लमजुङ छाडेर मनाङ प्रवेश गरेसँगै देखिने पहिलो सुन्दर गाउँ हो ताल । ‘मनाङ जिल्लामा स्वागत छ’ लेखिएको ठूलो स्वागत द्धार देखेपछि २८ वर्षपछि नेपाल आएका इजरायली नागरिक गाइ हालपरिन विगतमा फर्कन्छन् । ‘त्यतिबेला लमजुङ बेसीशहरसम्म मात्र सडक पुगेको थियो । त्यसपछि पुरै पदमार्गहरुलाई पछ्याउँदै मनाङ, थोराङ्ला पास गरी मुस्ताङ प्रवेश गरी २३ औं दिनमा अन्नपूर्ण फेरो पदयात्रा गरी घोडेपानी, उल्लेरी हुँदै कास्कीको नयाँपुल आइपुगेर यात्रा टुंगाएको थिए । अहिले ती पुराना पदमार्गहरु माँसेर सडक विस्तार गरिएका रहेछन् । भीर खोपेर सडक बनाएर खङसारसम्म पुगिसकेछ तर पर्यटनले थेगेको यस ठाउँमा भने पदमार्गको संरक्षण र स्तरोन्नति हुन नसक्दा भने मन अमिलो बन्यो । पुराना र परम्परागत पदमार्गहरुलाई जोगाइराख्न चुनोतीपूर्ण कार्य नै हो ।’
नेपाल र अन्नपूर्णलाई माया गरेर एकपटक हैन, धेरै पटक नेपालसम्म मनलाई दोहो¥याउने पर्यटकहरुको जमात ठूलै हुन्छ । अनि पदयात्रामा डाँडाकाडा पुग्नेहरुको संख्या नै बृहत नै छ तर हरेक वर्ष अव्यवस्थित सडक विस्तार र पदमार्गको कमजोर व्यवस्थापन र स्तरोन्नति हुन नसक्दा भने अन्नपूर्ण सेरोफेरोको पदयात्राको स्तर खस्कदो छ । तीन चार दशक अघिको त्यो अन्नपूर्ण पदयात्राको साख जोगाइराख्न अहिलेकाहरुलाई हम्मेहम्मे नै परेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सरकारले २०४२ सालमा लमजुङ, कास्की, मुस्ताङ, म्याग्दी र मनाङका साविक ५७ गाविसमा पर्ने ७ हजार ६२९ वर्ग किलोमिटर क्षेत्रलाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरिएको थियो । यसै संरक्षित क्षेत्रभित्र पर्दछ, विश्वमै प्रसिद्ध नामी अन्नपूर्ण सर्किट पदमार्ग । अन्नपूर्ण हिमाललाई फेरो लगाएर देश फर्कनलाई धेरै पर्यटकहरु लालायित हुन्थे । आजकल न ती पुराना पदमार्गहरु भेटिन्छन्, न तिनताका पदयात्रा गर्दा जतिको सुखानुभूति । समय फेरियो, समयसँगै सबथोक फेरिए ।
लमजुङको बेसीशहरबाट सुरु भएर मनाङ, थोराङ्ला पास कटेर मुस्ताङ प्रवेश गरी म्याग्दीको घोडेपानी हुँदै कास्कीको नयाँपुलमा आएर सम्पन्न हुने महिना दिनको पदयात्राको नाम विश्वभर फैलिएको थियो । अनि ओइरिन्थे वार्षिक रुपमै हजारौं र लाखौंको संख्यामा पर्यटकहरु । आजको दिनमा समय फेरिएको छ । अव्यवस्थित सडक विस्तारका कारणले महिना दिनको अन्नपूर्ण फेरो पदमार्ग खुम्चिएर हप्ता दिनमा झरिसकेको छ ।
बेसीँशहरबाट सुरु भएको पदयात्रा पाँचौ दिनमा मात्र मनाङ पुग्थ्यो । सडक पुगेसँगै भने पर्यटकहरु काठमाडौंबाटै पहिलो दिनमै मनाङ पुगिदिन्छन् । यसले पर्यटकको पदयात्राको समय वा नेपालमा पर्यटकले बिताउने समय मात्र छोटिएको छैन, सँगै सुकेका छन् बीचमा पर्ने धेरै होटल व्यवसायीहरु । अनि सुकेका छन् आर्यआर्जनका स्रोतहरु पनि ।
लमजुङको स्याङ्गेमा दशकौं होटल चलाएर जीविका चलाएका व्यवसायी हुन् तुलसी गुरुङ । आँगनबाटै मोटर बाटो मनाङ माथि माथि पुग्न थालेसँगै पर्यटकहरुको यहाँको बसाइ र यहाँकोल व्यापार व्यवसाय दुवै पातलिँदै गएको उनी बताउँछन् । ‘आधारभूत पूर्वाधार र सुविधाहरु उपयोग गर्न पाउनु आम नागरिकको नैसर्गिक अधिकार हो तर पदमार्गलाई नै माँसेर सडक विस्तार गरिदा र वैकल्पिक पदमार्गहरुको उचित व्यवस्थापन गर्न नसक्दा भने हामी होटल व्यवसायीहरु मारमा परेका छौं । लाखौं करोडौं लगानी गरी सञ्चालनमा ल्याएका होटलहरु बन्द गर्ने अवस्था आएको छ । निकम्ब सरोकारवालाहरुले समयमै हामीलाई राहत दिलाउने खालका कदमहरु चाल्नु आवश्यक छ ।’
गुरुङ एक प्रतिनिधित्व पात्र हुन् । उनीजस्तै कैयौं तल्लो भेगमा होटल व्यवसायी गरेर जीवन चलाइरहेकाहरुलाई अव्यवस्थित सडक विस्तारले उठीबास लगाउन कति बेर लाग्दैन । जहाँ जहाँ पदमार्गहरु थिए, त्यहीँ सिँढीका पदमार्गलाई चक्लाएर सडक बनाए । चौताराहरु भत्काइए, कंक्रित प्रतिक्षालयहरु बने । डाँडा काँटेर भ्यु टावरहरु बने । मोटरले पुत्पुताउने धुँवा खाँदै पदयात्रा गर्न बाध्य पर्यटकहरुले के सोच्दो हो ?
