मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

स्थानीय निर्वाचनमा युवाहरुको आकर्षण र राजनैतिक आरोहण

स्थानीय निर्वाचनमा युवाहरुको आकर्षण र राजनैतिक आरोहण


  • दिल प्रसाद पौडेल
  • जेष्ठ १० २०७९, मंगलबार

भनिन्छ– युवामा ऊर्जा र वृद्धमा अनुभव हुन्छ । त्यो ऊर्जा र अनुभव दुवैलाई जोड्न सकियो भने नै देशको विकास हुन्छ । त्यसैले नेपालमा रहेको अहिलेको महारोग भनेको लिडिङ् पार्टीहरू नेकपा एमाले नेपाली काँग्रेस, माओवादी केन्द्र, राप्रपा, जसपा र साझा तथा विवेशशील पार्टीहरूमा समयले पुनः युवाहरूलाई बोलाइरहेको छ । युगका आवश्यकता र विकासका जटिलताहरूलाई सही तवरले सम्बोधन गर्नका लागि पनि अब हरेक क्षेत्रमा युवाहरूलाई स्थापित गर्नुको विकल्प छैन । बरू वृद्ध/जेष्ठ नागरिकहरूलाई सल्लाहकार भूमिका राखेर उनीहरूका असीम अनुभूतिहरूलाई देश हितमा लगाउन सकियो भने देशले अलिकती भएपनि कोल्टे फेर्न सक्ला । नत्र हाम्रो जस्तो देश जहिँतहीँ रहिरहन्छ भन्नेमा दुईमत छैन ।

अहिलेको स्थानीय निर्वाचनलाई हेर्ने हो भनेपनि प्रायः युवाहरुकै समूह उल्लेख्य रुपमा बिजयी भएको पाईएको छ । किनकी अब आशाका केन्द्रबिन्दु भनेकै युवाहरु हुन् । २० वर्षदेखी ४० वर्षका उमेर समुहका युवाहरुमा नयाँ जोस् र जांगर थपिएको छ कारण सधै वृद्धहरुले मात्र देश चलाउनुपर्छ भन्ने चलनको अन्त्य गर्नको लागि पनि हो । विकास र समृद्विको नाममा भ्रष्टाचार अनि महंगाईको चपेटामा थिचिएका नेपालीहरु प्रवासमा गुलामी गर्दागर्दै पनि स्वदेश फर्केर सक्रिय राजनीतिमा लागेका उदाहरण पनि भेटिए यसपालीको निर्वाचनमा हाम्रो देशको पनि वास्तविकता यहि हो । यो कुरालाई सार्वजनिक क्षेत्रका सबैजसो युवाहरूले मनन गर्दै अब आफू क्रियाशील पार्टी र संस्थाहरूमा सकारात्मक हस्तक्षेपको रणनीति अपनाई वृद्ध वा जेष्ठलाई आराम गर्न दिनुको विकल्प छैन भन्ने गतिलो झापड पनि हो ।

युवा नेतृत्वको कुरा गर्दै गर्दा हाम्रो समाज अनि सामाजिक संस्थाहरूले युवा राजनीतिलाई कसरी लिन्छन् भन्ने अर्को महत्वपूर्ण विषय हो । हामीकहाँ राजनीतिमा लाग्ने युवा नेतृत्वलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन । सक्षम युवा नेतृत्वको खोजी गर्दै गर्दा, आफ्ना छोरा वा भाइ– भतिज, छोरीबुहारी भने सकेसम्म राजनीतिबाट टाढै बसोस् भन्ने लाग्छ । हाइस्कुल सम्मको पढाइमा राजनीतिलाई नकारात्मक रूपमा चित्रण गरिन्छ । विश्वविद्यालयमा राजनीति भनेकै आन्दोलन हो भन्ने सिकाइएको हुन्छ अनि परिकल्पना भने सक्षम युवा राजनीतिक नेतृत्वकै गरिने गरेको छ । देशमा युवा नेतृत्वको आवश्यकता बोध न राज्यले गरेको छ, न समय–समयमा युवाहरूलाई प्रयोग गरेर माथि उठेका राजनीतिक दल अनि नागरिक समाजले नै । न हाम्रा विश्वविद्यालय र हाम्रो सामाजिक संरचनाले नै । हामीले अहिले भोगेको युवा नेतृत्वको संकटको मूल जरो यहीं नै हो । नेपालले छोटो समयमा थुप्रै राजनीतिक व्यवस्था परिवर्तन गरे पनि राजनीतिमा असल लोकतान्त्रिक संस्कारको जग बस्न नसक्नु हाम्रो तीतो यथार्थ हो । सक्षम र परिपक्व युवा नेतृत्वको परिकल्पना गर्दै गर्दा हामीले युवाहरूलाई जिम्मेवारी दिँदै परीक्षण गर्नु जरुरी छ । अहिले युवाहरूले राजनीतिमा आफ्नो स्थान आफैँ खोज्दै छन् । समय समयमा हुने रचनात्मक आन्दोलनहरूमार्फत युवाहरू आफैँले मूलधारको राजनीतिसँग संवाद र सहकार्यको आह्वान गर्दै छन् । अहिले पनि हामीले युवा नेतृत्व निर्माणमा लगानी गरिएन, युवाहरूलाई आफ्नो क्षमता परीक्षण गर्ने अवसर प्रदान गरिएन भने हामी युवा मात्रै होइन, सक्षम नागरिकहरुले पनि दुख पाउने निश्चित छ ।

