बैशाख ३० गते । अर्थात नेपालमा स्थानीय निर्वाचनको दिन । यस दिन अगावै शहर हुनेहरु आ–आफ्ना मतदानको अधिकार उपयोग गर्न आ–आफ्ना गाउँ पुगिसकेका थिए । हरेक नागरिकले आफ्नो मताधिकार उपयोग गर्नु त नैसर्गिक अधिकार पनि हो तर सबैले कहाँ चाहेर पनि यो अधिकार उपयोग गर्न पाउँछन् र ?
तिलिचो बेस क्याम्प पुग्ने आङै सिरिंग हुने साँघुरो बाटो । ठाउँठाउँमा ‘पहिरोग्रस्त क्षेत्र’ भनेर सूचना बोर्डहरु । एकैपटक दुई जना पदयात्रीहरु हिँड्न पनि नमिल्ने खालको नाम मात्रको बाटो । त्यहीँ साँघुरो बाटोमा बत्तिएर आएका देखिन्छन् दुई घोडाहरु । अनि उनीहरुलाई हाँक्नेहरु हुन्छन् भर्खरका दुई युवाहरु । ट्रेकिङ पोलको सहायताले ज्यान अड्याउन नमिल्नेत्यस ठाउँमा उनीहरु त कुनै घोडा दौड प्रतियोगिताका सहभागीहरु जसरी रफ्तारमा कुदिरहेका थिए । रोकेर सोधिहालेँ, ‘दाजुहरुको कहाँसम्मको यात्रा ?’ एक जनाले एकै सासमा जवाफ दिए, तिलिचोमा लेकलागेर उतै अचेत अवस्थामा छन् अरे ! उनैलाई उद्धार गर्नका लागि तिलिचो हिँडेको हामी ।’ यति भनेर उनीहरु छिनभरमै बिलाइगए । अनि हामी घोडाले उडाएको धुलोलाई पछ्याउँदै पुग्यौं तिलिचो बेस क्याम्प ।
तिलिचो बेस क्याम्पमा उनीहरुसँग भेट हुने झिनो आशा मनमा बाँकी नै थियो । अनि धीतमरुन्जेल सुन्न मन थियो, उनीहरुको दैनिकी, मानव उद्धारको कार्य । उनीहरु साहुका घोडामात्र कुदाउँदैनन्, आफ्ना गुजारा मात्र चलाउँदैनन्, अनि सँगै नयाँ जीवन दिन्छन् कैयौं पर्यटकहरुलाई । शारीरिक रुपमा अस्वस्थ रहेकाहरुलाई तिलिचो तालसम्म पु¥याउने अवसर कहाँ सबैलाई मिल्छ र ?
नभन्दै बेस क्याम्प मै भेटिए ती दुई साहसीहरु । उनीहरु थिए– गोरखाका मौसम र बिमल गुरुङ । काठमाडौंबाट आएकी एक पदयात्रीलाई तिलिचो तालबाट भर्खर उद्धार गरेर बेस क्याम्प आइपुगेका थिए, उनीहरु । कारण थियो लेक लाग्नु । हतारमा धेरै उचाइ उक्लनु लेक लाग्नुको मुख्य कारण मानिन्छ । उनी उनका साथीहरुसँग काठमाडौंबाट बाइकमै पहिलो रात मनाङको खाङसार आइपुगेका थिए । दोस्रो दिन तिलिचो बेस क्याम्प अनि तेस्रो दिन पुगेकी थिइन्, तिलिचो ताल । जुन ४९२० मिटरको उचाइमा छ । स्वास्थ्यमा केही सुधार भएपछि भने उनी बेस क्याम्प मै आराम गरिरहेकी थिइन् । अर्कोदिन श्रीखर्क हुँदै मनाङ फर्कनेछन् ।
