पोखरा/ पोखरा महानगरको कार्यपालिका सदस्यहरुको चुनाव आज हुँदैछ । निर्वाचन आयोगले ८ जना कार्यपालिका सदस्यको लागि प्रतिस्पर्धामा उत्रिएका महिला तथा दलित एवं अल्पसंख्यक सदस्यको नामावली प्रकाशित गरिसकेको छ । ३ जना दलित र अल्पसंख्यकको लागि ६ जनाको उम्मेदवारी परेको छ भने ५ जना महिला सदस्यमा १० जनाको उम्मेदवारी रहेको छ ।
एमालेले महिला सदस्यहरुको लागि धनकुमारी पोख्रेल, निर्मला पौडेल, भिमकुमारी पुन गर्बुजा, मन्दिरा परियार र हरिमाया विश्वकर्मालाई उम्मेदवार बनाएको छ । उनीहरुले सूर्य चुनाव चिन्ह पाएका छन् । यता कांग्रेसले डाल्डादेवी भुजेल, दुर्गादेवी केसी थापा, पवित्रा थापा, भावना श्रेष्ठ र रनसुबा गुरुङलाई रुख चुनाव चिन्हसहित मैदानमा उतारेको छ ।
द्यलित तथा अल्पसंख्यकमा एमालेको तर्फबाट गोविन्द तुलाचन, दीपक घिमिरे र निर्मल दियाली उम्मेदवार छन् । सोही पदको लागि गठबन्धनमा रहेका दलहरुले सिट बाँडेका छन् । नेपाली कांग्रेसले दलित तथा अल्पसंख्यकमा सिटद लिएको छैन । ३ सिट माओवादी केन्द्र,जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले बाँडेका छन् । माओवादीले भिमबहादुर सार्की,जनता समाजवादीले पानबहादुर घर्ती तथा नेकपा एकीकृत समाजवादीले लालबहादुर विकलाई उम्मेदवार बनाएको छ । उनीहरु क्रमशः गोलाकारभित्रको हसिँया हठौडा,ढल्केको छाता र कलम चिन्हसहित मैदानमा छन् । यी उम्मेदवारलाई निर्वाचित जनप्रतिनिधिहरुले नै मत हाल्ने हो ।
पोखरा महानगरमा १६७ जना मतदाता छन् । ती मध्ये मेयर, एक स्वतन्त्रसहित २४ वटा वडाध्यक्ष र वडा सदस्य गरी ८१ मत रहेको छ । एमालेसँग उपमेयरसहित ८६ जना मतदाता छन् । एमालेको सबै मत आफ्नै उम्मेदवारलाई जाने हो भने निर्वाचनमा एमालेका सदस्यहरुले जित्ने निश्चित छ । तर, गोप्य मतदान भएकाले गठबन्धन र एमाले दुबैले चुनावको अघिल्लो दिनदेखि नै मतको संरक्षण गरिरहेका छन् । दुबैले पोखरा महानगर कार्यपालिकामा निर्वाचित आफ्ना सदस्यहरुलाई होटलमा राखेका छन् । स्रोतका अनुसार बिहान १० बजे मतदान सुरु हुँदा दुबै पक्षले मतदातालाई निर्वाचन आयोगको कार्यालयमा ल्याउने भएका छन् । एमालेले आफ्ना प्रतिनिधिहरुलाई पोखराको नौडाँडामा रहेको हिमालयन देउराली होटलमा राखेको छ भने गठबन्धन पक्षधरहरु पोखरा लेकसाइडको कान्तिपुृर होटलमा राखिएको छ ।
एमालले सोमबारदेखि नै जनप्रतिनिधिहरुलाई प्रशिक्षणमा लगिएको र प्रशिक्षण सकिएपछि उनीहरु घरघर गएको दावी गरेको छ । प्रशिक्षण भनेर लगिएका उनीहरुलाई आफ्ना उम्मेदवारलाई भोट हाल्न सिकाइएको छ । गठबन्धनका उम्मेदवार फरक चुनाव चिन्ह लिएर उठेकाले र भोट बदर हुनसक्ने सम्भावना रहेकाले होटलमा राखिएको कांग्रेसका एक प्रतिनिधिले बताए । अघिल्लो वर्ष प्रदेश सरकार परिवर्तनको समयमा पनि दलहरुले सांसदहरुलाई यसरी नै होटलमा राखेका थिए ।
एमाले पोखरा नगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले मंगलबार बिहान नै एमालेको तर्फबाट विजयी बनेका कार्यपालिका सदस्यहरुलाई प्रलोभनमा पार्न खोजिएको आरोप लगाएका थिए । उनले सामाजिक सञ्जालमा भनेका छन्,‘ पोखरा महानगर कार्यपालिकाको निर्वाचन भोलि हुन लागिरहेको छ । नेकपा एमालेको दलको बैठक बसिरहेको छ । हाम्रो पार्टीको तर्फबाट विजयी नगर परिषद सदस्यलाई फोनमार्फत लोभ देखाउने, अनेक हथकन्डा अपनाउने केही नसकेपछि परिवारका सदस्य लाई घरबाट अपहरण शैलीमा उठाउने जस्ता असाध्यै घृणित कार्य गर्न थालिएको छ । यस्ता घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी लोकतान्त्रिक मुल्य मान्यता र पार्टी प्रणालीमा विश्वास गर्दछ । तर, यस्ता हर्कतविरुद्ध कुनै पनि कदम उठाउन नपरोस् पोखर महानगरका नवनिर्वाचित मेयर साब अल्लि सम्मालिनुहोस् अनुरोध छ ।’





