स्थानीय तहको निर्वाचन र्भखरै सकिएको छ । मत परिणाम आउने क्रम जारी छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाहेकका पाँच दलहरु एकातिर नेकपा एमाले एक्लो पार्टी एकातिर । संसारमा कहीँ पनि नभएको अवस्था नेपालको राजनीतिमा देखा परेको छ । सत्ता चलाउनका लागि गठबन्धन त गरे नै, निर्वाचनमा पनि साँठगाठ गरेर एमालेलाई एक्ल्याएका छन् । स्थानीय तहको निर्वाचनमा एमाले एकातिर, गठबन्धनका दलहरु एकातिर भएका छन् । वास्तवमा लोकतन्त्रको सुन्दर पक्ष भनेको दलिय प्रतिस्पर्धा नै हो । सत्ता र स्वार्थका लागि निर्वाचन जित्न गरिएको गठबन्धनले निर्दलीयताको झझल्को दिएको छ । गठबन्धनले निर्वाचनमा एक्लै जान सक्ने हिम्मत नभएकाले यस्तो भएको हो । अघिल्लो पटकको आम निर्वाचनमा एउटै सिद्धान्त र विचार भएका पार्टीहरुको गठबनधन थियो । त्यो गठबन्धन खास उद्देश्यका लागि थियो । निर्वाचनपछि पार्टी एकता गर्ने सहमतिमा बनेको थियो । तर, अहिले दलहरुको बीच भएको गठबन्धन न विचार न सिद्धान्त न कुनै उद्देश्य न कुनै लक्ष्य केही पनि मिल्दैन । मिल्छ त केवल स्वार्थमात्र । बाँडीचुडी खानका लागि सत्ता टिकाउने र एमालेलाई एक्ल्याउन हो । बिभिन्न स्वार्थ बोकेका राजनीतिक दलहरु र पात्र पनि उनै छन् । वर्षौँ वर्षसम्म सत्तामा बस्दा पनि कुनै विकास गर्न नसकेकाहरुले गठबन्धन गरेर झनै केही गर्न सक्ने देखिदैन । एउटै पार्टी भित्र त घात अन्तरघात भएको छ भने अन्तरदलीय गठबन्धनमा त्यो अवस्था ढिलो चाँडो नआउला भन्न सकिँदैन ।
अहिलेको आम निर्वाचनमा नेकपा एमाले एक्लै भए पनि, एमालेप्रति मतदाताको रुझानमा भने कमी छैन । एमालेविरुद्ध चौतर्फी घेराबन्दी नगरेको भए र सबै पार्टी छुट्टाछुट्टै चुनाव लडेका भए एमाले पहिलो पार्टी नै बन्न सक्थ्यो । एमालेलाई नेपालबाट ‘क्लिन स्विप’ गराउन लागिपरेको गठबन्धनले त्यसो गर्न सकेन ।सोचेजस्तो भएन । गठबन्धनको सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसले लिएको छ । नेपाली कांग्रेसलाई जिताउन प्रमुख साझेदार नेकपा माओवादी भ¥याङ बनेको छ । अहिलेको चुनावी परिणामलाई हेर्दा एमालेले धेरै मेहेनत गर्नु पर्ने देखिएको छ । आम नागरिकमा एमालेप्रतिको क्रेज कम भएर होइन । एमाले भित्रकै अन्तरबिरोधका कारण धेरै सिट गुमाउनु परेको अवस्था छ । एमालेमा ब्यवस्थापकीय कमजोरी देखिएका कारण अघिल्लो चुनावमा जितेका धेरै सिट अहिले गुमाउनु प¥यो । बरु अघिल्लो चुनावमा एमाले पराजित भएका ठाउँमो बिजय हासिल गरेको छ । पार्टीको यस्तो अवस्थाको जिम्मा निर्वाचनमा टिकट बाँड्ने नेताहरु नै लिनुपर्छ । कस्ता व्यक्तिलाई टिकट दिइएको छ ? पार्टी भित्रको योगदान कति छ ? मतदातामाझ कति लोकप्रिय पात्र हो ? सबै कुराको बिश्लेषणका आधारमा जित्ने सुनिश्चिततासहित टिकट दिनुपर्ने हुन्छ । विगतमा यो ठाउँ हामीले जितेको हो, सबै हाम्रा मतदाता हुन् ,जोसुकै उठाए पनि हामी चुनाव जित्छौं भन्ने मानसिकताले स्थानीय चुनाव जित्न गाह्रो पर्छ । अहिले एमालेको कमजोर पक्ष पनि त्यही नै हो । व्यक्तिहरुका आ–आफ्ना गुण र दोषहरु हुन्छन् । स्थानीय निर्वाचनमा मतदाताले पार्टीमात्रै नहेरेर स्थानिय व्यक्ति पनि हेर्छन् ।