पदमार्गलाई असर नपुग्ने गरी पदमार्गको केही फरक दुरीमा सडक नबनाउँदा एक त पदयात्रीहरु धुलो र धँुवा खान बाध्य भएका छन् भने अव्यवस्थित सडक विस्तारका कारणले उत्पन्न बाढी पहिरोले बाँकी पदमार्गहरुलाई पनि असर पु¥याएको छ । सँगै बगाएका छन् कति मानव वस्तीहरु ।
गुनासाहरु होटल व्यवसायीका मात्र छैनन्, छन् पर्यटकलाई घुमाउने पदप्रदर्शक र सहयोगीका पनि । धादिङका अर्जुन दुरा लामो समयदेखि राजधानी बस्छन् । ट्रेकिङ गाइड बनेर पर्यटकहरुलाई डाँडाकाडा, हिमाल र पहाड डुलाएको पनि वर्षले पन्ध्र लागिसक्यो उनको । उनी आफैं यर्थाथ स्वीकार्दै भन्छन्, ‘तुलनात्मक रुपमा हेर्दा पन्ध्र वर्ष अघि र अहिले पदयात्रा गर्दाको आनन्दमा आकाश जमिनको फरक भेटिन्छ । मेरा पाहुनाहरुको सन्तुष्टिको ग्राफ पनि समयसँगै घट्दै गएको महसुस गर्छु । कारण अव्यवस्थित सडक विस्तार, अव्यवस्थित फोहोर मैला र नचाहिँदो पर्यटन व्यवसायीकरण । उनीहरु आफ्नो व्यवस्त दैनिकीबाट केही महिना वा दिन छुटकाराका लागि नेपाल आएका हुन्छन् तर सडक छेउबाटै धुँवा र धुलो खाँदै पदयात्रा गर्दा भने त्यति खुसी व्यक्त गर्दैनन् ।’
प्रसिद्ध अन्नपूर्ण पदमार्ग खुम्चिदैँ गएसँगै यसमै निर्भर भएका नेपाली गाइड र पोर्टरहरु पनि आर्थिक स्रोतका अन्य विकल्पहरु खोज्ने समय आएको बताउँछन् । मनाङका चन्द्र गुरुङ पर्यटकका भारी बोकेर नामी थोराङ्ला पास कटेर मुक्तिनाथसँग हप्तौं लगाएर आइपुग्थे । अनि अर्कोदिन हिसाब बुझेर त्यहीँ पास कटेर फर्कन्थे । आजकल एक त पदमार्ग खुम्चिएको छ त अर्को रुपमा पर्यटकहरु बिना गाइड पोर्टरनै पदयात्रा गर्छन् । यसले गर्दा पनि उनको कमाइ त्यति राम्रो हुन सकेको छैन ।
मारमा घोडा र खच्चर व्यवसायीः
सडक विस्तारसँगै यातायातका रुपमा प्रयोग गरिदैँ आएका घोडा, खच्चर र चौरीहरुको प्रयोग घट्दै आएका छन् । गाडीले सिधै बेसीँशहरदेखि पर्यटकलाई खाङसार पु¥याइदिन्छ, घोडा व्यवसायी अनिल लामा भन्छन्, ‘सडक गाउँगाउँ पुगेसँगै यातायातका लागि घोडा र खच्चरको प्रयोग घटेपनि घोडा यात्रालाई पर्यटनको अर्को पाटोका रुपमा विकास गरिनुपर्नेछ । नजिकका पर्यटकीय गन्तव्यहरुसम्म घोडामा सफर गराउने व्यवस्था गर्न सकिए हामीजस्ता साना व्यवसायीहरुलाई केही राहत मिल्दो हो ।’
यो नामी रुट मात्र हैन, अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने अन्य पदमार्गहरु पनि सडकले बिथोलेका छन् । विश्वको अर्को उत्कृष्ट दश गन्तव्यमा परेको पदयात्रा हो, अन्नपूर्ण आधार शिविर पदमार्ग । बाग्लुङ पोखरा सडक खण्डको नयाँपुलबाट यात्रा सुरु भएर पाँचौ दिनमा पदयात्रीहरु आधार शिविर पुग्ने गरेकोमा अहिले सडक विस्तारका कारणले तेस्रो दिनमै त्यहाँ पुग्छन् । तिखेढुंगा, उल्लेरी, घान्दु्रक र झिनु डाँडा जस्ता ठाँउहरुमा सडक पुगेसँगै यस क्षेत्रमा पर्यटकको बसाइँ पनि घटेको छ । यता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर के.