स्थानिय निर्वाचन २०७९ छिट पुटका घटनाहरु बाहेक शान्तिपूर्ण रुपमा नै समापनको संघारमा छ । यद्यपि, धाँधली र सत्ता दुरुपयोगको चर्चा पनि चलेकै छ । तैपनि तालुकदार निकाय निर्वाचन आयोगको काम स्पष्टिकरणमा नै सीमित हँुदा निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना हुन सकेन ।
पाँच–पाँच वर्षमा हुने स्थानीय निर्वाचन समयमा नै सम्पन्न हुनु सुखद पक्ष हो । संघिय व्यवस्थाको आकर्षण भनेको नै स्थानिय निकायहरुको स्थायित्व हो । र, भुल्न नहुने कुरा के हो भने, स्थानिय सरकारहरुको अधिकार, काम र कर्तव्य नै हो । जति सबल स्थानीय निकायहरु हुने छन्, त्यति नै सफल संघीयता हुने छ ।
राजनीतिक दलले स्थानिय निकायको निर्वाचनलाई अब हुने प्रदेश र केन्द« (संघीय) सरकारको निर्वाचनको जगको रुपमा लिएका हुन्छन । त्यसै ले त आफ्नो आधार क्षेत्र जोगाउन दलहरु गठबन्धन गर्न, सहकार्य गर्न तँछाड मछाड गर्दछन । खैर, अवसरको खोजिमा नेता कार्यकर्ताहरुको दल अदल– बदल नौलो विषय भएन ।
यस लेखमा बाग्लुङ नगरपालिकाको निर्वाचनसँग सम्बन्धित विषयहरुको चर्चा गरिएको छ । यस पालिको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार र बागी उम्मेदवारहरुको उपस्थितिले माहोलमा रंग भरिदियो । बाागलुङ नगरपालिकाको हकमा , १४ वडाहरुमध्ये, वडा नं १२ मा स्वतन्त्र (वागी) उम्मेदवारको प्यानल नै विजय भयो । र केही वडामा नेपाली कांग्रेस अगाडि देखिए पनि मुख्य दलहरुले मिश्रित परिणाम हात पारेका छन । जसमा वडा नं ५,६ र ७मा एमाले, वडा २ र १० एकीकृत समाजवादी, वडा ४ माओवादी केन्द« र बाँकी वडामा नेपाली कांग्रेस विजयी भएका छन । नगरपालिकाको हकमा नगर प्रमुखमा नेपाली कांग्रेस र उप प्रमुखमा माओवादी केन्द«ले बाजी मारेका छन ।
समग्रमा गठबन्धनले नै अबको स्थानीय सरकारको बागडोर समाल्ने छ र त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्नेछ । बाग्लुङ नगरको बागडोर सम्हालेको अनुभव कांग्रेसलाई छैन ।यही कारणले गर्दा बागलुङवासीहरुले युवा अनुहारहरुलाई परीक्षण गर्न विजयी गराएर हौस्याएको हुनु पर्दछ ।
अब निवर्तमान बागलुङ नगर नेतृत्व र उसले दाबी गरेका कामहरुको समीक्षा गरौं । निर्वाचन घोषणपत्रमा घोषण भएका, मतदाताहरुसंग संकल्प गरेका फेहरिस्त धेरै नै छन तर नगरपालिकाले गौरवको योजना भनेर चर्चा गरेको पहिलो झोलुङ्गे पुल नै हो । बाग्लुङ र पर्वत जोड्ने पुल प्रयोग गर्दा सुरुसरुमा पैसा तिर्नु परेता पनि जन विरोधले सो नीति सफल हुन पाएन । अन्त्यमा बाध्य भएर नगरपालिकाले आफ्नो नीति पुनरावलोकन गरि निःशुल्क पुल प्रयोग गर्न दिएको छ ।