नेकपा एमाले मुलुक समृद्ध बनाउने संकल्प बोकेको पार्टी भएकोले आम नागरिकले त्यही आशा र भरोसाका साथ हेर्ने गरेका छन् । निर्वाचनमा मतको ट्रेण्ड विश्लेषण गर्न जरुरी पनि छ । यद्यपि, पार्टीको लोकप्रियतामा कमी नआए पनि मतदाताले आफ्नो प्रतिनिधिमा केही फरकपन खोजेको देखिन्छ । चुनाव अगाडीसम्म मतदाताको मनोबिज्ञान नबुझेका पार्टीहरुले, जनताले कसलाई मतदान गर्दैछन भन्ने बुझ्न जरुरी भइसक्यो । यस पटकको चुनावी परिणामले त्यही देखायो । जनसंख्या, उमेर समूह, लोकप्रियता, नयाँपनलगायत सबै कुरा मतदाताले खोज्ने देखियो । चुनाव हाँक्ने कुरा अति नै संवेदनशील पनि हो । एकपटक गुमाएपछि फेरि पालो नआउन पनि सक्छ । पार्टीहरुका लागि स्थानीय सरकार महत्वपूर्ण पिलर हो । तर, यी सबै कुराहरु निर्वाचन अगावै थाहा पाउनुपर्ने हो । पार्टी भित्रको अनुशासनमा ह्रास आउँदै गएको छ । आफूले मात्रै टिकट पाउनुपर्ने, अर्कोले पाउँदा विरोध र हराउन षड्यन्त्रसमेत गर्ने शैलीको विकास भएको छ । निर्वाचनको टिकट पाउनका लागि नेताहरुको चाकडी, चाप्लुसी गर्ने गलत परम्पराले गर्दा पनि योग्य र सही व्यक्ति उम्मेद्वार हुन पाउँदैन । नेताहरु अचेल हाकाहाकी नै भन्ने गर्दछन्–पैसा खर्च गर्नेहरुलाई टिकट दिइन्छ भनेर । यो मानशिकताले चुनावमा थुप्रै विकृति विसंगति त ल्याउँछ नै, इमान्दार व्यक्ति पनि पछाडी पर्छ । नेताले रुचाए मतदाताले रुचाउँदैनन् । स्थानीय चुनावमा मतदाताले नजिकको प्रतिनिधि खोज्छ , बजारबाट गाउँको प्रतिनिधित्व गर्न सम्भव हुँदैन । बजारको जतिसुकै सक्षम व्यक्ति भएर मात्रै पुग्दैन, गाउँमै बस्ने रोज्छन् । निर्वाचनमा एउटामात्रै रणनीतिले काम गर्छ भन्ने पनि छैन ।
फरक–फरक स्थान र अवस्था हेरेर चुनावी रणनीति तय गर्न सक्नु पर्दछ । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका मतदाताहरु कहिल्यै स्थिर हुँदैनन् । सहरीकरण र बसाइसराइका कारण मतदाताहरु नयाँनयाँ थपिन्छन् । नयाँ मतदताको मत पनि कुनै बेला निर्णायक बन्न सक्छ । ठूला सहरहरुमा कस्ता मतदाता छन् । मतदानको ट्रेण्ड कस्तो छ भनेर यस पटकको काठमाडौंमा बालेन शाहप्रतिको मत र क्रेजले देखाइसकेको छ । अव राजनीतिक दलहरुमा पनि आशालाग्दा युवाहरु ल्याउनु पर्छ र उनीहरुबाट केही हुन्छ भन्ने सन्देश दिएको छ । राजनीतिमा आउन चाहने युवा जमातलाई छेक्ने हो भने पार्टीप्रति कै बितृष्णा पैदा हुन पनि सक्छ । युवाको प्रवेशले मात्रै हुँदैन, केही गर्ने इच्छाशक्ति भएका युवाहरु चाहिन्छ । महिला र युवा मतदाताको संख्या बढ्दै गएको छ । युवा र महिलालाई नेतृत्वमा आउनबाट छेक्न हँुदैन । पार्टीभित्र युवाहरुलाई छेक्दै गएकोले बाहिरका युवाले त्यो ठाउँ लिन पुगे । अहिको स्थानीय निर्वाचनमा धेरै ठाउँमा नयाँ अनुहारको खोजी पनि भएको छ । मतदाताको ट्रेण्ड बुझेर उम्मेद्वारी दिँदा पराजयको पीडा भोग्नु नपर्ने देखिन्छ ।





