पोखरा/ पोखराको मेयरमा विजयी धनराज आचार्यले सुन्दर पोखराको सपना दिँदै गर्दा स्रोतको सुनिश्चितालाई विशेष महत्व दिए । समुन्नत पोखराको लागि ७ वटा प्रस्थान बिन्दु तय किटान गर्दै गुणस्तरीय स्वास्थ्य,उद्यमशीलता र रोजगारको प्रतिवद्धता गरे । उनको घोषणापत्रमा नेतृत्व सम्हालेको ६ महिनामै ३ हजारलाई रोजगारी दिने उल्लेख छ । ‘सार्वजनिक–निजी साझेदारी अवधारणामा आधारित रहेर महानगरको प्रवेशद्वार मानिने लामेआहालको निर्माणाधीन क्षेत्रीय वसपार्कदेखि पर्यटकीय क्षेत्र लेकसाइडसम्म सडकको दाँयाबाँया इलेक्ट्रिक ट्रेन सञ्चालन गरिने छ’,घोषणापत्रमा भनिएको छ ।
घोषणपत्र सार्वजनिक गर्दा ‘डिजिटल युग’को प्रतिनिधि पात्रकै रुपमा उपस्थित भए । हरेक प्रश्नको सन्तुलित उत्तर दिए । धनराज अब भने÷बोलेका कुरा कार्यान्वयन गर्ने तहमा पुगेका छन् । उनी मेयर बनेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित बहुमत वडाध्यक्ष र एमालेकी उपमेयरलाई साथमा लिएर धनराजले सुन्दर पोखरा बनाउनुपर्छ । आफ्नै घोषणा कार्यान्वयनले उनको राजनीतिक भविश्य निर्धारण गर्छ तर धनराजले जे उपलब्धी पाएका छन्, त्यसले लामो राजनीतिक यात्राको ढोका भने खोलिदिएको छ ।
२०४२ सालमा नेकपा माले युवा लिगमा संलग्न भएका धनराजको लागि राजनीति नौलो विषय हैन । २०५१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति बनेका धनराजले एमालेको राजनीति गरिरहे तर व्यापार–व्यवसायलाई सँगै अगाडि बढाए । अहिले उनीसँग दर्जनौं व्यवसाय र करोडौं लगानी छ । २०५४ सालमा एमाले विभाजित हुँदा मालेतिर लागेपछि उनलाई व्यापारतिर ध्यान केन्द्रीत गर्न झन सजिलो भयो । पार्टी एकतापछि उनी एमालेमै फर्किए । स्वर्गीय नेता रवीन्द्र अधिकारीका बालसखा धनराजको सक्रियता व्यावसायिक मोर्चातिरै बढी भयो । नेपाल उद्योग तथा व्यवसायी महासंघ स्थायी कमिटी सदस्य, एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य र नेकपा उद्योग तथा व्यवसाय विभाग सदस्य भएर उनले देशव्यापी सञ्जाल निर्माण गरे ।
समाजसेवामा चिनिएको लायन्स इन्टरन्यासनल ३२५ बी १ नेपालको डिष्ट्रिक्ट गभर्नर बने । यी सबै मोर्चामा रहँदा उनले पार्टीलाई आर्थिक सहयोग जुटाउने काम गरे । रवीन्द्र अधिकारीको २०७४ र त्यसपछिको उपनिर्वाचनमा रवीन्द्रकी धर्मपत्नी विद्या भट्टराईको चुनावी कमाण्ड सम्हाले । संयोग कस्तो भने, हालका प्रतिस्पर्धी कृष्ण थापालाई २०५४ सालमा मेयर बनाउँदा पनि उनले विद्यार्थी फाँटबाट सघाएकै थिए । कास्की क्षेत्र नम्बर २ को ‘क’बाट प्रदेश सांसद बन्दा पनि थापालाई आचार्यको साथ थियो ।
