हरेक क्षेत्रको विकृति र विसंगति उजागर गर्ने, पत्रकारिता क्षेत्र आफैभित्र नै विकृति र विसंगति मौलाउँदै गएको विभिन्न तथ्यहरुले देखाउँछ । नागरिकको हक अधिकार, भ्रष्टाचार, सुशासन, मानव अधिकार र सामाजिक न्यायको पक्षमा आवाज उठाउनु पर्ने मिडियाको धर्म हो । तर, यी सबै विषयबाट विमुख बन्दै नित्तान्त व्यक्तिगत स्वार्थ र रिसइवी साँध्नका लागि मिडियाको दुरुपयोग गरिएको देखिन्छ । मिडियाका विषयबस्तुले समाजलाई सकारात्मक कम र नकारात्मक बढी बनाएको देखिन्छ । कसैको पक्ष या कसैको विपक्षमा मिडियाले दिने समाचारले पाठक, दर्शक र श्रोताहरुलाई निराश र चिढचिढे बनाउनेसमेत गरेको छ । यसले समाजमा नकारात्मकता फैलाउँदै गएको छ । विगतको तुलनामा हालको पत्रकारिताको ट्रेण्ड फेरिँदै गएको छ । अधिकांश मिडियाकर्मीहरुले मिडियालाई राष्ट्रिय र सामाजिक हितभन्दा निजी स्वार्थका लागि प्रयोग गरिरहेका छन् । त्यति मात्रै होइन, केही मिडियाले स्वाभिमानी व्यक्तिहरु वा जोसुकै विरुद्ध पनि षड्यन्त्र गर्ने, सिध्याउने खेलतर्फ लागेको देखिन्छ । पोखराका पछिल्लो पुस्ताका पत्रकारहरुमा निकै नै दम्भ बढेको देख्न पाइन्छ । एक पटक पत्रकार महासंघको सदस्यता लिएपछि पत्रकारिता कर्म गरोस् या नगरोस्, सधैँभरी पत्रकार हुन पाइने । एकपटक सदस्यता लिएका तर पेशाले गैर पत्रकारहरु झुण्ड पोखरामा हावी छ ।
पार्टीका पत्रकार सम्बन्धित संघ/संस्थाहरुमा पनि तिनैको बोलवाला देख्न पाइन्छ । चिया बेच्नेदेखि लिएर रेष्टुरेन्ट व्यवसाय, ठेक्कापट्टा गर्ने र जग्गा कारोबारीसम्म पत्रकार महासंघ कास्कीका सदस्य छन् । यी विभिन्न रुपरंग र स्वार्थ बोकेका बहुरुपी पत्रकारहरुले पोखराको पत्रकारिताको गरिमा र मर्यादामा आँच पु¥याएका छन् । पत्रकारिताको नाममा सौदाबाजी गर्नेहरुले पेशाालाई नै बद्नाम बनाएका छन् । कुन सूचना कति पैसामा बेच्न पाइन्छ, कुन समाचार लेख्दा पैसा झर्छ वा कुन समाचार नलेख्दा फाइदा हुन्छ भन्ने नियतबाट चलेका छन् । त्यति मात्रै होइन, निर्दोषलाई अभियुक्त बनाउने अभियुक्तलाई चोख्याउने गर्दछन् । यस्ता समूहका कारण पोखराका स्वाभिमान, इमान्दार सिधासाधा पत्रकारहरु प्रताडित भएका छन् । यिनीहरुको चुररीफुरीले गर्दा पोखराको पत्रकारिता जगतले बद्नामीको भोग्नु परेको छ । पत्रकारिताजस्तो पवित्र उद्देश्य बोकेको पेशा, केही, बिकाउ, षड्यन्त्रकारी, ब्ल्याकमेलरहरुको हात पर्नु बिडम्बनापूर्ण कुरा हो । समाचारका नाउँमा दुःख नगरी धम्क्याएर पैसा कमाउने गरेका छन् ।