देशै भरि चुनावको रन्को लागिरहँदा मौसमलाई कुनै रौनक थिएन निर्वाचनको । फुर्सद पनि कहाँ छ र उनलाई ? उनी यहीँ तिलिचोको हावापानीमा जन्मेका पनि हैनन्, बाध्यताले उनलाई भाग्यले यहाँसम्म डोहो¥याएको न थियो । अनि उनी विगतमा फर्कन्छन्, ‘मनास्लु पदमार्गअन्तर्गत खोर्लाबेसी नजिकै जन्मेको थिए म । पढाईमा सानैदेखि त्यति रस बसेन । फाट्टफुट्ट आफ्नै भेगमा विदेशी पर्यटकहरुको चलायमान भएपछि मलाई पनि उनीहरुसँगै हिँड्ने रहर पलाएर आयो । अनि बहत्तर सालको भूकम्पपछि भरिया भएर पर्यटककै पछाडि हिँड्न थालँे । मनास्लु हुँदै समयसँगै अन्नपूर्ण सेरोफेरो भारी भोक्ने सिलसिलामै चहारँे । ७५ सालदेखि भने खाङसारतिरका एक जना साहुको घोडा चलाउने काम पाए । अनि त्यसैमा रमाइरहेको छु हालसम्म ।’
मौसमलाई पछ्याउँदै उनका गाउँले साथी विमल पनि गोरखाबाट मनाङ आइपुगे । साहुका थुप्रै घोडाहरुमध्ये दुई वटा उनीहरु कुदाउँछन् । उनीहरुको रुट नै छ, तिलिचो – बेस क्याम्प – खाङसार ।यहीँ भीर पाखा अनि खोल्साहरुमा घोडा कुदाएको पनि वर्षले ४ लाग्यो । कोरोना महामारीताका केही समय घरमै फर्केका थिए दुवै । पर्यटकको चलायमन बढेपछि पोहोर दसैंबाट उनीहरु फेरि यहीँ फर्केका थिए ।
चाडपर्व होस् वा कुनै उत्सवमा । दिन रात वा साँझ बिहान । घाम पानी, हिउँ वा चिसो । केहीले छेक्दैन उनीहरुलाई । उनीहरु यहीँ रमाइरहेका हुन्छन् । पुस माघको कठयाङग्रिदो जाडोमा होस् वा चैत बैशाखको गर्मीमा उनीहरु त्यही पत्ट्यारलाग्दो भीर छिचोल्दै घोडामा ओहोरदोहार गरिरहेका हुन्छन् । पर्यटकहरुको चहलपहल हुँदा त झन् एकैदिनमा दुई सिफ्ट समेत गर्न भ्याएका हुन्छन् । भोक, प्यास वा थकान, कहाँ रोकिने फुर्सद हुन्छ र उनीहरुमा ? फोन आयो कि पस्किएको खाना वा ननिख्रिएको निद्रालाई माया मार्नुपर्ने हुन्छ । किनकि कसैको ज्यान जोगाउनु धर्म ठान्छन् उनीहरु । कम्मर कम्मरसम्म हिउँले ढाकिँदाको समय झन् कति कष्टकर बन्दो हो, घोडा अनि उनीहरुलाई !