सी. पनि सडक विस्तारले पदयात्रामा पु¥याएको असरलाई स्वीकार्दै बताउँछन्, ‘सडक विस्तारसँगै नराम्रा मात्र हैनन्, कति उल्लेखनीय विकासका परिवर्तनहरु पनि भएका छन् । अब सडक विस्तारलाई व्यवस्थित गर्दै पदमार्गहरुको स्तरोन्नति गर्ने जिम्मा हाम्रो गाउँपालिकाको समेत रहनेछ । अबको पाँच वर्षको कार्यकालमा हाम्रो टोलीले केही उल्लेखनीय योगदानहरु गर्ने अभिलाषा हामीले राखेका छौं ।
अधिकारको झगडाः
समुदायको सहभागितामा सञ्चालित एक्यापलाई संरक्षण क्षेत्रमा विश्वकै एक सफल मोडेलका रुपमा लिइन्छ तर नेपालको परिपेक्ष्यमा भने पछिल्लो समय स्थानीय सरकार र संघीय सरकारबीच अधिकार बाँडफाडका विषयमा किचलो निस्किएको थियो । स्थानीय तहमा रहेका प्राकृतिक स्रोतसाधन व्यवस्थापनको जिम्मा संविधानमै स्थानीय सरकारको भएको र शर्त अनुसार नै स्थानीयलाई हस्तान्तरण गर्ने भएकाले व्यवस्थापनको पाटो स्थानीय सरकारले पाउनु पर्ने उनीहरुको जिकिर कायमै छ ।
अन्नपूर्ण क्षेत्रमा पदयात्रा गर्ने पर्यटकबाट लिइने शुल्क पनि एक्यापले नै उठाउँदै आएको छ । एक्याप व्यवस्थापन आयोजना कार्यालयका अनुसार पदमार्गमा जाने पर्यटकबाट वार्षिक रुपमै रु. १५ करोड भन्दा बढी रकम शुल्कका रुपमा उठाइन्छ । सार्क राष्ट्र बाहेकका पर्यटकबाट मात्र सन् २०१८ मा रु. २० करोड राजस्व उठाइएको थियो । त्यसैले हस्तान्तरणमा देखिएको किचलोको मुख्य कारण नै यस पदमार्गबाट संकलित राजस्व रहेकोमा कुनै दुई मत छैन ।
यता व्यवस्थापनको सबै जिम्मेवारी स्थानीय तहलाई एकै पटक दिदा व्यवस्थापन पाँटो फितलो बन्ने वन तथा वातावरण मन्त्रालयको धारणा रहेको छ । यस किचलोले एक त यस क्षेत्रमा व्यापार व्यवसाय गर्ने व्यवसायीहरु मारमा परेका छन् भने अव्यवस्थित सडक विस्तार, वैकल्पिक पदमार्गको अभाव र उचित फोहोर व्यवस्थापन गर्न नसक्दा पर्यटकको संख्या घट्दो क्रममा रहेको देखिन्छ ।
एक्यापको व्यवस्थापन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पछिल्लो पाँच वर्षको लागि थपिएको म्याद पनि ४ माघ २०७६ मा सकिएको हो । म्याद गुज्रिसके पछि भने यसलाई निरन्तरता दिने वा स्थानीयलाई हस्तान्तरण गर्ने विषयलाई छिनोफानो हुन नसक्दा एक्याप अव्यवस्थित बन्दै गएको छ । समयमै निचोड निकाल्नु अत्यन्त जरुरत देखिन्छ ।
अन्त्यमा,
नेपालको अर्थतन्त्रमा पर्यटनले करिब ८ प्रतिशत भाग ओगट्छ । त्यसमा पनि पदयात्राका लागि नेपाल आएका पर्यटकहरुको आर्थिक देनको हिस्सा ठूलो रहेको छ । कोरोनाले थिलथिल परेको नेपालको पर्यटनलाई उकास्नका लागि नेपालका पदमार्गहरुको स्तरोन्नति, नयाँ पर्यटकीय गन्तव्यहरुको खोज र प्रचारप्रसार एवं यस्ता संरक्षित क्षेत्रहरुको व्यवस्थान पाटोलाई समयमै टुंगो लगाउनुपर्छ । यति गर्न सकेमा पक्कै पर्यटन क्षेत्रलाई केही राहत मिल्ने थियो कि ?





