प्यारो छोरी रुयासामा शुभ आर्शिवाद साथै सु–स्वास्थ्यको कामना…
छोरी रुयासालाई चिठी पत्रको सवालमा सम्झाउने र बुझाउनको लागि प्रयास सानो मात्रामा रहेको छ । छोरी जस्तै पाठक वर्गका लागि पनि सार्वजनिक हुँदैछ । आशा एव विश्वास छ कि सकारात्मक सोचको हाबी हुनेछ र नकारात्मक सोचप्रति वितृष्णा जगाउने छ । पत्रमा लेखेको विषयवस्तु भाबी सन्ततीका लागि ग्रहणयोग्य हुनेछ । पत्रलाई पत्रपत्रिकाको पानामा मात्र सिमित नराखी जागृतीपनाको भावना विकास गर्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
छोरीले व्यवहारमा सधै उदारता, सत्यता, सरलता र मधुरता विकास गर्नुपर्दछ । कटुताको विरोधी हुँदै व्यवहारमा करुणा हुनुपर्दछ । जीवनलाई सु–संस्कृत एवं सभ्य वातावरणमा जिउन पाउने मानिसको आधारभूत आवश्यकतालाई आत्मसात गर्ने सभ्य नागरिकको हैसियतमा पुग्नु पर्दछ । घरको वातावरणमा शान्त, प्रेमल हुनुपर्दछ भन्ने वातावरण सकारात्मक व्यवहारको अपेक्षा गर्न सजिलो हुनुपर्दछ । प्रदुषित सोचले आन्तरिक मन, चेतना र जीवनशैलीमै प्रभाव पार्ने भएकोले सकारात्मक वातावरण निर्माणमा जोड दिनुपर्दछ । नकारात्मक सांस्कृतिक वातावरणले व्यक्ति, समाज र राष्ट्रमै अशान्ति उत्पन्न गर्ने भएकोले नकारात्मक सोचलाई तिलाञ्जली दिनुपर्दछ ।
सुरक्षा, शान्ति, करुणा, सभ्यता जस्ता गुण आन्तरिक र बाह्य दुवै प्रकृतिको लागि आवश्यक छन् । सुन्दर, न्यायमुलक, समतामुलक, करुणावान्, प्रेमल संस्कार र जीवनशैली पाएका व्यक्तिसँग सकारात्मक अनुभव हुन्छ । हामीले घरबाटै सु–संस्कृत र सभ्य व्यवहार सिकाउन सक्यौ भने भविष्यमा सभ्य नेतृत्वको निर्माणमा सघाउ पुग्न सक्दछ । व्यक्तिको जीवन विकासमा औपचारिक र अनौपचारिक दुवै थरीको शिक्षाले महत्वर्पुण भुमिका खेलेको हुन्छ । शैक्षिक योग्यता मात्र शिक्षाको मानक होइन । हामीसँग बाहिरी जानकारी र सूचना प्रशस्त छन् तर आन्तरिक ज्ञान, समझ र विवेकको सधै अभाव र अपूर्णता महसुस हुन्छ । जीवन कसरी शान्त, संयम, करुणावान भएर बाँच्न र समाजमा सकारात्मक योगदान दिन सकिन्छ, त्यो ज्ञान शिक्षाको रुपमा विकास भएको हुुनुपर्दछ । नकारात्मक मानसिकता, अस्वस्थ शरीर जस्तै नै हुन्छ । नकारात्मक मनोवृत्ति विकासको बाधक हो । तनाव, क्रोध, लालच, द्धेष सबै नकारात्मक मनोवृत्तिका परिणाम हुन् ।
