पोखरा/ नेपाली कांग्रेसले पोखरा महानगर कार्यपालिकाको दलको नेतामा दिवसमान प्रधानाङ्ग र उपनेताको जिम्मेवारी पूर्ण गुरुङलाई सुम्पेको छ । पोखरा महानगरमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व २३ जनामध्ये दिवसलाई नेता र पूर्णलाई उपनेता बनाइएको कांग्रेस पोखरा महानगरका अध्यक्ष सुरेन्द्रमान विजुक्छेले जानकारी दिए । दिवस वडा नम्बर २ र पूर्ण वडा नम्बर २७ का वडाध्यक्ष हुन् । तरुण दलमा सक्रिय दिवस पहिलोपटक कार्यपालिका पुगेका हुन् भने पूर्णको यो दोस्रो कार्यकाल हो ।

महानगरको प्रवक्ताको जिम्मेवारी पनि कांग्रेसकै वडाध्यक्षले पाउने निश्चित छ । प्रवक्ता चयन गर्ने अधिकार भने गठबन्धनको तर्फबाट मेयर बनेका नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यसँगै रहेको छ । मेयर धनराजसँग आफ्नै पार्टीका वडाध्यक्ष छैनन् । वडा नम्बर २२बाट स्वतन्त्र उम्मेदवार हिमलाल बरालले जितेका छन् । बाँकी एमालेबाट जितेका वडाध्यक्ष हुन् । नेपाली कांग्रेसको तर्फबाट १२ का वडाध्यक्ष सन्तोष बास्तोला र २५ का मोतीलाल तिमिल्सिनामध्ये एक प्रवक्ता बन्ने सम्भावना छ ।





