आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

आज मतदान

आज मतदान

पोखरा महानगरका २,०७,७१२ र बागलुङका १,९५,००० जनाले मतदानमा भाग लिँदैछन् ।


  • ढोरपाटन संबाददाता
  • बैशाख ३० २०७९, शुक्रबार

बागलुङ/ शुक्रबार हुने स्थानीय तह निर्वाचनमा बागलुङ र कास्कीका गरी ४ लाख ७६ हजार ८३३ जनाले मतदान गर्दैछन् । जसमध्ये पोखरा महानगरबाट २ लाख ७ हजार ७१२ र बागलुङका विभिन्न पालिकाबाट १ लाख ९५ हजार मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

स्थानीय सरकारको प्रमुख उपप्रमुख सहित घरदैलोमा रहने जनप्रतिनिधि छान्न अहिले सहरमा बसेका युवा देखि बिदेशबाट पनि सयौं मानिस गाउँ फर्केका छन् । पोखराको हकमा भने विभिन्न कारणवश सहर आएकाहरु गाउँ फर्किएका छन् । जसका कारण पोखराको जनघनत्वमा केही कमी आएको छ ।

मतदाताले प्रयोग गर्ने मताधिकारले आगामी ५ बर्षका लागि नयाँ प्रतिनिधिहरु चयन हुने छन् । स्थायी सरकारको रुपमा रहने भएकोले स्थानीय निर्वाचन बढी महत्वको छ । बागलुङको निर्वाचनमा केही रोचक र विशेष क्षेत्रका पहिचान बोकेका विषय समेत छन् । सदरमुकामस्थित बागलुङ नगरपालिकामा केही तरल मतलाई प्रभावित पारेर आफ्नो पक्षमा ल्याउँदा दलहरुले परिणाम हात पार्न सक्छन् । तर, ग्रामीण क्षेत्रमा त्यो भन्दा फरक परिस्थिति छ ।

ताराखोला गाउँपालिका जनजातीको बाहुल्यता भएको स्थान हो । यहाँ जनजातीको एजेण्डामा बढी मतपर्न सक्ने सम्भावना देखिन्छ । यहाँ ८ हजार ५ सय ६४ मतदाता छन् । ढोरपाटन नगरपालिका दलीत बाहुल्य क्षेत्र हो । यद्यपि जनजातीको पनि राम्रो उपस्थिति छ । त्यसैले ती क्षेत्रलक्षित कार्यक्रम ल्याउन सक्नेले निर्वाचन हात पार्न सक्छन् । ढोरपाटनमा १७ हजार ६ सय ३० मतदाता छन् ।

निसीखोला र तमानखोलामा जनजाती र दलीतको बाहुल्यता छ । क्षेत्रीबाहुनको उपस्थिति न्युन छ । मध्यपहाडी लोकमार्गले चिरेको निसीखोलामा बिकासका पूर्वाधार सँगै मानवीय बिकासमा भूमिका खेल्नेले निर्वाचन हात पार्न सक्छन् । निसीखोलामा १५ हजार ९ सय १९ मतदाता छन् । तमानखोला शिक्षा र स्वास्थ्यमा पछि परेको स्थान हो । बिशेष क्षेत्र समेत भएकोले पूर्वाधार र शिक्षामा नयाँ प्रविधि भित्राउने यहाँको आवस्यकता हो । तमानमा ७ हजार ७ सय ८८ जनाले मतदान गर्दैछन् ।

बडिगाड जनजाती, दलीत सहित बाहुन क्षेत्रीको पनि बसोबास भएको स्थल हो । रणसिंकिटेनी, दर्लीङ लगायतका स्थान अझै बिकासबाट पछि परेका छन् । सबै वडामा स्तरीय सडक लैजाने मुख्य चुनौती यहाँ निर्वाचित हुने जनप्रतिनिधिको काँधमा जिम्मेवारी आउनेछ । बडिगाडमा २२ हजार १ सय ५३ मतदाताले मतदान गर्नेछन् ।

गलकोटको आफ्नै पहिचान छ । पर्यटन, कृषि, शिक्षा र समृद्ध गलकोट यहाँका मुख्य नारा छन् । ती अभियानलाई अबका जनप्रतिनिधिले पुरा गर्नुपर्ने दायित्व छ । गलकोटमा २४ हजार ४ सय ६ मतदाता छन् । ती बाहेक बागलुङ नगरपालिकामा ४२ हजार मतदाताले मताधिकार प्रयोग गर्नेछन् । जैमिनी नगरमा २४ हजार ७ सय ११, बरेङमा १० हजार ६ सय १९ र काठेखोलामा २१ हजार ३ सय ३८ मतदाता छन् ।
निर्वाचनकालागि सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र आवश्यक सामाग्री समेत पुगेको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले बताए । ‘कतै केही समस्या छैन, सबैले ढुक्क भएर मतदान गर्नुहोला,’ न्यौपानेले भने, ‘जनताले आफ्नै घरछेउमा सिंहदरवार बनाउने र आफ्नै प्रतिनिधिबाट काम गर्ने अबसर सबैले प्रयोग गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->