छोरी रुयासा सत्यको आचरण गर्नु सदाचार हो । सही आचरण, शिष्ट व्यवहार, अनुशासित जीवनशैली नै सदाचार हो । धन, सम्मान, शिक्षा, पदभन्दा ठुलो सम्पत्ति सदाचार हो । आत्मबलको अभाव, आत्मियताको अभाव, वैरभाव र दृष्ट प्रवृत्ति राजनीति हो भनेर बुझन थालिएको आजको नेपाली परिवेशमा गुणवत्ता विकास गरी सामाजिक हितमा कार्य गर्नको लागि सदाचार, इमान्दारिता, नैतिकतामा रहन सक्नुपर्दछ । महिलाको सिटमा पुरुष बसिरहेको हुन्छ । अपाङगता, जेष्ठ नागरिकहरुको सिटमा जवान व्यक्ति बसिरहेको हुन्छ । अशक्त, सहाराविहिनलाई सहानुभूति देखाउनुपर्दछ । सरकारको भुमिका र कार्य अनुभूति जन्य हुनका लागि गैरनैतिक चरित्र हटाई कसैलाई पनि भेदभाव नगर्ने, समानताको सिद्धान्त, सेवा प्रवाहमा वैधानिकता, जनताप्रति उत्तरदायी पारदर्शिता, नागरिक सन्तुष्टिलाई ख्याल राखी संरचनाको पिँधमा परेको कमजोर वर्गलाई लाभ दिने खालको क्रियाकलाप हुनु जरुरी छ ।
छोरी रुयासा बाबा आमा आफनो काममा जानुपर्ने र बालबालिकाहरु मोबाइललगायत विद्युतीय ग्याजेटमा मस्त भुल्छन् । हाम्रो पालामा घरबाहिर बालबालिका खेलेर भुल्ने खालका खेल खेल्थे । तर आजकल घरमा बालबालिका एक्लै हुने धेरै सम्भावना हुन्छ । घरमै भए पनि बच्चाहरु असुरक्षित हुने भिडियो खेलहरु खेल्ने खतरा हुन्छ । आफनो समय तालिका अनुसार घरमै असुरक्षित हुने वातावरण बारेमा छोरी विज्ञ हुनु पर्दछ । घरभित्रका बालबालिका अपहरणमा पर्ने, हराउने, एसिड आक्रमणमा पर्ने, बलात्कारको सिकार हुने, घरेलु कामदारका रुपमा काम गर्नुपर्ने, दुर्घटनाको सिकार हुने, बेचिने, लागुपदार्थको लतमा फस्ने, सामाजिक सञ्जालका कारण यौन दुव्र्यवहारमा पर्ने जस्ता क्रियाकलापका कारण हाम्रा बालबालिका दिनदिनै असुरक्षित भइरेको अवस्थाबाट सचेत भै सुरक्षित हुन जरुरी छोरी ।
छोरी रुयासाले बुझनु पर्दछ की आजका निर्दोष बालबालिका भोलिका कर्णधार हुन् । देशका सुनौला भविष्य हुन् । आमा बुबाको बुढेसकालका सहारा हुनर । संसार चलाउने कडी हुन् । घरमा बालबालिका नहुनु भनेको पुस्ताको अन्त्य हुनु हो । संसार मानवविहिन हुँदै जानु हो । बालबालिका आफना मात्र नभएर जुनसुकै, जो सुकैका बालबालिका भए पनि रक्षा गर्नु सबैको कर्तव्य हो । कलिला निष्पाप बालबालिकाको उज्वल भविष्यको कामना गर्नु, बालबालिकाको अधिकारको रक्षा गर्नु, बालबालिकालाई हानी हुने काम नगर्नु नै सबैभन्दा ठुलो धर्म हो । भगवान खोज्न मन्दिरमा जानु पदैन । साना अबोध बालबालकिाका आँखामा हे¥यो भने भगवान त्यतै भेटिन्छन् । बालबालिकाहरुलाई माया र सुरक्षा प्रदान गुर्न नै मानव कर्तव्य हो ।
छोरी रुयासालाई आम निर्वाचनका बारेमा थाहा हुनुपर्दछ । सही मताधिकार प्रयोग गर्ने अवसर आएको छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही हुँदैनन् रे । नेपालीले नेपालीलाई शत्रुको नजरबाट हेर्नु पनि हुँदैन । विकास भाबी रणनीति घोषणापत्र वा प्रतिवद्धतापत्र उल्लेख भएबमोजिम कार्यान्वयन भएको छ कि छैन भन्ने खबरदारी गर्ने बेला आएको छ । फेरी राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन भन्ने जननेता मदन भण्डारीको भनाइलाई आत्मसात गर्नुपर्ने बेला आएको छ ।