अर्को, बानपा ४ मा निर्माणधीन बसपार्कलाई सम्पन्न गर्न नसक्नु निवर्तमान नगर प्रमुखलगायत जनप्रतिनिधिहरुको चरम लापरबाही हो । आफ्ना घोषणा पत्रमा ठूला अक्षरमा बसपार्क निर्माण सम्पन्न गरि सुचारु गर्ने प्रतिबद्धता जनाएता पनि व्यवहारमा त्यो लागु हुन सकेन । बरु भष्ट्राचारको रणभुमि बन्न पुग्यो –बसपार्क । अहिले सो मुद्दा अख्तियारमा विचाराधीन छ । बलेवामा रहेको र केही समय संचालनमा आएको हवाई सेवाको दीर्घकालीन व्यवस्थापनमा पनि नगरपालिकाले अपेक्षाकृत उपलब्धि हासिल गर्न सकेन ।
मूलत, विकास निर्माणलाई नै प्राथमिकतामा राखेको नगरपालिकाले भुइँमान्छेको अवस्था बुझ्न सकेन । डोजरे विकास र वितरणमुखी बजेटलाई नै विकासको पर्यायवाची बुझिएको र बुझाइएको छ । त्यो सत्य होइन । जनताका दैनिक आवश्यकतामा डोजरे विकास नपारिनुपर्ने हो । तर बिडम्बना हाम्रोमा विकास भनेको डोजर र मोटर बाटोमै सिमित छ ।
२०७९, वैशाख ३० गने सम्पन्न स्थानीय निर्वाचनमार्फत् बागलुङ नगरबासीहरुले नयां अनुहारहरुलाई आफ्ना पाँच वर्षका सपनाहरु धितोमा दिएका छन । फलतः नयां नगर प्रमुख र उपप्रमुखले जनताको नासोको हिफाजत गरि समुन्नत नगर निर्माणको अभिभारालाई कसरी निभाउने छन, त्यो हेर्न बाँकी नै छ ।
सार्वजनिक रुपमा आफ्ना इन्दे«णी संकल्पहरुमार्फत् निवार्चनमा होमिएर विजय हासिल गरेका नगर प्रमुख र उप प्रमुख आफ्नासंकल्पहरुलाई मूर्तरुप दिन खरो उत्रिन पर्ने देखिन्छ । प्रथम र मुख्य भनेको भ्रष्टाचारमुक्त नगर ,सुशासन र सदाचार नै हो । स्थानीय निकायहरुमा मौलाउँदै गरेको भ्रष्टाचार र वलको शासनलाई कसरी निरुत्साहित गर्न सकिन्छ,यो बिचारणीय र मनन् गरिनुपर्ने विषय हो । आर्थिक भ्रष्टाचारलाई मात्रै भ्रष्टाचार मान्ने हाम्रो परिपाटिमा नीतिगत
भ्रष्टाचारबाट पनि नगर मुक्त नगराइसुशासन र सदाचारपूर्ण हुन सक्दैन ।
अर्को हो, जनताको सहभागितामा नगरको समुन्त गुरुयोजना । यो हेर्दा र सुन्दा जति सरल देखिन्छ त्यति नै व्यवहारमा ल्याउन अप्ठ्यारो छ । यसको मतलब यो केबल सुन्न र चुनावी नारामात्रै हो भन्न खोेजेको होइन । यो त जनताले आफ्नो शासन आफैले गर्ने र आफ्ना आवश्यकता आफै सहभागी भएर पूरा गर्ने उत्तम विकल्पमध्ये एक हो । यदि अहिलेको नेतृत्वले सहभागितामूलक नीति निर्माण र योजना छनोट गर्ने हिम्मत ग¥यो भने पनि नगरबासीका करिब पचास प्रतिशत समस्याहरुको समाधान हुनेछ ।
जनताको नीति निर्माणमा सहज पहुँच पु¥याउने नाममा विभिन्न परिवर्तन गराइएको भनिएता पनि यथार्थमा सीमित व्यापारी र वर्गहरु बाहेक सामान्य नागरिकहरुको यसमा कुनै अपनत्व हुने गरि नीति निर्माण र कार्यान्वयनमा सहभागिता सुनिश्चित गरिएको छैन । आफ्ना आवश्यकता आफैले छनोट गर्न नागरिकहरुले एक प्रकारको रचानात्मक दबाब दिन आवश्यक पनि छ । यस अर्थमा बाग्लुङ नगरबासीहरु चनाखो हुनुपर्ने हुन्छ ।