‘एमालेको संगठन कसरी चलाउने भन्ने संगठकको रुपमा बुझेकै थिए’,एक एमाले नेत भन्छन्,‘चुनावी कमाण्डर हुँदा संगठनको कमजोरी र भोट बैंकबारे जुन जानकारी थियो, धनराजले यो पटक आफ्नै लागि प्रयोग गरे ।’ २०४१ सालमा पृथ्वीनारायण क्याम्पसका स्ववियू सभापतिसमेत रहेका कृष्ण थापासँगै प्रतिस्पर्धामा उत्रनुपर्ने बाध्यता भने धनराज स्वयंले सिर्जना गरेका थिए । त्यसले उनलाई बेफाइदा गरेन । कांग्रेससहित ५ दलीय गठबन्धनको साथ पाएका उनलाई एमाले कार्यकर्ताको ठूलो पंक्तिले मत दिए ।
एमालेले कलम रोज्दा कांग्रेसी र आम पोखरेली मतदाताले उनीमाथि भरोशा गरे । व्यवसायमा लागेर धन कमाएका थिए । ज्योतिषीले राजग्रहबारे के भनेको थियो कुन्नी ? तर, उनी पहिलो प्रयासमै मेयर चुनिए । चुनिनु एउटा कुरा, उनले आफूलाई नेकपा एकीकृत समाजवादीको खम्बा, अध्यक्ष माधव नेपालको भरपर्दो लौरो र उत्तराधिकारीको रुपमा उभ्याउन सफल भएका छन् ।
माधव नेपालको उत्तराधिकारी
माधव नेपाल जीवनको उत्तरार्धमा आफ्नै घरबाट बाहिरिहन बाध्य भए । घरभित्र विद्रोह गर्नु शक्तिको चाहना थियो कि लोकतन्त्रप्रतिको विश्वास ? फरक कोणबाट व्याख्या गर्न सकिएला । तर, माधवले रहरले पार्टी त्यागेका पक्कै हैनन् । केपी ओली अध्यक्ष भएदेखि भोगेको हेपाइ र प्रताडनाले उनलाई रुष्ट बनायो नै । नेकपा हुँदा तेस्रो दर्जाको नेता पनि बनाइएन ।समानान्तर संगठन चलाएका उनले अध्यक्ष ओलीविरुद्ध मोर्चाबन्दी सुरु गरे । त्यो २०७७ सालको तिक्ततापूर्ण कालखण्डकै बीच ओलीले पुस ५ गते संसद विघटन गरिदिए । माधव त्यसको विरुद्धमा उभिए ।
अदालतको ११ फागुनमा संसद विघटन बदर गरिदियो । त्यो बेलासम्म नेकपामा माधव र प्रचण्ड बहुमतमै थिए । तर, २३ फागुनमा सर्वोच्चले एमाले र माओवादी छुट्याइदिएपछि पुनः माधवका दुःखका दिन सुरु भए । एमालेभित्र अल्पमतमा रहेका उनीविरुद्ध ठूलै आक्रमण भयो । ओलीले २०७६ जेठ ८ गते पुनःसंसद विघटन गरे । फेरि माधवको काम सुरु भयो । ओलीको कदमविरुद्ध एमालेभित्रकै २४ सांसदसहित उनले रिट निवेदन दर्ता गराए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गरे ।
२०७८ असार २८ गते ओलीको कदमविरुद्ध सर्वोच्चको परमादेश आयो । देउवा प्रधानमन्त्री भएसँगै माधवले पुरानो पार्टीमा बस्न नसकिने निक्र्योल निकाले । भदौ १ गते एमाले छाड्ने र २ गते पार्टी दर्ताको निवेदन हालियो । त्यो बेलासम्म धेरै केन्द्रीय सदस्यले साथ छाडिसकेका थिए । २०७८ भदौ ९ गते नेकपा एकीकृत समाजवादी विधिवत् दर्ता हुँदा अध्यक्ष माधवसँग पार्टी त थियो तर कार्यालय नै थिएन । असोजमा उनले मीनभवनमा पार्टी कार्यालय त खोले तर कार्यकर्ताको अभाव छँदै थियो ।
