेली जनताका प्रिय नेता कृष्ण थापालाई मेयरको उम्मेदवार बनाएको पनि जिकिर गरे । उनले कृष्ण थापालाई पोखरा जेलमै बस्दा चिनेको पनि बताइदिए । उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङलाई पनि पोखरेलीको आँखाको नानीको संज्ञा दिए । अध्यक्ष ओलीको निर्देशनले एमालेभित्रको असन्तुष्टिलाई संवोधन गर्छ कि गर्दैन्,आउँदा दिनमा देखिएला । तर, ओलीले पोखराको मेयर पदलाई आफ्नो प्रतिष्ठाको विषयसँग जोडेको भने अभिव्यक्तिबाट प्रष्ट भयो ।
संवोधनको सुरुमै उनले पोखरासँगको भावनात्मक सम्बन्धको चर्चा गरे । केपी ओली २०३१ साल माघ ३ गतेबाट २०४२ साल माघसम्म पोखराको जेलमा बसेका थिए । २०४४ साल असार १३ गते रिहा भएपछि पनि उनले पोखरा बिर्सेनन् । उनले भने, ‘मैले ३ वर्षको हुँदा आमा गुमाएको थिएँ तर पोखरा आएपछि मैले आमा पाएँ । पोखराले मलाई अत्यन्तै माया गरेको छ । त्यसको गुन कसरी तिर्ने ? एक प्रकारको ऋणको भाव मसँग छ ।’
यसो भनिरहँदा चतुर ओलीले आफैबाट छुट्टिएको नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य गठबन्धनबाट मेयरको उम्मेदवार बनेको बिर्सने कुरै भएन । पक्कै पनि, यो महानगरको चुनावसँग माधव नेपालको राजनीतिक भविष्य जोडिएको छ । ओली एकीकृत समाजवादीको अस्तिव स्वीकार्दैनन् । उनले त्यसको छनक पनि दिए र भने,‘कांग्रेसले पोखरा जिम्मा लगाउने कसलाई भने, एमालेबाट झरेको एउटा रौंलाई । एमालेबाट चोइटिएको एउटा चोइटोलाई ।
महानगरपालिकाको गौरव हो र ?’
माधव नेपालको मेख मार्ने र यसअघिको विरासत जोगाउने चुनौती सामना गर्न सजिलो छैन भन्ने बुझेका ओलीले त्यसपछि भने माओवादी,कांग्रेस र एकीकृत समाजवादीलाई पालैपालो आक्रमण गरे ।
धाँधली हुनसक्ने जिकिर
ओलीले स्थानीय चुनाव एमालेले जित्ने दावीमात्रै गरेनन् । मतदानपछि पनि धाँधली हुनसक्ने सम्भावना व्यक्त गरे । उनले अघिल्लो चुनावमा भरतपुरमा मतपत्र च्यातिएको प्रसंग निकाल्दै भने,‘पशुपतिको मन्दिरमा पुग्नुअगाडि फूलपातीको टोकरी बाँदरले खोसेर लान्छ । त्यहाँ त एउटा बाँदर आउँछ, यहाँ एकैचोटी ५ वटा बाँदर आउँछ । त्यसकारण हामी सतर्क हुन जरुरी छ । गठबन्धनल भोटले जित्ने होइन । हारेपछि मतपत्र च्यात्ने, चपाउने, निल्ने गर्छन् । के के गर्न सकिन्छ, त्यही गर्छ, त्यसैले हामी मतदानदेखि मतगणना नसकिँदासम्म ननिदाउने मात्रै होइन, आँखा झिमिक्क पनि गर्नु हुँदैन ।’
प्रचण्ड र माधवमाथि कटाक्ष
आइतबार पोखरामा आयोजित सभामा माधव नेपालले घमण्ड गरे कांग्रेस पनि ओलीजस्तै सकिने टिप्पणी गरेका थिए । अध्यक्ष ओलीले माधव नेपाललाई तात्तातै जवाफ दिन पनि भ्याए ।
उनले भने,‘एमालेको १५ वर्ष प्रमुख भएर रस चुसेर । एमालेको काँधमा चढेर प्रधानमन्त्री भएका एकजना भन्दै थिए, एमाले सिध्याउनै पर्छ । कांग्रेसलाई धम्क्याउँदै भन्दै थिए, घमण्ड नगरोस् नत्र केपी ओली जस्तै समाप्त होला । कांग्रेस केपी ओली जस्तो हुन्छ रे ! केपी ओली समाप्त भयो रे । उनी हलक्क बढे रे । त्यो रेकर्ड बैशाख ३० पछि पनि रहन्छ भन्ने कुरा तिनलाई हेक्का रहेनछ । भन्दिन चाहन्छु, परिणाम आएपछि देशमा को सकिएछ र खत्तम भएछ, परिणामले देखाउँछ ।’
प्रचण्ड परिवारवादमा लिप्त भएको आरोप लगाउँदै उनले माओवादी कार्यकर्तार्ला विद्रोह गर्न उक्साए । उनले भने,‘अझै प्रचण्डलाई चिन्नु भएन प्रचण्डपथ कहाँ गयो । लडाइँ भनेको छोरी भाइ भतिजा रहेनछन् र, के रहेछ राजनीति सुन्नुभएन, भरतपुरको भाषण सुन्नु भएन, अझै प्रचण्ड चिन्न बाँकी रह्यो ?’ भरतपुरमा ५ वर्षअघि पनि कांग्रेसका कार्यकर्ताहरुले रुख चिन्हमा भोट हाल्न पाएनन् । यसपटक पनि पाएनन् । यसपटक पनि धक्याइराछ । धक्याएर, दिएनौ भोट भने, दुर्घटना गराइदिन्छु देशलाई धक्की दिइरहेको छ । खुरुक्क छोरीलाई भोट हालेर जितायौ भने म खुसी हुन्छु, उत्साहित हुन्छु,खुसी हुन्छु । १५÷२० वर्षसम्म गठबन्धन कायम राख्छु । सधैँ मेरै भाइ, मेरै भाइ, मेरै भतिजो,मेरै ज्वाइँलाई तिमेरुले बोकीराख्नुपर्छ । कस्तो गजब छ !’
