बाटाहरु सुनसान छन् । त्यसदिन त्यस बाटामा पाइला टेकेकै हामीले होला । सन्नातालाई चिर्दै एक हुल चौरीहरुको घाँटीमा झुन्डिएको घन्टीहरुको आवाज सुनिन थाल्छ । बादलले बर्को ओडेको डाँडै डाँडाले घेरिएको पर सम्म परेको भू–भाग विस्तारै देखिन थाल्छ । अनि त्यहीँ देखिन्छन्, स–साना झुण्ड बनाएर एक तमासले चरिरहेका चौरी र याकहरु । साना चौरीहरु कति लोभलाग्दा देखिएका । हेरिरहुँ खालका ।
घडीमा उचाई देखाएको थियो, ४२३२ मिटर । यतिको उचाईमा कुनै बुट्यानहरु हुने कुरै थिएन । थिए त स–साना झाडीहरु । पैदल हिँडेका मान्छेका पाइलाहरुले बनेको सानो गोरेटो पछ्याउँदै यहीँबाट डेढ घण्टामा पुगिन्छ आइस लेक (किचो ताल) । नजिकै सानो ढुंगाको छाप्रो देखिन्छ । अनि त्यहीँ छाप्रोबाट पुत्पुताइरहेको हुन्छ, एकतमासले धुँवा । मुख्य बाटोलाई छाडेर हाम्रा पैतालाहरुले त्यहीँ छाप्रोतिर डोहो¥याउँछ ।
समय भर्खर बिहानको सात बज्दो हो । सानो त्यस छाप्रोमा तिब्बती चिया पकाइरहेका थिए लाक्पु छिपिल । अनि छेवैमा थिए उनका छोरा । बाउ छोरालाई चाहिने सब थोक यस सानो छाप्रोमा अटाएको थियो । सानो अगेवा, वरपर दुई बिस्तारा, दुध तताउने भाडा अनि दही मोत्ने सानो काठको ठेकी । लाक्पुले हामीलाई पनि चिया टक्राए, तिब्बती चिया । अर्थात प्रो च्या । चौरीको नौनी, नुन र दुध मिसाएर तयार भएको मगमगाउँदो चिया साच्चै स्वादिलो थियो । गफहरु थपिए । अनि थपिए सँगै चियाका कपहरु ।
लाक्पु छिपिल उमेरले पचास कटे । कुराकानीको बीचबीचमा पस्किने उनको मुस्कानले भने उनलाई तन्नेरी नै झल्काउँछ । चौरी पालन गरेकै वर्षले २५ लाग्यो उनको । अझै निरन्तर यहीँ पुर्खौली पेशालाई अगाल्दै छन् उनी । गोठमा हाल ३० वटा चौरी र याकहरु छन् । यसैको स्याहार सुसार र चरण गर्दा नै उनको दिन जान्छ । यसैको पालनबाटै घरपरिवार चलेको मात्र छैन, तीन छोराछोरीलाई विद्यालय पढाएका छन् उनले ।
‘मेरा बाले पनि यहीँ पेशा अगाल्नु भएको थियो । बासँगै सानो उमेरमा तिनताका मनाङका कुनाकन्दरा चहारेको थिए । कहिलेकाहीँ त थोराङ्ला पास कटेर मुस्ताङसम्म पुगेको थिए,’ उनी थप्छन्, ‘आजको दिनसम्म निरन्तर यहीँ पेशामा आबद्द छु । त्यति धेरै आम्दानी लिन नसकेपनि यसैमा लाग्दा आनन्द मिलेको छ । सन्तुष्टि नै सबैभन्दा ठूलो सुख रहेछ मानव जीवनमा । यसैले जहान परिवारको भोको पेट र नांगो शरीर ढाकेको छ ।’ उनी यी सब भनिरहँदा उनको मुहारमा खुसीका लहरहरु छचल्किरहेका थिए । त्यसैले त निरन्तर २५ वर्षदेखि यहीँमा रमाइरहेका छन् उनी । अनि चौरी डुलाइरहेका छन् हिमालका काखमा ।
घर उनको भ्राताङ, मनाङ । त्यहीँ घर खेत छन् । खेतीबाली लगाउने सिजनमा उनी गोठै बोकेर घर फर्कन्छन् । वर्खा लागेपछि फेरि माथि लेकतिर उक्लन्छन् । उनी थप्छन्, ‘माथि आइस लेकको नजिकैको गोठमा हामी दुई महिना बस्छौं । त्यहाँ अत्याथिक चिसो भयो भने अलि तल यहाँ आइपुग्छौं । यहाँ करिव दुई महिना बसेर तल औलो गाउँ पुग्छौं ।’ यहीँ चक्र दोहोरिरहन्छ हरेक वर्ष । उनी गाउँ अनि लेक वर्षभरि ओहोरदोहोर गरिरहन्छन् । अनि नापिरहन्छन् उकाला ओराला बाटाहरु । एक ठाउँमा बसेर त कहाँ चल्छ र उनको जिन्दगी ?
विद्यालय बिदा हुदाँ उनलाई साथी बनाउन गाउँबाट छोरा आइपुग्छन् । बाउ छोरा चिया पिएर चौरी धन्दामा लागिहाले । नजिकै रहेको चौरी बाध्ने सम्म ठाउँ बनाएका छन् । त्यहीँ लस्करै रातमा बाध्छन् चौरी र याकलाई । चौरीको गोबरलाई सुकाएर त्यहीँ आगो बाल्न प्रयोग गर्छन् । छोरा दिनमा नजिकै डाँडामा चौरी डुलाउँछन् । अनि फर्कदा ल्याएर आउँछन् चौरीका गोबरहरु । त्यहीँले साँझ बिहानको चुलो बल्छ । दाउराका लागि यहाँ कुनै बुट्यानहरु छैनन्, यहाँ ग्यास बालेर कहाँ त पुग्छ र उनको परिवारलाई ?
