मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सांसदहरुको गाउँमा चुनाव चिह्न नयाँ

सांसदहरुको गाउँमा चुनाव चिह्न नयाँ


  • माधव शर्मा
  • जेष्ठ १७ २०७९, मंगलबार

वर्तमान राष्ट्रिय राजनीति र स्थानीय तह निर्वाचन २०७९ को मत परिणामले देश तातिरहेको छ । निर्वाचनको मिति सार्वजनिक हुनु पुर्वदेखि नै नेपालको राजनीतिमा विचारविमर्श सुरु भएका थिए । यति बेलासम्म आइपुग्दा देशका सबै जसो पालिकाहरुमा मत परिणाम सार्वजनिक भयो । परिणाम सार्वजनिक भएलगत्तै कस्ले जित्यो ? कस्ले हार्यो ? भन्ने प्रश्न र जवाफ आफैमा आइसक्यो । पालिकाका कर्मचारीहरु पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु सपथग्रहण गराउने र पुर्व जनप्रतिनिधिलाई बिदाई गरि नयाँलाई पदस्थापन कार्यक्रममा जुटिरहेका छन् । परिणामलाई जय र पराजयमा रुपान्तरण गर्न धेरै पालिकाका उमेद्वार र नेता कार्यकर्ताहरु निर्वाचन आयोग वा पालिकाको कार्यालय अगाडि फुलमाला लिएर बसिरहेका थिए ती पनि आ–आफ्नो बाटो लागि सके । भोग्नेलाई भन्दा देख्ने र सुन्नेलाई रोमान्चित पार्ने मतपरिणामले राजनीतिप्रति त्यति चासो नराख्ने जनतालाई समेत मैदानमा उतारेको स्पष्ट छ ।

नेपालको राजनैतिक इतिहासमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमा टिकट लिनेदेखि लिएर विजयको यात्रासम्म उमेदवार÷नेतालाई भरपुर चुनौती नै रहन्छ । वर्तमान निर्वाचनमा सत्तापक्षबाट पाँच दलिय गठबन्धन र प्रतिपक्षमा रहेका दलहरु नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भागबण्डामा उमेदवार छनोट गर्ने प्रक्रियाले उमेद्वार छनोटमा रस्साकसी नै भयो । प्रारम्भमा त गठबन्धनको सीमा तोकेर नियम र मापदण्ड बनाउनै कठिनाई भयो भनेपछि गएर पार्टी र नेता हेरे गठबन्धनलाई धक्का पुग्ने । गठबन्धन हेरे नेता कार्यकर्ता भड्निने डर नेतृत्वलाई बन्यो । अन्ततः सत्तापक्ष र प्रतिपक्षले निर्वाचन आयोगले तोकेकै मितीमा राजनीतिक भागबन्डा त गरे तर असन्तुष्ट कार्यकर्ताले बागी र स्वतन्त्र उम्मेद्वारी दर्ता गरेर पाटी नेतृत्वलाई चुनौती दिए । त्यस्को ज्वलन्त उदाहरण महानगर र उपमहानगरतर्फ काठमाण्डौ, भरतपुर, धनगढी, जनकपुर र धरानमा स्पष्ट देखियो भने अन्य पालिका र वडाहरु समेत यो रोगबाट बच्न सकेनन् ।

देशका विभिन्न पालिकामा स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका उमेदवारहरु छिटपुट रुपमा चर्चामा आए पनि देशको मुटु काठमाण्डौं महानगरपालिका स्वतन्त्र उमेद्वार बालेन शाह, धरानका हर्क सम्पाङ, जनकपुर, धनगढी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहालको उम्मेद्वारी रहेको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेपछि नेता कार्यकर्तामा चुनावी माहोल तातेको थियो । मतदान पश्चात पनि यी र यिनै केन्द्रहरु लगायत अन्य स्थानमा स्वतन्त्र उम्मेद्वारी दिएका उमेदवारहरुले राष्ट्रिय राजनितीमा चासोको विषय थपेका थिए ।