व्यावसायिक क्षमता नभएकाहरुले जे पायो त्यही समाचार बनाउने र चरित्रहत्या गर्ने गरेको देखिन्छ । कसैप्रति रिस इवि लिएर विभिन्न फण्डा निकाल्ने र सामाजिक संजालमा जथाभावी लेख्ने अराजक समूह छ । त्यो अराजक गैर व्यावसायिक समूहको शिकार जो कोही पनि हुन सक्छ । पत्रकारदेखि राजनैतिक दलका नेतासम्म । त्यो समूहले जसको खान्छ उसकै गीत गाउँछ । मैमत्ता उनीहरुले आचारसंहिता र कानूनलाई टेर्दैनन् । उनीहरुको हर्कतविरुद्ध कोही पनि कानूनी कारवाहीतर्फ जान चाहँदैन । ….लाई चलायो गन्ध भनेर चुपचाप बस्नछन् । उनीहरुको चरित्र बुझेकाहरुले जति चरित्रहत्या गरेर लेखे पनि पत्याउँदैनन् र त्यसको प्रभावकारिता पनि देखिँदैन । पत्रकार नामधारी यो झुण्डले नभएको फण्डा झिकेर चरित्रहत्या गरेर मैले फलानोलाई झुकाएँ भन्ने आत्मरतिमा रमाउने गरेका छन् ।
यस्तै घटनाको शिकार म आफै पनि भएँ । म आवद्ध संस्था प्रेस काउन्सिलले गरेको व्यावसायिक काम कारवाहीलाई लिएर ममाथि प्रतिशोध राखियो । उक्त संस्थाले पोखराका केही पत्रकारहरुलाई पत्रकार आचारसंहिता उलंघन गरेकोमा कारवाही स्वरुप सचेत गराएको र पत्र काटेको रहेछ । त्यही विषयलाई बुझ्दै नबुझी वा अन्य कुनै उद्देश्य राखी केही पत्रकारहरुले मेरोविरुद्ध महिलाको नाउँमा षड्यन्त्र गर्न बुख्याचा खडा गरेका रहेछन् । पत्रकार आचारसंहिताविरुद्ध काम गरेका ती पत्रकारहरुलाई मैले नै प्रेस काउन्सिलमा उजुरी गरेको भन्ने भ्रम रहेछ । प्रेस काउन्सिलका सदस्यको हैसियतमा कहिल्यै पनि म आफैले पत्रकारविरुद्ध उजुरबाजुर गर्नु पर्दैन । प्रेस काउन्सिलमा आचारसंहिता अनुगमन महाशाखा छ । प्रविधि सम्पन्न कार्यालय र चुस्त कर्मचारी संयन्त्र भएकोले जहिलेसुकै जुनसुकै समयमा पनि पत्रचार गर्न सक्छ भन्ने हेक्का हुनु प¥यो ति पत्रकारहरुलाई ।
सन्दर्भ २०७९ सालको स्थानीय तहको निर्वाचनको हो । राजनैतिक दल र उम्मेदवारलाई भन्दा पत्रकारहरुलाई बढी चुनाव लागेको थियो । आफूलाई आफैले व्यावसायिक भन्ने तर दलीय आग्रह पूर्वाग्रह राखेका केही पत्रकारहरुले पैसाका लागि एक पक्षीय रुपमा मिडियामा पैसा पाउने उम्मेदवारको झोला बोकेको पाइयो । तथ्यसंगत नभइ भजन गाउने गरेको पाइयो । निर्वाचनपश्चात मतगणना स्थलको मिडिया सेन्टरमा माथि उल्लेखित विशेषता भएका पत्रकारहरुको दबदबा थियो । उनीहरुले यतिसम्म गरे कि, बहु राजनैतिक दल समर्थित उम्मेदवारकै खाएर दम्भ देखाउने काम गरे । त्यति मात्रै होइन, त्यो मिडिया सेन्टर नाम गरेको ठाउँमा स्वतन्त्र निश्पक्ष पत्रकारको होइन, दलीय पत्रकारको भिडभाड लागेको देख्न पाइन्थ्यो । कुनै राजनीतिक पार्टीका नेताले असहमति जनाएर नारा लगाउँदा भिडमा कुहिनोले ठेलियो भने पनि पत्रकारमाथि दुव्र्यवहार भयो भनेर स्याल कराए जसरी कराउने गरेको अद्भूत दृष्य देख्न पाइयो । आफूमात्रै ठूलो हुँ, आफूबाहेक अरु कोही पनि होइनन्,भूसुना हुन् भन्ने दम्भ पालेकाहरुले त्यहाँ जाने जो कोहीलाई पनि सिकार बनाउने गरेका थिए । त्यो षडयन्त्रको शिकार म आफै पनि भए । जेठ ५ गते साँझ निर्वाचन आयोगको कार्यालयको भिडिया सेन्टरमा गएको मात्रै थिएँ,एक जना टीभी रिर्पोटर हुँ भन्नेले छेकेर बुम तेस्र्याउन आइन् । मैले पन्छ्याउन अनेक प्रयत्न पनि गरेँ ।
