वर्तमान समाजमा धनी र सम्पन्न बन्ने होडबाजी चली रहदा मानिसहरूले आफ्नो नैतिकता बिर्सिदै गएको पाइन्छ । संघर्षशिल जीवनमा मानिसले आफ्नो परिश्रम र मिहिनेत अनुरुप आफ्नो जीवनलाई धनाढ्यको सुचीमा सुचीकृत गर्नु स्वभाविक प्रक्रिया हो । हो मानिस स्वभावैले परिवर्तन हुन चाहन्छ । ज्ञान, ध्यान, बुद्वी, विवेक र कर्मको आधारमा परिवर्तन हुनु मानव विकासको चरणवद्व प्रक्रिया हो । धन शब्दले मुद्रा वा पैसालाई बुझाउँछ । धनले मानिसको दैनिक जीवन निर्वाहमा सहायता पुर्याउँछ ।
धनले परिश्रम, पुँजी, समय लगाउनु पर्ने मुल्यवान पदार्थ वा वस्तुको पर्याय भएर समाजमा आफ्नो अस्तित्व जमाउँछ । जस्ले भौतिक, विनाशी वा अविनाशी, चलअचल सम्पत्ती घर, खेत, वस्तुभाउ, गरगहना, आभुषण, साधन, सुवर्ण आदिलाई पनि बुझाउने गर्दछ । जस्लाई रुपैयाँ पैसा वा सिक्काको संज्ञा दिइन्छ । लोक व्यवहारका विनिमय प्रणालीलाई सहज बनाउने धनले विद्यमान समाजमा परिवार–परिवार, व्यक्ती–व्यक्ती, बाबुआमा, दाजु–भाई, दिदि–बहिनिको सामिप्यतापुर्ण दुरिलाई बढाएको छ । पुरानो समयमा मानिसमा भएको सीप गुण र ऊ भित्र रहेको कलालाई सर्वश्रेष्ठ सम्पत्ती ठानिन्थ्यो । जस्मा पुराना निति पल्ट्याएर हेर्दा मानिसका सत् मित्र यसरी प्रस्तुत थिए ।
सत्यं माता पिता ज्ञानं धर्मो भ्राता दया सखा ।
शान्तिः पत्नी क्षमा पुत्रः षडेते मम बान्धवाः । ।
सत्य मेरी आमा, ज्ञान मेरा पिता, धर्म मेरो दाजु, दया मेरो मित्र, शान्ति मेरा पुत्र÷पुत्री, यिनै छ जना नै मेरा बन्धु हुन। तर अहिलेको समाजमा माता, पिता, गुरु, दाजु, पुत्र, पुत्री, सबै धन कै महिमा गानमा तल्लिन छन् । पहिले व्यक्तीको पारिवारिक र सामाजिक नाता सम्बन्धलाई नै सर्वश्रेष्ठ सम्पत्ति एवं जीवन ज्युने आधार मानिन्थ्यो । समाजमा रहेका एक व्यक्तिमा भएको यस्तो उदाहरणीय सम्पत्ति बोधक गुणको सबैले खुलेर प्रशंसा गर्थे भने वर्तमान समयमा आइपुग्दा बिस्तारै गरिब, दीनदुखीहरुलाई प्रताडित पार्ने, मानिसका मनमा चोट पुर्याउने गरि धनले गरिबी अवस्थामा प्रताडित मानवीय मनहरुलाई खेल खेलाउने खेलौनाको रुपमा अङ्गालिएको पाइन्छ । परापुर्वकालदेखि विद्यावान व्यक्तिको सम्मान गरिन्थ्यो । हामीहरुले व्यक्ति पुजा होइन, व्यक्तित्व पुजा गर्नुपर्छ । मानवको उत्पत्ति कहाँ भएको होइन । उस्को व्यक्तित्व कस्तो बन्यो र उस्ले समाजलाई कुन मार्गदर्शन प्रदान गरेको छ भन्ने विषय अहिलेको समाजमा मुख्य बनेको छ । तर, मानिसहरु रुप र सम्पत्तिको आडमा महान बन्नेछन् भनेरै पुराना ऋषिमहर्षिले विद्यालाई प्रमुख स्थान दिएका थिए ।
रुपयौवनसम्पना विशालकुल सम्भवा:।
विद्याविहिना न शोभन्ते निर्गन्धा इव किंशुका ।
