मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

जनमतको अभिव्यक्ति : अबको राजनीति र प्रस्तुती

जनमतको अभिव्यक्ति : अबको राजनीति र प्रस्तुती


  • टीका बहादुर कार्की
  • जेष्ठ १५ २०७९, आइतबार

भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट प्राप्त मतको अभिव्यक्तिले जहानियाँ राणाशासन, निर्दलिय पन्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र तथा गणतन्त्र नेपालको शासन व्यवस्थासम्म आईपुग्दा सर्वसाधारण मतदातामा व्यापक परिवर्तन आउँदै गरेको महसुस हुन्छ । यसको ज्वलन्त उदाहरण देशको सुदुरपुर्व धरानदेखि सुदुर पश्चिमको धनगढीसम्म ठुला राजनीतिक दलका ठुलै नेतादेखि सामान्य कार्यकर्ता समेतलाई सबक सिकाउँदै सर्वसाधारण मतदाताले राम्रो सन्देश दिएका छन् ।

सत्ता संघर्षका रक्तपातपुर्ण घटनाहुँदै शान्तीपुर्ण विरोध र सभ्य संस्कृतिको प्रदर्शनद्वारा शासन संचालन र पिर्के सलामीमा मक्ख पर्ने सत्तामा आसिन पदाधिकारीका विरुद्व र समर्थनमा भएका अनगिन्ती आन्दोलनहरुलाई राज्यशक्तिको प्रयोगबाट तह लगाउँदै आफ्नो, व्यक्तिगत तथा दलीय स्वार्थसिद्व गर्ने गरिएको भनि आलोचित परिपाटीलाई यस पटकको चुनावमा प्राप्त मत परिणामले झस्काएको हुनुपर्छ । ‘हामी शासनका लागि होईन जनताको सेवाका लागि निर्वाचनको मैदानमा खडा भएका छौं’ भन्ने स्वतन्त्र उम्मेदवारलाई सेवकका रुपमा काम गरेको हेर्ने चाहाना राखेको पाईयो । राजनीतिको बहसमा नआएको तर विगतदेखिनै देशको दुरदराजसम्म केही उम्मेदवारमध्ये हाम्रालाई भन्दा राम्रालाई मतदान गरेर विजयको माला पहिर्याउँदा खासै चर्चा भएको थिएन । आज देशको मुटु मानिने राजधानी काठमाण्डौं महानगरमा बालेन, पुर्वको धरान उपमहानगरमा हर्कराज राई, सुदुरपश्चिमको धनगढीमा गोपाल हमाल चर्चित पात्रका रुपमा विजयी भैरहंदा भौगोलिक हिसाबले समग्र मुलुकबासीलाई छोएको छ । जनताले विवेक प्रयोग गर्दै आफ्नो मतको गोप्य उपयोगद्वारा दलिय पन्जाबाट मुक्त स्वतन्त्र व्यक्तिलाई ठुला ठुला महानगरको बागडोर जिम्मा लगाएका छन् । निर्वाचनमा बुथ कब्जा गरेर, मतदाता तर्साएर, प्रलोभनमा पारेर चुनाब जितिने समय घर्किन लागेको महसुस हुदैछ ।

अब, धनदौलतको प्रयोग, पहुँच र लावालस्कर, सानमानसहित मन्त्रमुग्ध हुँदै प्रचार प्रसार तथा नकारात्मक टिका–टिप्पणीद्वारा चुनावको मैदानमा उत्रिएका समकक्षीलाई होच्याउँदै मेरा प्रतिस्प्रधी नै छैनन् भन्नुहुने उम्मेदवार तथा दलको पराजयबाट पाठ सिक्दै बौद्विकता प्रदर्शन गर्नु पनि यो जनमतको अभिव्यक्ति हो । बालेन र गोपालको पछाडी केही प्रशंसक तथा प्रचारक भैहंदा धराने हर्कराजसंग भने केही देखिएन, तर जनमत लिए । नेतृत्व तहसम्म पहुँच र राम्रै प्रभाव भएकाले टिकट पाईरहने, तर मतदातासम्म नपुगेका र मतदाताले नपत्याएका व्यक्ति पटक पटक पराजित भैरहेको अवस्थामा आज स्वतन्त्र उम्देदवारले तहल्का मच्चाईरहंदा राजनितिक नेतृत्वले आफ्नो नेतृत्वमा दललाई मजबुत स्थितीमा पुर्याउन पनि पहुँच र व्यक्तिगत प्रभावलाई चिर्दै उम्मेदवारको शासकिय क्षमता, आचरण व्यवहारका साथै जनमतको स्थिती बुझेर योग्यलाई टिकट दिनुपर्ने बाध्यता आईलागेको छ । धनदौलत, विज्ञता र अन्य हैसियत प्राप्त व्यक्तिले उपयुक्त सुझावसहित राज्य संचालनमा सहयोग गर्नुपर्छ । सरकारले पनि उसको विज्ञता र क्षमतालाई उपयोग गर्ने रणनिती ल्याउनुपर्नेमा प्रभाव पार्नका लागि निर्वाचनमा होमेर सबैलाई धमिल्याउनु हुँदैन ।

अन्तमा, राज्य संयन्त्रको हरेक क्षेत्रमा उत्कृष्ट उम्मेदवार नियुक्ति गर्ने हैसियतमा रहनुहुने सार्वजनिक संस्थाका शासक वा पदाधिकारीहरु कम्तिमा आफ्नो विवेक, योग्यता, दक्षता र नैतिक धरातलमा स्वच्छ तथा निस्कलंकित व्यक्तित्वको उपस्थितिले सकारात्मक प्रभाव पार्न सक्ने हुँदा यस्ता कुरामा ध्यान दिंदै शासकीय संस्कारमा परिवर्तनसहित जनताले महसुस गर्नेगरी काम गर्दै आफ्नो कार्यकाल सफल पार्नु हुन चुनावमा विजेता सम्पुर्ण पदाधिकारीहरुलाई सुझावसहित शुभकामना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->