तेस्रो, जनप्रतिनिधिहरुलाई जनसेवक बनाई जनमुखी प्रशासनको प्रत्याभुति गर्नु हो । सर्वप्रथम जनप्रतिनिधिहरुले आफुहरु जनसेवक हुँ भन्ने यथार्थलाई जति सक्दो मनन् गर्नहुन्छ त्यति नै जनमुखी प्रशासन हुने हो । तर, रातो पिर्कामा सलामी आचमन गर्ने संस्कृतिमा बाँधिएका जनप्रतिनिधिहरु जनसेवक बन्न सजिलो छैन । अर्को सस्कृति हो –मेरो टोल, मेरा कार्यकर्ता, मेरो पार्टी यस्तै यस्तै । सानो स्वार्थी समुहमा रमाउनु र त्यही समूहको स्वार्थलाई जनताको आवश्यकता बुझ्ने परिपाटी । राजनैतिक चस्मा लयाएर जनप्रतिनिधिहरुले कसरी आफुलाई जनसेवक बनाउँछन, त्यो हेर्नैपर्ने हुन्छ ।
चौथो छ, गुणस्तरीय शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा । समाजवाद उन्मुख हाम्रो राज्य व्यवस्थामा शिक्षा, स्वास्थ्य लगायत जनताका आधारभूत आवश्यकताहरुको नीजिकरण र व्यापारीकरण नै यसको मुख्य चुनौति हो । सामुदायिक स्कूल र प्रचलित शिक्षा प्रणालिमा नै निर्मम सुधारको आवश्यकता छ । सरकारी विद्यालयमा बढ्दो दलीयकरण,त्यसमा पनि स्थानिय निकायहरुको अनावाश्यक हस्तक्षेप, गुणस्तरीय शिक्षामा तगारो बनेका छन । अर्को परम्परागत शिक्षा र सभ्यतालाई प्राथमिकतामा नराख्दा भोग्नु परेको मनोसामाजिक चुनौतीहरु हुन । त्यसैले अबको स्थानीय सरकारहरुले आफ्ना नीति कार्यक्रमहरु बनाउँदा जति सक्दो बढि शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा आफ्ना स्रोत साधनहरुको उच्चतम परिचालन गर्छन, त्यति नै समुन्नत स्थानीय निकाय हुनेछन् ।
त्यस्तै अर्को संकल्प छ, समुन्नत नगर र दीगो पुर्वाधार । यसमा समुन्नत र दिगोको बागलुङ नगरलाई सुहाउँदो परिभाषा के होला ?दीगो पुर्वाधारले नगरलाई समुन्नत पार्ने भन्न खोजिएको होला। कुन कुन पुर्वाधार र कस्तो विकासको ढाचा नगरपालिकाको नीति हो त्यो कतै चर्चा भएको छैन । रुमानि बिकासे एजेण्डाहरुको प्रतिफल कस्तो र कुन हदको हुन्छ, आधुनिक बागलुङ बसपार्कका जग्गादाताहरुलाई थाहा होला । क्रंक्रिटका मरुभूमि ठड्याएर नगर समुन्नत बन्ने होइन । बरु नगरबासीको जिवनशैली, खानपिन, रोजगारी, सृजनशिलता, उद्यमशिलता, संस्कृति, भेषभुषा, रहनसहन, धर्म–परम्परा, रीतिरिवाज, कला,सभ्यता, बानी व्यवहार –बोली चाली आदिले हुने हो ।
अन्त्यमा, ठूला ठूला विकास पुर्वाधारहरुको रटान लगाउनुभन्दा, स–साना भुइँमान्छेका आवश्यकता अबको नगरपालिकाको नीति बनाउन सकेमात्रै, जनताले केही फरक महशुस गर्ने थिए । अन्यथा बाग्लुङबासीका सपनाहरु बालुवाको घर मात्रै हुनेछन् ।