अहिलेको स्थानिय निर्वाचनकै कुरा गर्दा युवा आकर्षण बडी नै देखियो र बिजयी पनि भएका छन् तर जितको मात्र बिजयत्सब मनाएर भएन जनताका मर्म, भावनालाई पनि अंगिकार गर्न सक्नुपर्छ अन्यथा आगामी निर्वाचनमा जनताले पुर्नविचार पक्कै गर्छन । नेतृत्व भनेको अनुशरण गर्ने, सिक्ने, नक्कल गर्ने विषय पनि हो । विश्वका सफल नेता र नेतृत्वका बारेमा उनीहरुले सिक्नु पर्दछ । बुढा पुस्ताका नेताहरुमा त यो सम्भावना देखिँदैन । अहिलेका दोस्रो पुस्ताका युवा नेताहरुले यो सिक्नु पर्दछ । वास्तविक सिकाईभन्दा नक्कल गर्ने प्रवृत्तिले असल नेता बन्न सकिदैन । अहिले राजनीतिमा लागेका नेताहरुको सबैभन्दा ठूलो समस्या के हो भने उनीहरू लगानीकर्तामा परिणत भए । नेताहरू नै होटल, ट्राभल एजेन्सी, अस्पताल, विद्यालय, उद्योग, हाइड्रोपावर, बैंक र ठूला सहकारीहरु चलाइरहेका छन् । आफ्नो पेशालाई बढी लाभ दिनेगरी नीति र नियम बनाउन तल्लिन छन् । त्यति मात्र होइन, विभिन्न पेशाका ठेकेदार, ब्यापारी वा विभिन्न लाभका क्षेत्रमा ब्यवसायिक बनेकाहरुलाई नेता बनाउने होड सबै राजनीतिक दलमा प्रवेश गरेको छ । यसले राजनीतिलाई भविष्यमा दुषित बनाउने निश्चित छ । नेता धनी हुनु, ठूलो घर बनाउनु समस्या होइन । तर, उसको आयआर्जनको स्रोत पारदर्शी हुनुपर्छ । नेपालका नेताहरुमा पारदर्शिता भन्ने कुरा देखिएन । यसैले नेता भन्नासाथ भ्रष्ट ब्यक्तिका रुपमा चित्रित हुन थालेका छन् । अबका दिनमा नेताहरुले आर्थिक पारदर्शितालाई विषेश ध्यान दिन जरुरी छ । कर तिर्ने जनता अनि तिनै जनताको पैसामा विजउत्सब मनाउन चाहिँ भएन ।

अचम्म त के छ भने, नेपालमा मात्रै राजनीतिमा आकर्षण देखिन्छ । नेताको पदवी पाउन मानिसहरु मरिहत्ते गरेर लागेको देखिन्छ । तर, संसारभरि राजनीतिप्रति विकर्षण छ । किनभने, राजनीति गर्नु भनेको निक्कै ठूलो त्याग गर्नु हो । राजनीति रोज्नु भनेको व्यक्तिगत हितको सट्टा सार्वजनिक लाभका लागि काम गर्नु हो । त्यसैले संसारभरमा राजनीति कठिन त्यागको विषय बनेको छ । तर, नेपालमा राजनीति लाभ र भ्रष्टाचारको अवसरका रुपमा विकास भएको छ । अबका नेता र नेतृत्वले आम नागरिकहरुमा पारदर्शिता, त्याग र इमान्दारिताको प्रर्दशन गर्दै अहिलेको बिग्रिएको राजनीतिको कोर्ष परिवर्तन गर्नुपर्दछ । तर, दुर्भाग्य, शासन, सत्ता र शक्तिमा पुग्न पार्टी कब्जाको मनस्थितिबाट राजनीतिमा होमिएका वर्तमान युवा पुस्ताहरुबाट राजनीतिको कोर्ष परिवर्तन हुने सम्भावना कम छ । अब हेरौ यसपटक विभिन्न पालिका र नगरहरुमा जित हासिल गरेका युवा जमातले कत्तिको काम गर्छन त्यहीं अनुरुप युवाहरुको देश चलाउने चलन स्थापित हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->