सामाजिक अभियान्ताको काममा सक्रिय रहेका व्यक्तिहरुको उम्मेद्वारीलाई जनता र राजनैतिक दलका प्रतिनिधिले यथास्थितीमा पर्ख र हेरको अवस्थामा राखेका थिए । यद्यपि पाँच दलिय गठबन्धन र नेकपा एमालेसंगको राप्रपाका छुट्टाछुट्टै गुट र बन्धनको निर्णयलाई उपेक्षा गरि पाटीबाट राजीनामा दिई स्वतन्त्र बनेका उमेदवारहरुको चुनावी उपस्थिती र प्रतिस्पर्धा रोमान्चित नै थियो । ३० बैशाखमा सम्पन्न मतदान प्रक्रिया सकिएलगत्तै ढिलोचाँडो देशैभरका पालिकाहरुमा मतगणना प्रारम्भ भयो । स्वतन्त्र उमेदवारहरुको अग्रता र विजयका समाचारले धेरै मानिसहरूको ध्यान आकृष्ट पार्यो । धेरै ठाउँमा स्वतन्त्र उमेदवार र प्यानलले जितेका छन् । जस्मा देशैभरिबाट १४ ओटा पालिका प्रमुखको पदसहित ३८५ जना स्वतन्त्र उमेद्वारहरु निर्वाचित भएका छन् । यो जीतलाई शिर्ष नेताहरुले स्वागत पनि गरेको सुनियो । तर जस्ले जसरी व्याख्या र टिप्पणीसहितका ताली पिटे पनि दलिय व्यवस्थालाई स्वतन्त्र उम्मेद्वारी र विजयका नाराले धक्का पुगेकै हुनुपर्छ, दलहरू माथी प्रश्न उठेकै छ ।

लोकतान्त्रिक विधि र नियमानुसार जनताको जित हुनुपर्छ भन्ने सिद्धान्त सार्वजनिक मन्चबाट फुक्दैमा जनताको शासन आउँछ भन्ने विश्वास जनताले पत्याएनन् । स्वतन्त्र उम्मेद्वारी र विजयको नाराले चर्चाको शिखरमा चार सांसदको जन्मगाउँ अमलाचौर पनि रहेको छ । बा.न.पा.–१२ अमलाचौरले पनि जिल्लादेखी केन्द्रसम्मको ध्यान आकृष्ट पारेको थियो । अमलाचौरमा स्वतन्त्र प्यानल नै खडा गरेर चुनावी मैदानमा उत्रिएको कोपिलामणी शर्माको प्यानलले अन्ततः विजय पनि हासिल गर्यो । विजयका सन्दर्भमा शर्माले जित्नु नौलो कुरा थिएन तर राष्ट्रिय राजनीतिमा सक्रिय र पदिय जिम्मेवारीमा रहेका सांसदहरु कै गाउँमा दलिय व्यवस्थालाई चुनौती दिदै पार्टीबाट राजिनामा दिई उठेको प्यानलको विजयले दल र दलिय व्यवस्थामाथी ठुलै प्रश्न उठेको छ भने पार्टीको चिह्न लिएर पटक पटक चुनावी मैदानमा उत्रिएका शर्मालाई पार्टी र पार्टी चिह्नले पत्याएन तर पार्टी छोडेर स्वतन्त्र बन्दा जनताले पत्याए । किन र कसरी पत्याए भन्ने कुराको रहस्य कि त इतिहासले बताउँला कि त त्यसै गाउँबाट राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्ने सक्रिय नेताहरुले बताउन सक्लान । नेताहरुकै गाउँमा दल र दलिय व्यवस्थालाई अस्विकार गर्नु जनता जिम्मेवार हुन् वा नेताहरूले जनताको मनोभावना बुझेनन् ? यो प्रश्न शिर्ष नेतृत्वले सम्बन्धित नेताहरूलाई अवश्य सोध्ने छ । पालिका निर्वाचनमा बालेन र सम्पाङ्को जत्तिको चर्चा नभए पनि शर्माको प्यानलले जित हासिल गर्दा समग्र जिल्ला र बागलुङ नगरपालिका लगायत राष्ट्रिय राजनीतिमा समेत केही सन्देश दिएको महसुस नेताकार्यकर्तालाई अवश्य भएको हुनुपर्छ । यद्यपि निर्वाचन जितेर इतिहास रच्यौं भनेर प्यानल रमाइरहनु एउटा पक्ष छ तर आफ्नो प्यानलको जीतलाई जिताइ राख्न पाँच वर्ष रातदिन जनताको सेवामा खट्नु पर्ने बाध्यता र चुनौती पनि प्यानलले नबिर्सियोस् ।