म तयार छैन भन्दाभन्दै आग्रह गरिन् । तर, मैले व्यक्तिगत र विवादास्पद विषयबस्तुमा नजान आग्रह गरेको थिएँ । साबुन र स्याम्पु बेच्दाबेच्दै यो पेशामा प्रवेश गरेकी उनलाई प्रश्न सोध्न पनि नआउने रहेछ र अर्को व्यक्तिसँग लेखाएर ल्याइन् र ममाथि व्यक्तिगत आक्षेप लगाउन थालिन् । त्यो मिडियाले ममाथि आचारसंहिता उलंघन गरेको आरोप लगाएको थियो, जुन नियोजित थियो । ‘मैले आचारसंहिता उलंघन गरेको भए मेराविरुद्ध उजुरी पर्नुपर्ने हो । सम्बन्धित निकायले कारवाही गर्नुपर्ने हो । तर मेराविरुद्ध उजुरी कहीँकतै परेको नै छैन । मलाई सम्बन्धित निकायले कारवाही गरेको नै छैन । मलाई किन यस्तो पूर्वाग्रही प्रश्न गर्नुहुन्छ ?’ मेरो लागि बोल्ने यो उपर्यु क्त ठाउ होइन भनेर उनको क्यामेराबाट बाहिरिएँ । त्यसपछि उनले मलाई आउनु दिदी बोल्नु भनि रहेकी थिइन् । म तिम्रोमा बोल्दिन भनेर हिँडे । मैले उनलाई भने ‘मैले तिमीलाई माया गरेर अगाडी बढाउने तर तिमीले मलाई यस्तो आरोप लगाएर अपराधीकरण गर्न खोज्ने ?’ त्यो अनौपचारिक संवाद थियो । पछि उनले अरुको उक्साहटमा लागेर ममाथि दुव्र्यवहार भयो भनेर सामाजिक संजालमा छरपष्ट पारिन् । न मैले उनलाई गाली गलौज गरेंँ न उनले लगाएको आरोपमा कुटपिट गरेको छु । म त केवल क्यामेरा फ्रेमबाट मात्रै बाहिरिएको हो । यदि मेरो ठाउमा कोही पुरुष भइदिएको भए यौन हिंसा ग¥यो, बलात्कारको प्रयास भयो भन्नेसम्मका आरोप नआउला भन्न सकिदैनथ्यो ।
म अभियुक्त भएको भए मलाई त्यो मिडियाले किन बोलायो ? मिडिया भनेको निर्दोषिताको प्रमाण पेश गर्ने ठाउँ होइन । कुनै अपराधै नगरेको व्यक्तिलाई आफैले आरोप लगाएर अपराधी बनाउने अनि आफै निर्दोषिताको प्रमाण पेश गर भन्ने ठाउँ होइन । पत्रकारिता भित्रको नैतिकताको कुरा उठाउँदा दुब्र्यवहार हुँदैन । हाम्रो पत्रकारिता कुन स्कुल अफ थटबाट संचालित छ । निर्दोषलाई आरोपित बनाएर ब्ल्यामेलिङ गर्ने अनि अभियुक्तलाई चोख्याउन जनमत श्रृजना गर्ने माध्यम बन्दैछ मिडिया । त्यस बापत आर्थिक लाभ लिने उद्देश्य राखेर खोलेका मिडियाको विषयवस्तु पनि बिक्न छोडिसक्यो । भ्रम छर्ने दुष्प्रचार गर्ने संचार माध्यमलाई प्रेस काउन्सिलले कारवाही गरेको हुँदा त्यसैको प्रतिशोध स्वरुप ममाथि नियोजित आक्रमण गरी मेरो चरित्रहत्या गर्न खोजिएको हो । यसरी चोरलाई चौतारो र साधुलाई सुली चढाउने माध्यम बनेका छन्,केही पत्रकार र संचारकर्मी । यस्ता प्रवृत्ति बोकेका संचारमाध्यम अपराधिकरण तर्फ जाँदैछ भन्ने प्रष्ट भएको छ । पत्रकारिताको साख, गरिमा र मर्यादालाई उँचो राख्नका लागि यस्ता खाले प्रवृत्तिको अन्त्य हुनु पर्छ ।





