बेनी/ म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला र ८ कुइनेमंगलेका दुर्गम बस्तीहरूमा सञ्चारको पहुँच पुगेको छ । विगतमा टेलिफोन र इन्टरनेटको पहुँचका लागि अग्ला डाँडा र रुखमा चढेर नेटवर्क खोज्नुपर्ने बाध्यता हटेको छ । रघुगंगा गाउँपालिका–७ चिमखोलाको पुस्तिबाङ डाँडामा अस्थायी रुपमा विद्युतको पोलमा बिटियस जडान गरेर सेवा सुचारु गरिएको नेपाल टेलिकम म्याग्दीका प्रमुख दामोदर सिम्खडाले बताए ।‘अब प्राविधिक काम मात्रै बाँकी छ,छिटै स्थायी संरचनाबाटै सेवा सुचारु हुन्छ’,कार्यालय प्रमुख सिम्खडाले भने । समुन्द्री सतहदेखि २ हजार ६ सय मिटर उचाइमा रहेको पुस्तिबाङ डाँडामा टेलिकमको २५ मिटर अग्लो टावर निर्माण गर्ने योजना रहेको छ ।
तत्कालको लागि टुजी र थ्रिजीमार्फत् भ्वाइस र डाटा एकसाथ सञ्चालनमा आएको र पक्की टावर निर्माण भएपछि अत्याधुनिक प्रविधिको चौथो पुस्ताको फोरजी मोवाइल सेवा सञ्चालनमा आउने टेलिकमले जनाएको छ । टेलिफोनको टावर विस्तारसहित महत्वपूर्ण उपकरण राख्नका लागि गाउँपालिकामार्फत् टावर परिसरमा भवन समेत निर्माण भएको चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजा (रिम)ले बताए । टावर बनेपछि चिमखोलाको जस्लाबाङ, पात्लेखेत, गौडामाुनी, नगलडाँडा, कुइनेमंगलेको मंगलेखानी, घ्यासीखर्क, दुवाडी, ढाँड, पात्लेखर्क, चौरखानी लगायतका दुर्गम बस्तीहरुमा मोवाइल फोनको सहज पहुँच पुगेको छ ।
टेलिफोनको टावरका लागि कुइनेमंगलेका वडा अध्यक्ष गमान छन्त्यालले विगतमा गरिएका प्रयास सफल भएको बताए । उनले चिमखोलाको टावरबाट पहुँचमा नपुग्ने बस्ती भेटिएमा थप प्रविधिको जडान समेत गरिने बताए । दुर्गम र विकट रहेको उक्त स्थानमा मोबाइल सेवा सुचारु भएसँगै पहिले डाँडातिर पुगेर बल्लतल्ल कुराकानी गर्नुपर्ने, इन्टरनेटको पहुँचबाहिर रहनुपर्ने बाध्यता हटेको रितुङ मावि कुइनेमंगलेका शिक्षक याम घर्तिमिरेले बताए । ‘अब अग्लो रुख खोज्न जानुपदैन्,अब शैक्षिक गतिविधिमा पनि धेरै सहज हुन्छ’, उनले भने । विद्यालयमा इन्टरनेटको माध्यमबाट पठनपाठन सहजदेखि विदेशमा रहेका स्थानीयलाई समेत सामाजिक सञ्जालमार्फत् नियमित सम्पर्कमा सहज भएको छ ।