राष्ट्रिय राजनीतिको उर्वरभूमि अमलाचौरबाट शिर्षतहमा पूर्व शिक्षामन्त्री दिननाथ शर्मा, वर्तमान शिक्षामन्त्री देवेन्द्र पौडेल, सांसद डा. सुर्य पाठक, वलावती शर्माले प्रतिनिधित्व गर्दछन् । क्षेत्र र जिल्ला नेतृत्वमा धेरै नेताहरुले सक्रिय प्रतिनिधित्व गर्दछन् । तर संघिय मन्त्रीहरु नै जन्मिएको गाँउमा दलिय व्यवस्थालाई चुनौती दिदै शर्माले आफ्नै पार्टी र गठबन्धनको निर्णयविरुद्ध स्वतन्त्र उम्मेद्बारी दिएका हुन् र विजय पनि भए । यसरी स्वतन्त्र बाटो खोजिरहदा शर्माले आफ्नो कालखण्डमा संगठनप्रति देखाएको सद्भाव त मेटाए नै, पाँच वर्षका लागि बा.न.पा १२ अमलाचौरमा राजनैतिक दलका चुनाव चिह्न रुख, सुर्य, हसिया हथौडा, गिलास, कलम, छाताको अस्तित्व समेत कमजोर बनाएको देखिन्छ । यस्को जस अपजस भोट र जनमतका आधारमा पटक पटक पार्टी चिह्न लिएर हारेका शर्मालाई दिने वा जनतालाई ? कि त सक्रिय राजनितिलाई गति दिन नसकेका दलका प्रतिनिधि र शिर्ष नेतृत्वलाई ? मनन् गर्नैपर्ने कुरा विगतका निर्वाचनमा उहीं चिह्न र व्यक्तिप्रति सद्भाव नदेखाएका जनताले राजनैतिक मुलधारविरुद्ध उभिदा उनै व्यक्तिलाई भारी मत दिएर विजय गराउनुले पनि दलका नेता तथा नेतृत्वले समय मै राम्रोसंग नबुझेमा दलिय व्यवस्था नै धरापमा पर्ने त होइन ? भन्ने शंका उब्जिएको छ । यसको जवाफ म म भनेर खोज्नै पर्छ । हुनतः राष्ट्रिय राजनीतिमा चासोको विषय बनेका पालिकाहरुमा पनि दलहरुले चुनौती व्यहोर्नै पर्यो । यद्यपि सांसदहरु आफैले मतदान गर्ने आफ्नै केन्द्रबाट दलका प्रतिनिधि बाहिर रहने र चुनाव चिह्न नै हराउने गरि उपस्तिथि र विजय भएको स्वतन्त्र प्यानलले के कत्तिको काम गरेर जनतालाई आस्वस्त पार्छ हेर्न बाँकी नै छ ।

चुनावका दिन एउटै मैदानमा संगै उपस्थित नेताहरु विकास निर्माणका कार्यमा एउटै नियम र नियतले उभिने हो भने यस वडाको विकासमा कठिनाई छैन र सम्भव छ । तर तिनै तहका नेताहरूको प्रवृत्ति उस्तै छ । जितेपछि गाउँ र जनताप्रति अन्जानको व्यवहार देखाउँछन् । जस्तो व्यथिती अन्य पालिकाहरुमा छ, त्यस्तै अवस्था अमलाचौरमा विद्यमान छ । सानोतिनो बजेटमा सबैले जस खोज्ने तर नितिगत विकास निर्माणका काम गरेर स–प्रमाण प्रस्तुत हुन नसक्नु नेताहरुको कमजोरी सावित भएको छ । संघ, प्रदेश र स्थानिय तहका निर्वाचनहरु पटकपटक हुन्छन् । भोट माग्न नमस्ते गर्दै नेताहरू घर घरमा पुग्छन् । तर निर्वाचन पश्चात नेताहरू जनताप्रति उदासिन हुने कारण जनताले दलिय व्यवस्थाप्रति अनास्था देखाएको आँकलन गर्न सकिन्छ ।