त्यस्तो बेला गण्डकीका सांसद इन्द्रलाल सापकोटादेखि हिजो साथ दिने कास्कीकी सीता गिरी ओलीसम्मले पुरानै पार्टी रोजे । स्याङ्जाको आँधीखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिला पौडेलले मात्रै उनको साथ छाडिनन् । बरु, ओलीकै पक्षमा रहेका तनहुँका कृष्णकुमार श्रेष्ठ माधव क्याम्पमा आइपुगे । पोखराबाट तुलबहादुर गुरुङ,श्रीनाथ बराल,चुडामणि जंगली,धनराज आचार्य, होम नेपाली,पूर्ण लामा, शिवजी गुरुङ,राजन शर्माहरुको साथ पाए ।
नयाँ पार्टीमा जाँदा धनराजलाई विभिन्न आश्वासन र प्रलोभन नदिएको हैन तर धनराजले विद्रोह नै रोजे । २०७८ असोज ३ गते पोखराको सिर्जना चोकमा प्रदेश र जिल्ला कार्यालय खोल्ने तारतम्य मिलाए । ‘मलाई पुरानै घरमा बस्न साथीहरुले आग्रह गर्नुभएको थियो, अवसरका कुराहरु पनि थिए’,उनले भनेका थिए,‘तर मैले विद्रोह रोजेँ ।’
कार्यालय साँच्चिकै व्यवस्थित थियो । अध्यक्ष नेपालले धनराजको प्रशंसा गरे र केन्द्रीय कार्यालयभन्दा व्यवस्थित भएकोमा धन्यवाद ज्ञापन गरे । धनराजहरु तुफानी वेगमा संगठन बनाउन लागे । ५ हजार सक्रिया सदस्य बनाएको जिकिर गरे । त्यो भन्दा पनि बढी, उनले माधव नेपालको विश्वास जिते । सत्ता गठबन्धनबाट पोखराको मेयर आफ्नो भागमा पारिछाडे । एकीकृत समाजवादीले टिकट पाउनु के थियो ? धनराज निर्विकल्प मेयरका उम्मेदवार बने ।
उम्मेदवार बन्नु र जित्नु फरक कुरा थियो । धनराजको जितसँग एकीकृत समाजवादीको राजनीतिक भविष्य जोडिएको थियो । धनराजले दिएको जिम्मेवारी पूरा गरे । ठूलो संगठन अर्थात् कांग्रेस र माओवादीलाई विश्वासमा लिए । आफूलाई टाउकोबाट झरेको रौंंसँग तुलना गरेका केपी ओलीका उम्मेदवारलाई हराएर देखाइदिए । माधव नेपालको विश्वास पूरा गरिदिए । एकीकृत समाजवादीको लागि यो चुनाव उत्साहजनक छैन ।
तर, गएको भदौमा बनेको पार्टीको महानगर उपलब्धी कम भने पक्कै छैन । कम्तिमा एकीकृत समाजवादीसँग एउटा महानगरको मेयर छ । र, ती अरु कोही नभएर धनराज नै हुन् । उनी राजकीय पदमा छन् र पार्टीको केन्द्रीय सदस्य अनि कास्की अध्यक्ष । मेयर भएसँगै धनराजको उचाइ बढेको छ । पुरानो पार्टी छाडेर उनलाई फलिफाप तथा पुरानो राजनीतिक महत्वकांक्षा पूरा गर्ने दिशा तय भएको छ । अब उनी माधव नेपालको विश्वासिलामात्रै नभएर त्यो पार्टीको खम्बा बनेर उदाएका छन् । पोखराको १५ औं मेयरको रुपमा निभाउने भूमिकाले नै उनको परीक्षा लिनेछ । खरो उत्रन सके ठीकै छ, उनलाई औषत बन्ने छुट छैन ।
माधव नेपालकै उत्तराधिकारी तथा देशको कार्यकारी बन्ने बाटो मेयरले खोलिदिएको छ । तर, देशको कार्यकारी बन्न पार्टी बलियो हुनुपर्छ । अर्कोतर्फ, पुरानो पार्टीसँग एकीकरण भइहाले पनि अब धनराज स्थायी कमिटी सदस्यभन्दा तल नहुने उनको राजकीय यात्राले देखाइसकेको छ । बाँकी त, उनको क्रियाशिलतामा पनि भरपर्छ !





