पोखरा/ तत्कालिन समयमा गण्डकी अञ्चल एथलेटिक्समा अब्बल थियो । अहिलेको दाजोमा पहिला गण्डकी निकै बलियो थियो । खड्ग रानाभाट, योगेन्द्र बस्नेत जस्ता खेलाडीले गण्डकी हाकीँ रहँदा पदक नआउने आसै थिएन् । तीनै खेलाडी मध्येका योगेन्द्र बस्नेतको अहिले अस्ताएका छन् कहिल्यै नउठ्नेगरी । एथलेटिक्सका अग्रज राष्ट्रिय खेलाडी योगेन्द्र बहादुर बस्नेतको निधन भएको हो । तत्कालिन समयमा ४ सय, ८ सय र १५ सय मिटरको अब्बल बस्नेतको ७५ वर्षको उमेरमा निधन भएको हो । स्वास्थ्यमा समस्या आए पछि उपचारको क्रममा रहेका उनको मृत्युभएको हो ।
शुक्लागण्डकी नगरपालिका वडा नं ३ बनकिया उदिनढुङ्गामा जन्मिएका उनी हाल पोखरा १० अम्वरसिंहमा बस्ने उनी तत्कालिन सोल्डर वोर्डिङ र हालको अमरसिंह माविका विद्यार्थी हुन् । पोखरामै हुर्के बढेका उनी पोखराबाटै उदाए । नेपाल भुतपूर्व खेलाडी मञ्चका संस्थापक सदस्य, नेपाल ओलम्पिक कमिटि स्पोटर्स फर अल कमिसन गण्डकीका सदस्य तथा कास्की जिल्ला तेक्वान्दो संघका सल्लाहकार समेत रहेका उनी २०१८ सालमा एथलेटिक्स तर्फ गण्डकीको नेतृत्व गरेका थिए । भने, २०२८ सालमा जिल्ला शिक्षा अधिकारी समेत भएका थिए ।
गण्डकीको नेतृत्व गर्दै गर्दा उनलाई हराउन निकै कठिन थियो । एथलेटिक्समा अब्बल खडा भएका उनले ४ सय रिलेमा ६ वर्षसम्म लगातार स्वर्ण पदक दिलाइरहे । गण्डकीको प्रतिनीधित्व गरेका उनी लगातार अघि बढ्दै गए अघि बढ्दै जाने क्रममा २०१७ सालमा एसियन कपको तयारी हुदैँ गर्दा राष्ट्रिय टिमका लागि बन्दसत्रमा रहेपनि खुट्टामा समस्या आएपछि प्रतियोगितामा सहभागिता हुन पाएनन् । तर, गण्डकीका लागि जति योग्दान गरे त्यो अतुलनीय छ । उनी गण्डकीको एथलेटिक्स तारा हुन् ।
शान्त, शालिन, अनुशासित, मिहेनेती र आफु सकिएर पनि अरुलाई उठाउने स्वभावका उनको निधनले अहिले गण्डकी मात्रै नभई समग्र देशको खेलकुद नै शोक मग्न भएको छ । भारतको एन.आई.एस.बाट एथलेटिक्समा डिप्लोमा गरेका उनले देशमा नयाँ शिक्षा नीति लागुभएसंगै शारीरिक शिक्षाको शिक्षकको रुपमा शिक्षण पेशमा लागे । उनी पेशामा मात्रै लागेनन् । २०२८ सालमा नयाँ शिक्षा ऐन लागु हुदाँ उनी शिक्षा कार्यालयमै थिए । तात्कालिन समयमा जिल्लाका हरेक विद्यालयमा शारिरीक व्यायम गराउनका लागि अभियान नै चलादा सदस्यको रुपमा उनको महत्वपुर्ण भुमिका रहेको संगैको खेलकर्मी अग्रज राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी खड्ग रानाभाट बताउँछन् । रानाभाट भन्छन्, ‘गण्डकी खेलकुदको तारा थिए । कोरियाले अभियाको रुपमा चलाएको मास क्यालेस्ट्रोनिक पि.टि.का नेपालमा उनी विज्ञ थिए ।’ नयाँ शिक्षा ऐन लागु भएसंगै विरेन्द्र शिल्ड, पिटि, शिक्षक तालिम गर्ने जस्ता समिति सदस्यमा समेत बस्नेत रहेका रानाभाट बताउँछन् ।
वस्नेतलले खेलकुदका साथसाथै शिक्षामा समेत योगदान दिएका थिए । जिल्ला शिक्षा अधिकारी, स्थानीय निकाय अधिकारी तथा क्षेत्रिय शिक्षा निर्देशकको रुपमा समेत रहेर सेवा गरेका थिए । रानाभाटले विगतलाई स्मरण गर्दै भने, ‘हामी ४०० मिटर रिलेमा तत्कालिन गण्डकी अञ्चलबाट लगातार छ पटक च्याम्पियन थियौं, त्यसैले पनि बस्नेत सहितको हाम्रो टिम निकै उत्कृष्ट रह्यो ।’
बस्नेतको दुई श्रीमती, २ छोरा र दुई छोरी रहेका छन् । उनको बिहिबार नै अन्त्यष्टि गरिएको छ । उनको निधनमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले गहिरो दुःख व्यक्त गर्दै गण्डकी प्रदेशको खेलकुदले एक सक्रिय अभिभावक गुमाएको जनाएका छन् ।