गोठमा छन् तीस वटा चौरी र याकहरु । चौरीहरु डुलाउन लानु अघि दुध दुहुन पर्छ । बा छोरा यसै कार्यमा जोडिन्छन् । दुध दिने माउ चौरीहरु सात वटा छन् । अनि त्यसका बच्चाहरु दस वटा । पाँच वटा थारा चौरीहरु र बाँकी याकहरु हुन् । चौरीका बच्चाहरुलाई थुन निख्रान दिएपछि छोरा चौरी र याकका बथान लागेर चराउन निस्कन्छन् । यतिमै कहाँ दिनचार्य सकिन्छ र लाक्पुको ? सबै दुध तताउँदा र दही मोत्दा घाम टाउको माथि आइपुग्छ । अनि मात्र बिहानको खाना पकाउन सुरसार कस्छन् उनी । हाम्रो लागि पनि चामल थपिदिनै लागेका थिए उनी तर हामीलाई आइस लेक घुमेर मनाङ फर्किनु थियो । त्यसैले उनको यो प्रस्तावलाई हामीले मुस्कानले नकारिदियौं ।
चौरीपालन गर्नु त्यति सजिलो काम त कहाँ हो र ? उनी विस्तारै आफ्ना कर्मको दुःख, कष्ट र वेदनाका पोकाहरु फुकाउँदै जान्छन् । ‘तीन तीन पटक गोठै बोकेर बसाइँसराइँ गर्दा अलिक बढी समय र उर्जा लाग्छ । प्रक्रिया पनि झन्झटिलो हुन्छ, सबै झिटि झाम्टो बोकेर माथि तल हुन ।’ जाडो याममा हिउँ परेसँगै हप्तौं मनाङ क्षेत्र हिउँमय बन्छ । तिनताका झन् आधा ज्यान हिउँभित्रै गडिने हिउँको थुप्रोलाई छिचोल्दै अघि बढ्दाको सास्ती शब्दमा वर्णन गर्न सकिने कुरै थिएन तर पनि उनी यसैमा रमाइरहेका छन् ।
मुख्य चुनौती त हिउँ चितुवाबाट चौरीहरुलाई जोगाउनु हो, उनी थप्छन्, ‘अघिल्लो वर्ष मात्र दुई त चौरी र तीन वटा याक चितुवाले सखाप पार्यो । एउटै चौरीको मूल्य १ लाखको हाराहारी हुन्छ । यस हिसाबले अघिल्लो वर्ष मात्र करिब पाँच लाखको क्षति नै बेहोर्नुपर्यो । हामीलाई क्षतिपूर्ति कसले दिने ? एक्यापले सुन्ने हैन, स्थानीय सरकारको कुनै वास्ता छैन ।’ एक्याप संरक्षण क्षेत्र भित्र रहेको यस क्षेत्रमा जंगली जनवारले अन्न बाली वा पशुपालनमा पारेको क्षतिको केही अंश संरक्षण क्षेत्रले बेहोर्न प्रावधान रहेका छ । तर उनलाई यस्तो पीडामा पनि कुनै साथ र सहयोग मिलेन । हिउँ चितुवाको संरक्षणमा लागिपरेका विभिन्न संघसंस्थाहरुले उनको घाउमा मलम पट्टी लगाउने कुनै जरुरत देखेनन् । त्यसैले उनी साहराबिहीन बनेका छन् ।
याकको दुधबाट बनेको घिउ, छुर्पी, पनिर, चिज लगायत विभिन्न परिकारको राम्रो बजार मिल्छ । हरेक वर्ष निश्चित समय छुटाएर याककै आलो रगत पिउने पर्व पनि रहन्छ । विभिन्न परिकारबाट राम्रो आम्दानी भएपनि राम्रो यातायातको असुविधा र कमजोर बजार व्यवस्थापनले गर्दा उनले राम्रो आम्दानी लिन सकेका छैनन् । यता सडक विस्तार भएसँगै सामान ओसारपोसार गर्न पनि याक र चौरीको माग घट्दो छ तर अझै उच्च हिमाली भेगहरुमा भने चौरीको प्रयोग र उपयोगिता अझै उतिनै महत्वपूर्ण रहेको छ ।
विविध पक्षहरुलाई नियाल्दा उनले त्यति आर्थिक लाभ भने हासिल गर्न सकेका छैनन् । जेनतेन घरखर्ची र सन्तानका शिक्षादिक्षाका लागि पैसा उनले यहीँबाट जुटाउँछन् । गाउँठाउँमा मोटर गाडी गुड्दा पनि उनलाई भने आफ्नै मोटरमा विश्वास छ । अझै चौरीमै सामान बोकेर माथिल्ला भेगहरुमा पुगिरहन्छन् ।
बाउ बाजेको पुर्खौली पेशालाई निरन्तरता दिन पाउँदा भने उनी आफैँलाई भाग्यमानी ठान्छन् । अब उनका सन्तानहरुले यसलाई निरन्तरता दिने हुन्/हैनन् भन्ने कुराले भने उनलाई नराम्रोसँग पिरोल्छ । भविष्यमा जेजस्तो भएपनि आफ्नो अन्तिम सास रहुन्जेल यसैलाई निरन्तरता दिने योजना सुनाउँदा उनको मुहारमा खुसीको लहर छचल्किएको थियो ।