संघिय संरचनामा बागलुङ नगरपालिकाका वडाहरुमध्ये अमलाचौर भौगोलिक रुपमा केही दुर्गम र विकासका लागि कठिनाइ भएको वडा हो । ‘छोटो सिरक शिरमा न पाउमा’ भन्या झै भूगोलले आफैमा ठगेको यो वार्ड कालिगण्डकीको किनार लिङ्गेढुङ्गादेखी बलेवा भैरवस्थानको शिर र ढाडाखौरसम्म फैलिएकाले पनि विकासका कामले जनताको चित्त बुझाउन चुनौती नै छ । तर सत्ता पक्षिय जनप्रतिनिधिलाई मार्गदर्शन र साझेदारीको आवश्यक हुन्छ । प्रतिपक्षमा रहेका दलका प्रतिनिधि, निर्वाचनमा पराजित उमेदवार र पुर्व जनप्रतिनिधिहरुले समाजसापेक्षित रुपमा आ–आफ्नो भुमिका र जिम्मेवारी बहन गर्न सके अवश्य पनि समाजले गति पाउँछ । समाज विकासमा सत्ता पक्षभन्दा प्रतिपक्षमा रहने प्रतिनिधिहरुको भुमिका महत्वपूर्ण हुन्छ । सत्तासीन व्यक्तिले गर्न लागेका सकारात्मक काममा स्याबासी र नकारात्मक काममा खबरदारी गर्नु राजनैतिक अनुशासन र मर्यादा हो । अमलाचौर राजनैतिक नेताकार्यकर्ता मात्र जन्मिएको ठाउँ होइन । यहाँ देश–विदेशमा चर्चा कमाएका सफल व्यवसायी चन्द्र ढकाल, हेमराज ढकाल, दक्ष पौडेललगायत ख्याती प्राप्त कलाकार, न्याय क्षेत्रदेखि नेपाल सरकारका उच्चपदस्थ अधिकारी र प्राज्ञिक व्यक्तित्वहरु जन्मिएको ठाउँ हो । यसर्थ पनि यस क्षेत्रको विकासमा व्यक्ति सम्मान र सहकार्य गर्न सकेको खण्डमा समाज परिवर्तन र उन्नयनको कार्य गर्न सम्भव देखिन्छ । राजनैतिक प्रतिनिधिहरुले समाजसापेक्षित कार्यलाई जोड दिएर नीतिगत विकासका अवधारणा ल्याउन सके समाजसेवी, बुद्विजिवी, शिक्षक, कर्मचारी, व्यवसायी र देश–विदेशमा रहेका जनताले अवस्य सहयोग गर्छन् । तर नीति नियमको अभावका कारण समाज विकासका कार्यहरू अवरुद्ध बन्छन् । हाम्रो सामाजिक र राजनैतिक समस्या भनेको आफु पुर्वका जिम्मेवार व्यक्तिलाई काम गर्न नदिने र आफुले पनि नगर्ने प्रवृत्ती हो । अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुलाई दोष दोषारोपण गर्ने र आफू महान बन्ने प्रवृत्ति खेदजनक छ । अरुको कामलाई दोष लगाएर निशेधको राजनीति गर्नुभन्दा आफुपुर्वका जनप्रतिनिधिहरुले प्रारम्भ गरेका कार्यलाई पुर्ण गरेर अगाडि बढ्नु राम्रो र बुद्विमानी होला ।

दलीय व्यवस्थामा आफ्नो जीवन पुर्ण रूपमा आवद्ध गरेका स्वतन्त्र प्यानलका अध्यक्ष कोपिलामणी शर्माको राजनैतिक जीवन २०३६ सालबाट प्रारम्भ भएको थियो । सोही समयमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएका शर्माले २०४६ सालदेखि हालसम्म नेपाली कांग्रेसको गा.वि.स (हाल वडा) पार्टी सभापती भइ काम गरेका थिए । वि.सं २०४८, २०५४ र २०७४ मा ‘रुख’ चिह्न लिएर चुनावमा भागलिएका उनले तिनै पटक पराजय व्यहोर्नुपर्यो । अहिले २०७९ को पालिका निर्वाचनमा पाँच दलिय गठबन्धनले आफ्नो पाटिलाई टिकट नदिएर राजमोलाई दिएपछि विद्रोही बनेका शर्माले गठबन्धनको निर्णयलाई अस्विकार गर्दै स्वतन्त्र प्यानल दर्ता गरेका थिए । अन्ततः उनी सफल भए । निर्वाचनमा नेकपा एमालेका गुरुदत्त पाठकले ८०१ मत ल्याउँदा उनले १३३८ मत पाएर विजयी भए भने लोकनाथ शर्माले १७८ मत प्राप्त गरे । आफ्नो जीवनको ३ दशक लामो राजनैतिक यात्रा नेपाली कांग्रेसको संगठनका लागि खर्चेका शर्मालाई ‘रुख’ चिह्नबाट नभई ‘मुढा’ चिह्नबाट जनताले विश्वास गरे ।

जनताले राजनीतिमा नपत्याएका उनलाई राजनैतिक परिधीभन्दा बाहिर पत्याए । जनताको यो विश्वास र अभिमतको कदरमा अमलाचौरबासीले शर्माको अग्नप्परिक्षा जरुर लिनेछन् । दल र दलका चुनाव चिह्नमाथि नै अप्रत्याशित रुपमा प्रतिबन्ध लगाउन सफल भएको शर्माको प्यानलले विकास निर्माणका काम र जनताको मनोभावनालाई सर्वोपरि मानेर काम गरोस् । जनमतको सम्मान होस् । शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->