कांग्रेसीको सहानुभूति बटुल्ने
ओलीलाई थाहा छ,कांग्रेसमा गठबन्धन विरोधी जनमत बलियो छ । त्यसलाई ‘क्यास’ गर्नसके एमाले उम्मेदवारलाई फाइदा हुन्छ नै ! भरतपुरमा त कांग्रेसबाट ‘बागी’ नै उम्मेदवार छन् । भला, उनी कारवाहीमा परेका किन नहुन् । पोखरामा भने ओलीले भाषण गर्दैगर्दा ‘बागी’ बनेका कृष्ण कार्कीले आफ्नो उम्मेदवारी निस्कृय बनाउँदै गठबन्धनका नेतालाई सघाउने घोषणा गरिसकेका छन् । तर, ओलीले मौका किन छाड्थे ? उनले मुख्यबाहेक कांग्रेसका अन्य नेताहरुप्रति सहानुभूति भएको बताउँदै भने,‘यहाँ त कांग्रेसको घोषणापत्र आएको छैन होला किनभने यहाँ त कांग्रेसको मेयर सेयरको उम्मेदवार छैन,के को घोषणापत्र ? कसरी मन थाम्न सकेको होला,कांग्रेसका कार्यकर्ताहरुले ? १५–२० वर्ष कायम राख्ने गठबन्धन । चितवन उनको नाममा राजीनामा गर्दिने,कांग्रेसका साथीहरुले रुखमा भोट हाल्न कहिल्यै नपाउने । अब त हुँदै गएर चितवनमा कांग्रेसले कहाँ भोट हाल्ने नै थाहा छैन । कसैले गिलासमा, कसैले पेन्सिलमा, कसैले अण्डामा, अण्डाभित्रको हँसिया हथौडामा,कसैले साइकलमा, कसैले बाल्टीमा, मगमा यस्तैमा भोट हाल्ने । कसरी मन थामेको होला ।’ कांग्रेसका नेताहरुले कांग्रेसलाई नीतिहीन सिद्धान्तहीन,गन्तव्यहीन बनाएको पनि उनको टिप्पणी गरे । उनले कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले कांंग्रेस छाडेको प्रसंग झिक्दै भने,‘ उहाँहरुले नाच्दै गाउँदै छाडेको हो र ? बीपी कोइराला अहिले हुनुहुन्थ्यो भने, उहिलेको कांग्रेस रहेन, अहिलेको कांग्रेसमा बसेर काम छैन भनेर छाड्नुहुन्थ्यो ।’ यसो भनिरहँदा उनले कांग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवा पत्नी आरजु राणालाई कटाक्ष गर्न पनि बिर्सेनन् । केही दिनअघि कांग्रेस नेतृ राणाले एउटा चुनावी कार्यक्रममा बोल्दै त्यो ठाउँमा ५÷६ जना व्यत्तिलाई फ्रि भिसा र टिकटमा मलेसिया पठाइदिने घोषणा गरेकी थिइन्. । ‘मलेसिया सम्झँदा कांग्रेका एक नेताको भाषण पनि सम्झेँ,मैले । धेरैलाई त सक्दिन, ५÷६ जनालाई फ्रि भिसा र टिकटमा मलेसियामा पठाइदिन्छु रे’,उनले भने,‘ म्यानपावर कम्पनी खोलेको होला भित्रभित्रै । अन्त्यमा ओलीले आउँदो निर्वाचनमा पनि एमालेले बहुमत ल्याउने जिकिर गर्दै पालिकामा हार्दा नीति तथा कार्यक्रम लागू नहुने भएकाले पालिकामा पनि जित्ने गरी अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।