‘साहुले दिने मासिक तलब आफ्नो ठाउँमा छ तर कसैको ज्यान जोगाउन पाउँदाको सुखानुभूति पनि छुट्टै हुन्छ,’ विमल थप्छन्, ‘मै हुने भन्ने धनाढ्य मान्छेलाई पनि मौसमले साथ नदिदाँ हेलिकप्टर चार्टर गरेर राजधानी पु¥याउन सम्भव नहुन सक्छन् । हप्तौं दिनसम्म मौसम नखुल्दा विरामीको ज्यानै जान सक्छ । त्यसैले आखिर उद्धार गर्ने जिम्मा हाम्रैमा आउँछ । कहाँ कागजको नोटले त्यसबेलाको सन्तुष्टिको मूल्य तिर्न सक्छ र ?’ उनीहरुले उद्धार गरेर नयाँ जीवन पाएकाहरुले सम्झीसम्झी फोन गर्दा उनीहरुमा खुसीको सिमानै हुँदैन । अनि हिउँमा हात खुट्टा पटपट फुट्दा होस् वा वर्खाको झरीमा रुझ्दाको पलहरु झिनभरमै बिलाइजान्छन् । त्यसैले त उनीहरुको उपमानै दिएका छन्, ‘तिलिचोमा जीवन बचाउने भगवानहरु’ ।
साहुले नै हरेक ठाउँठाउँको मूल्य तोकिदिएको हुन्छ । कोही खाङसारदेखि नै तिलिचोसम्मै घोडामै जानेहरु हुन्छन् त कोही बेस क्याम्पदेखि तिलिचोसम्म । पहिलै घोडा बुक गर्नेहरुको मूल्य छुट्टै हुन्छ अनि उद्धार गर्दाको मूल्य छुट्टै । बेस क्याम्पदेखि तालसम्म पुग्ने नेपालीको शुल्क हो दश हजार । अनि ओहोरदोहोर गर्नेको मुल्य बीससम्म पुग्छ । अझ विदेशीको लागि त तीस हजारसम्म पुग्छ । कोहीले तालको बाटाबाटै उद्धारका लागि फोन गरे, बेस क्याम्प वा खाङसारसम्मै पु¥याइदिन्छन् उनीहरु । पैसामा मोलमाल गर्नेहरु पनि त होलान् नि भनेर प्रश्न गर्दा उनी जवाफ दिन्छन्, ‘हेलिकप्टर चार्टर गरेर लग्दा लाखौंको खर्च हुन्छ । अझ त्यो पनि सधैं कहाँ सम्भव हुन्छ र यहाँ ? हिमालजस्तो भेगमा समय अनुसारको मूल्य नै हो लाग्छ । फेरि चर्को मूल्य भयो भन्दैमा अर्को विकल्प पनि त छैन यहाँ ? घोडालाई दानापानी, स्याहार सुसार अनि हाम्रो तलब छुट्टयाउँदा साहुलाई पनि मासिक केही हजारका नोटमात्र न हो पुग्ने ।’
दसैं तिहारमा घरसम्म पुगेनन् उनीहरु । पुगुन् पनि कसरी ? दसैं तिहारमा झन् तिलिचो ताल आउनेहरुको घुइँचो नै लाग्छ । अनि उनीहरुलाई भ्याइनभ्याइ । कामको आफ्नै दसैं लाग्छ उनीहरुलाई आफ्नै ।अब असार लागेपछि मात्र उनीहरु केही महिना दिनका लागि घरमा जाने योजना बुन्दै छन् । घर परिवार, गाउँठाउँको न्यास्रो पनि लाग्दो हो, समयसमयमा । अनि चुनावको रन्को लागेन त तपाईहरुलाई भन्दा उनीहरु भन्छन्, हामी दुःख गरेर खानेहरुलाई खास अर्थ राखेन चुनावले । खै ५ वर्ष अघि भोट हालेर चुनेकाहरुले पनि मनास्लु क्षेत्रमा खासै परिवर्तन ल्याउन सकेनन् । अनि त हाम्रा पनि मन म¥यो । जसले जितेपनि खासै अर्थ रहेन् हामीलाई ।