छोरी रुयाासालाई हिसाब देखाउन चाहान्छु ।
एशियाको दोस्रो गरिब मुलुक भएर पनि यति धेरै खर्च झन्डा र ब्यानर बनाउनमा बिभिन्न राजनीतिक दलले गर्दैछन्, एउटा स्थानीय निकायमा १०००० वटाको हाराहारीमा झन्डा प्रयोग भएको देखिन्छ यसरि हेर्दा १०००० × ७५३ = ७५३०००० वटा जम्मा झन्डा प्रयोग भए, एउटाको खर्च सालाखाला ५०००, अब जम्मा खर्च ७५३००००×५००० = ३७६५००००००० (सैतिश अरब पैसठी करोड) संघिय गतन्त्रको उपलब्धि यहि त होला, यसरी फाल्तु खर्च कटौती गरेमा देश कहिले गरिब हुँदैन ।
फजुल खर्च दैनिक जीवनदेखि सरकारी बजेटसम्म लागु हुन्छ । बजेट घाटामा गइरहेको अवस्था छ । बैदेशिक मुद्रा सञ्चिितमा गिरावट आएको अवस्था छ । फजुल खर्चको नमुना मात्र हो । भोजभतेर, रक्सी, मासुको खर्चको हिसाबकिताब गर्ने हो भने खरबौ हिसाबको फेहरीस्त आउन सक्छ । गरिब देशका लागि गरिब नागरिकले गर्न सुहाउने विषय वस्तु होइन ।
छोरी रुयासाले नेपाल राष्ट्र बैकको सहायक चौथौ तहमा परिक्षा दिनका लागि फाराम भरेका छौ । रोजगारी खोज्नु बेरोजगारी जनशक्तिको प्रमुख कर्तव्य हुन आउँछ । राष्ट्र बैक केन्द्रिय बैंक हो । बैंकहरुको पनि बैक हो । सरकारको आर्थिक सल्लाहकारसमेत हो । त्यसैले राष्ट्र बैकमा जागिर खान खोज्नु आफैमा राम्रो लगाव मानिन्छ बाआमाको लागि । निरन्तरको लगावपछि परिणाम आउने हो । अध्ययन र लेखाइलाई निरन्तरता दिन चुक्नु हुँदैन । बोलेको कुरा पु¥याउनु पर्दछ । छोरी रुयासाले प्रति उत्तरमार्फत बाबालाई पत्र लेख्ने वाचा गरेको हो । खै पत्र लेखेको त । छोरीले पत्र लेखेमा सो पत्रलाई म पत्रिकामा प्रकाशित गरिदिने छु है । पत्रमा गन्ठन मन्थन लेख्दा साथीहरुले हाँसीमजाकमा उडाउन सक्दछन् । र तिमी मजाकको पात्र बनाउन सक्दछन ।
त्यस क्रियाकलापबाट कत्ति पनि बिचलित नभई आफनो गन्तव्यमा पुग्नका लागि प्रतिवद्ध हुनुको विकल्प छैन । गन्तव्यमा पुग्नका लागि संघर्षका कठिनाइमुलक पाइलाहरु चाल्नुको विकल्प जिन्दगी सामु छैन । सकारात्मक सोचका साथ पाइला चाल्दै विगतमा लेखेको पत्रहरुको समिक्षा गर्दै र निष्कर्ष निकाल्दै सदा उन्नती र प्रगतीको पथमा पाइला चालिरहनु है भन्दै पत्रमा भन्न छुटेका विषय वस्तुलाई मौखिक तरिकाले व्यक्त गरुला । समाजका मानिसहरुमा रहेका विवाह, छेवर, छैठी, मृत्यु सँस्कारका बारेमा साक्षात्कार हुनु पर्दछ । मौखिक रुपमा भन्न छुटेका भनाईलाई अर्को पत्रमा लेखुला भन्दै आमा रुपकदेवी र भाई हिम्मत थापालाई लेखेको पत्रसमेत अध्ययन गर्ने बानीको विकास गनुपर्छ भन्दै पत्रलाई अन्त गर्न चाहान्छु ।
उही बाबा
बागलुङ नगरपालिका १० भकुण्डे





