पोखरा/ शुक्रबार देशैभरिका पालिकाहरु भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारबाट सुरु भएको छ । पोखरा महानगरको मतगणना दिउँसो करिब ४ बजेदेखि सुरु भएको थियो ।
८ बजे बस्ने भनिएको सर्वदलीय बैठक ढिलो गरी बसेर २ बजेदेखि मतगणना गर्ने सहमति भएको थियो । तर, उक्त समयावधिभित्र उम्मेदवारले आफ्ना प्रतिनिधि र उनीहरुको परिचयपत्र वितरण लगायतमा ढिला हुँदा मतगणनासमेत ढिलो भएको थियो । पोखरा २ नम्बर वडाको मत गणना गर्नेसमयमा बदर वा सदर भन्ने विषयमा केहीबेर विवाद पनि भएको थियो ।
पोखराको नगर प्रमुखमा नेकपा एमालेबाट कृष्ण थापा, गडबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य, स्वतन्त्र उम्मेदवार गनेस पौडेल लगायत २३ जना चुनावी मैदानमा छन् । त्यस्तै, उपप्रमुखमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ, गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटलगायत ११ जना चुनावी मैदानमा छन् । २ लाख ७ हजा ७१२ जना मतदाता रहेको पोखरा महानगरमा ६९ प्रतिशत मत खसेको थियो । निर्वाचन कार्यालयका अनुसार १ लाख ९६ हजार जनाले मतदानमा भाग लिएका थिए ।
कास्कीका अन्य पालिकाले भने बिहानैदेखि मतगणना सुरु गरेका थिए । यद्यपि, समाचार तयार पार्दासम्म केही पालिकाका केही वडाबाहेक अरुको अन्तिम मतगणना सकिएको छैन । प्राप्त प्रारम्भिक मतपरिणामअनुसार कास्कीको मादी गाउँपालिकाबाहेक अन्य पालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।
समाचार तयारपार्दासम्म कास्कीको माछापुच्छ«े गाउँपालिकाका वडा नम्बर १ र २ गरी २ वटा वडामा सत्तारुढ गठबन्धनको प्यानलै विजयी भएको छ । वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका इन्द्र गुरुङको प्यानल विजयी भएका हो ।
इन्द्रले ६ सय २२ मत ल्याउँदा नेकपा एमालेका अनुपले ६ सय ८४ मत पाएका हुन् । उक्त वडामा कुल १ हजार २७८ मत खसेको थियो । उक्त वडाको वडा सदस्यमा नेपाली कांग्रेसकै देवबहादुर मगर, नेकपा माओवादी केन्द्रका पूर्खबहादुर पुन र महिला वडा सदस्यमा नेपाली कांग्रेसकै जमुना पुन, श्याममाया सुनार वडा सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिएका छन् ।
त्यस्तै माछापुच्छ«े गाउँपालिकाकै वडा नम्बर २ मा पनि सत्तारुढ गठबन्धनकै प्यानल विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका गणेश आचार्य विजयी भएका छन् । उनले १ हजार ५७ मत पाउँदा निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेकी केशकुमारी गुरुङले ८ सय २३ मत ल्याएकी छन् । माछापुच्छ«ेमा नेपाली कांग्रेसबाट मीनबहादुर गुरुङ र नेकपा एमालेबाट विक्रम गुरुङ उम्मेदवार छन् । त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी सीता तिवारी र नेपाली कांग्रेसबाट सीता अधिकारी प्रत्याशी छन् ।
कास्कीकै रुपा गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसले प्यानलै जित हात पारेको छ भने वडा नम्बर २ मा नेकपा एमालेले प्यानल जितेको छ । निर्वाचन अधिकृत रुद्र सुवेदीका अनुसार शनिबार साँझ सकिएको वडा नम्बर १ को मतगणनाबाट नेपाली कांग्रेसका रामबहादुर गोदारले वडाध्यक्षमा जित निकालेका हुन् । गोदारले ७७९ मत ल्याउँदा उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका शिवप्रसाद खनालले ३६२ मत पाएका थिए ।
रुपा २ को वडाध्यक्षमा नेकपा एमालेका राजन सुवेदी नेतृत्वको प्यानल विजयी भएको छ । उनले नेपाली कांग्रेसका विष्णुप्रसाद ओझाको प्यानलाई पराजित गरेका हुन् । सुवेदीले ५ सय २१ मत पाउँदा नेपाली कांग्रेसका ओझाले ३ सय ६० मत पाएका छन् ।
उक्त पालिकाको प्रमुखमा नेकपा एमालेबाट नवराज ओझा र नेपाली कांग्रेसबाट गिमाया गुरुङ मुख्य प्रतिस्पर्धामा छन् । पालिका उपप्रमुखमा नेकपा एमालेकी लालसुब्बा गुरुङ र नेपाली कांग्रेसबाट नारायण श्रेष्ठ प्रतिस्पर्धामा छन् । प्रारम्भिक नतिजाअनुसार समाचार तयार पार्दासम्म नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।
कास्कीकै मादी गाउँपालिकामा भने नेकपा एमालेको अग्रता छ । वडागत तहदेखि पालिका प्रमुख र उपप्रमुखसम्म नेकपा एमालेको अग्रता छ । उक्त पालिकाको प्रमुखमा नेकपा एमालेबाट शिवबहादुर गुरुङ ‘महेन्द्र’ र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका देवीजंग गुरुङ प्रतिस्पर्धामा छन् । उक्त पालिकाको उपप्रमुखमा एमालेबाट कल्पना गुरुङ र गठबन्धनका तर्फबाट नेकपा माओवादीका लालबहादुर गुरुङ प्रतिस्पर्धामा छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा पनि नेपाली कांग्रेसले नै अग्रता लिएको छ । अन्नपूर्ण समाचार तयार पार्दासम्मको प्राप्त मतअनुसार कांग्रेसले थोरै मतान्तरसहित अग्रता लिइरहेको हो । उक्त पालिकाको प्रमुखमा नेपाली कांग्रेसका युवराज कुँवर र नेकपा एमालेका तर्फबाट विष्णुबहादुर केसी मुख्य प्रतिस्पर्धामा छन् । त्यस्तै, उपप्रमुखमा नेकपा एमालेका चन्द्रकला अधिकारी र नेपाली कांग्रेसबाट खिमकुमारी गुरुङ प्रतिस्पर्धामा छन् ।