जति ट्रिप उनीहरु ओहोरदोहोर गर्छन्, त्यति नै बढी पैसा मिल्छ उनीहरलाई । त्यसैले धेरै पर्यटकहरु ओइरिदिदाँ उनीहरुको मुहारमा पनि खुसी ओइरिन्छ । सबै लेक लागेर मात्र घोडा खोज्दैनन्, कोही हिँड्न शारीरिक रुपमा असक्षम हुनेहरुलाई पनि उनीहरु घोडामा तालसम्म पु¥याउँछन् । उनीहरु यसलाई रोजगार मात्र ठान्दैनन्, कर्तव्य र धर्म पनि सँगै ठान्छन् ।
विदेशीलाई भन्दा बढी उद्धार उनीहरु नेपालीलाई गर्छन् । यसपछिको कारण पनि गुरुङ सुनाउँछन्, ‘विदेशीहरु आफ्नै स्याडुयल अनुरुप विस्तारै विस्तारै हिमालको काखमा आइपुग्छन् । हामी नेपालीमा भने त्यस्तो हुँदैन । पहिलो रातमै खाङसार बाइकमा आइपुगेर दोस्रो दिन तिलिचो बेस क्याम्प अनि तेस्रो दिन तिलिचो ताल । हतारमा वा छोटो समयमा बढी उचाईमा पुग्दा शरीरमा अक्सिजनको मात्रामा कमी आउँछ । अनि देखिन्छन् विभिन्न समस्याहरु, सास फेर्न गाह्रो हुने, बोली रोकिने र बेहोससमेत हुने । समयमै कम उचाईमा त्यस मानिसलाई ल्याउन ढिलाई भएमा त्यस मानिसको ज्यानै जान पनि सक्छ । हतारमा हिमाल काख पुग्दा धेरै नेपाली पर्यटकहरु यसको शिकार बन्न पुग्छन् । त्यसैले हामी नेपालीहरुले घुम्ने शैलीमा थोरै परिवर्तन ल्याउन जरुरत छ ।’
श्री खर्कदेखि तिलिचोे बेस क्याम्पसम्मको आङै सिरिङ्ग हुने साँघुरो बाटो । मुस्किलले दुई खुट्टा अडाउन मिल्छ । नियमित खसिरहने सुक्खा पहिरोले झन् बिहानको बाटो दिउँसोसम्म नामोनिशान नरहन सक्छ । बेस क्याम्पदेखि तालसम्मको बाटोको झन् के कुरा ? उस्तै चुनौती र सास्ती बोकेर पर्यटकहरु तालसम्म पुग्दा सबै दुःख पीडाहरु बिर्सन्छन् तर लेक लागिहाल्यो भने एक जनाको मात्र हैन, सम्पूर्ण सबैको यात्रा नै रसविहीन बन्न सक्छ । त्यसैले विमल भन्छन्, ‘घुमघाम भन्ने कुरा अलि बढी समय, पैसा र फुर्सद मिलाएरै गरेको राम्रो । प्रकृतिको सुन्दर ठाउँको सुन्दरतामा हराउन पाएको छैन, फर्कनको पीर छ भने त्यसमा पूर्ण आनन्द प्राप्त गर्न त सकिँदैन सकिँदैन, उस्तै परे ज्यानै जान पनि सक्छ । त्यसैले हामी नेपालीहरुले हिमाली भेगहरुमा पदयात्रा गर्दा धेरै सजग हुनु जरुरत देखिन्छ ।’
उनीहरु कतिपल्ट ताल ओहोरदोहोर गरे, कुनै गणना छैन । तर जतिपल्ट ताल पुग्दा पनि फरक अनुभूति गर्छन् उनीहरु । फरकफरक मानिसहरुलाई गन्तव्यसम्म पु¥याउन पाउनु सौभाग्य कहाँ सबैलाई मिल्छ र ? गोरखामा जन्मे हुर्केकाहरु मनाङकै सुक्का भूमिमै रमाइरहेका छन् । जीवन बाँचिरहेका छन् । कैयौं पर्यटकहरुलाई नयाँ जीवन दिइसकेका उनीहरु भने उहीँ पुरानै जीवनशैलीमा बाँचिरहेका छन् । उनीहरुले पनि मनको कुनामा सानो सपना बुनेका छन्, आफ्नै घोडाहरु किन्ने अनि आफ्नै घोडा व्यवसाय सुरु गर्ने । कोरोनाले ती सपनाहरु पूरा हुन दिएनन् तर अझै आश भने मारेका छैनन्, जरुर एक दिन शानसँगै आफ्नै घोडामा पर्यटकलाई तिलिचो घुमाउने । स्वर्ग देखाउने । अनि जिउने आफ्नै पौरखको कमाइमा !





