आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकीमा स्थानीय चुनाव उत्साहपूर्ण : ४ ठाउँमा स्थगित, बदरको आशंका बढी

गण्डकीमा स्थानीय चुनाव उत्साहपूर्ण : ४ ठाउँमा स्थगित, बदरको आशंका बढी


  • ढोरपाटन संबाददाता
  • बैशाख ३१ २०७९, शनिबार

पोखरा/ स्याङ्जाको वालिङमा मतदाता चढेको जिप दुर्घटना, गोरखाको ताराखसेमा भएको गोली प्रहारसहितका छिटफुट घटनाका बाबजुद गण्डकीमा स्थानीय निर्वाचन उत्साहपूर्ण रुपले सम्पन्न भएको छ । ४ ठाउँमा भने चुनाव स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । पोखरा महानगरमा ६४ प्रतिशतमाथि मतदान भएको अनुमान गरिए पनि निर्वाचन आयोगले आधिकारिक पुष्टि गरिसकेको छैन ।

मुख्य निर्वाचन कार्यालय पोखराका अनुगमन अधिकृत निलप्रसाद पनेरुका अनुसार समाचार तयार पार्दासम्म सबै मतदान केन्द्रबाट मत पेटिका आइसकेको र खसेको मतको गणना भइरहेकोले एकीन तथ्याङ्क नआएको हो । उनका अनुसार पोखरा महानगरको मतगणना शनिबार बिहानदेखि सुरु गरिने छ । पोखराका सबै वडाहरुमा शान्तिपूर्ण रुपले नै मतदान सम्पन्न भएको र कुनै पनि केन्द्रमा मतदान स्थगित नभएको उनले बताए ।

कास्कीका अन्य पालिकाहरुमा भने मतपेटिका आएसँगै गणना सुरु गर्ने तयारी गरिएको छ । माछापुच्छे« गाउँपालिकाका निर्वाचन अधिकृत नवराज दंगालका अनुसार सर्वदलीय बैठकमा सहमति भए मतगणनाको लागि शनिबार कुरिने छैन । प्रारम्भिक तथ्याङ्क अनुसार कास्कीको माछापुच्छे« गाउँपालिकामा कुल २० हजार ३१६ मध्ये १५ हजार १८० अर्थात् प्रतिशत मत खसेको छ ।

पोखराको लागि एमालेको तर्फबाट मेयरका उम्मेदवार कृष्ण थापाले पोखरा १८ को विन्ध्यवासिनी मावि बाटुलेचौरमा मतदान गरे भने । गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले वडा नम्बर ३३ मा रहेको शान्तिउदय मावि केन्द्रमा मतदान गरे । एमालेको तर्फबाट उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरुङले पोखरा ८ मा रहेको राम आधारभूत मतदान केन्द्र र गठबन्धनको
तर्फबाट प्रत्यासी रहेकी कांग्रेसकी कोपिला रानाभाटले पोखरा २६ विजयपुरमा रहेको भवानी कल्याण माविबाट मतदान गरिन् ।

नेपाली कांग्रेसका सभापतिको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको भन्दै सबैलाई धन्यवाद दिएका छन् । शुक्रबार बेलुकी प्रेस विज्ञप्ति जारी गरेर उनले निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको भन्दै पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तह निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचनमा जनताको उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको प्रधानमन्त्रीसमेत रहेका देउवाको भनाइ छ ।

‘शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण निर्वाचन सम्पन्न गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन्, ‘ यसैगरी मतदान कार्यमा अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक लगायत उत्साहजनक सहभागिता जनाइ मतदान गर्नु हुने सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइलाई नेपाली कांग्रेसको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।’

यता,राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन २०७९ अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । आयोगले मानव अधिकारको दृष्टिकोणबाट ७ वटा उच्चस्तरीय अनुगमन टोली र आयोगका कर्मचारी सम्मिलित ४५ वटा टोलीले ७७ जिल्लामै अनुगमन गरेको जनाएको हो ।आयोगका अध्यक्ष तपबहादुर मगरले राजनीतिक दलहरुले थप संयमता अपनाउनु पर्ने देखिएको बताए ।उनले मतपेटिका तोडफोड तथा आगजनी हुनु, मतदान अधिृकत कुटिनु जस्ता घटनाले राजनीतिक दलले नै थप संयमता अपनाउन आवश्यक रहेको आयोगले निष्कर्ष निकालेको जानकारी गराए ।

उनले ज्येष्ठ नागरिक, सुत्केरी, बिरामी, किरियापुत्री, महिला, अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहे पनि हुम्ला, गोरखालगायतका हिमाली तथा उच्च पहाडी क्षेत्रमा मतदान स्थल टाढा भएको अघिल्लो दिन नै हिँडेर मत खसाल्न मतदाताहरू पुगेको पाइएको जानकारी दिए । उनले मतदाता शिक्षाको अभावका कारण मतदान गर्ने तरिकामा मतदाता अलमलिएको, कतिपय मतदान स्थलमा खानेपानीको व्यवस्था नहुँदा मतदाता बेहोस भएको, शौचालयको अभाव, ज्येष्ठ नागरिक, असहाय, अपाङ्गता भएका मतदाताहरूलाई सहज रुपमा मतदान गर्नसक्ने व्यवस्था नमिलाइएको पाइएको पनि बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->