अर्था्त ठुलो कुलमा जन्म भएको होस्, रुप र यौवनले सम्पन्न भए पनि विद्याविहिन छ भने सुवास नभएको पलासको फुल झै शोभाहिन हुन्छ । तसर्थ पनि मानिस सफल र समाजमा गण्यमान्य हुनको लागि विद्यावान हुनुपर्छ भन्ने उक्तिहरुले सार्थकता पाँउथ्ये । तर एकातर्फ वर्तमान समयमा धनको आडम्बरीपनले पुराना नीति नियमहरुको अवमूल्यन भएको छ, भने अर्कोतर्फ केही मानिसहरूले आफ्नो बुद्दिमत्ताको ओकालत गर्न थालेका छन् । धनी मानिसहरुले धनको आड्मा घमण्डको खेती गरिरहँदा समाजमा रहेका अन्य प्रतिस्पर्धी भावना भएका मानिसहरूले नाजायज कर्महरु चोरी, डकैती र ढाटछलको खेती गर्ने गरेको पाइन्छ । रामायणका रचयिता वाल्मीकि पहिले रत्नाकर डाँकु थिए । प्रसस्तै धन पैसा लुट्थ्ये होलान् तर नारदको विचार अवलम्बन गर्दा महाज्ञानी भए जस्ले संसारमा प्रसिद्ध कमाए । चोरी, तस्करी धर्म विरुद्ध छ । चोरीका भावहरु चोर्नेले भोग्छ । अन्य परिवारले त्यस्को फल भोग्दैन भन्ने सत् वचन प्रेरणामय नै थिए । जतिनै धनसम्पत्तिको अभिलाषा राखेर जीवनभरि संघर्ष गरे पनि अन्तमा लिएर जानू केही छैन । एक्लै आउने एक्लै जाने, नाङ्गै आउने नाङ्गै जाने हो। भनिएको छ–
‘धनानी भुमौ पशवश्च गोष्ठे भार्या गृहद्वारे जनस्मशाने ।’
मानिसले जीवनकालमा जतिसुकै ज्ञातअज्ञात कर्म गर्छ, अन्त्यमा भोग्ने भनेको त्यहीं कर्मको फल हो । मानिसले मर्ने बेलामा धनसम्पत्ति भुइमा, गाइवस्तु गोठमा, श्रीमती घरको ढोकासम्म रहन्छन् । उस्ले लाने भनेको मशान घाटसम्म मलामी मात्रै हो । लैजान्छन् त केवल कृति र इज्जत अन्यथा धनसम्पत्ति त भौतिक जीवनलाई मात्र पुर्ण गर्ने साधन हो । मृत्युपछिको सम्पत्ति त जीवनमा गरेका सत् कर्म नै हुन् । बुझ्न जरुरी छ । धनले मानिसका दैनन्दिन क्रियाकलापलाई सन्चालन गर्न सहजता प्रदान गर्दछ तर यस्को अर्थ यो होइन कि एक व्यक्तिको धन र धनबाट गरिने सामाजिक क्रियाकलापले अन्य व्यक्तिको जीवनमा आघात पुगोस् । वर्तमान समयमा देखिएको सामाजिक, आर्थिक, राजनैतिक र साँस्कृतिक विषमताको जड धन पैसा बन्दै गएको छ । एकातिर सम्पत्तिका आड्मा दिइने पदिय जिम्मेवारीले समाज ध्वस्त हुँदैछ, भने अर्कोतर्फ राजनैतिक भागबन्डामा पनि धनको तुलो खडा छ । यस्को प्रत्यक्ष सिकार सर्वसाधारण जनता बन्दै छन् ।
धनले किनेको टिकट र दुइचार दिन मासुभात खुवाएको आड्मा पाएको भोटले नेतालाई रोमान्चित बनाएको छ । भने पद, मर्यादा र दायित्व बिर्सिएर लगानी सुरक्षित गर्न तर्फ नेताहरू आकृष्ट बनेको पाइन्छ । साँस्कृतिक सम्पदा मठ, मन्दिर र पाटीपौवाहरुमा धनी मानीहरुको बोलवाला चल्छ । टेण्डर चल्छ । जुन कार्य समाज सापेक्षित छैन । पुरानो समयमा पढेलेखेका, शिक्षित वर्गले समाजका नियम कानुनलाई आत्मसात गर्दथे । जस्को निर्देशनमा गरिखाने, अशिक्षित र अज्ञानतामा रहेका मानिसहरूले आफ्नो जीवनलाई अगाडि बढाउँथे । अहिले शिक्षा व्यवहारिक बन्दै गयो, तर धनले शिक्षाको व्यवहारिकतामा कुल्चिदा समाज अनियन्त्रित बनेको महशुस गर्न थालिएको छ । ‘विद्या धनं सर्व धनं प्रधानम्’ विद्या नै सबैभन्दा ठूलो धन हो । विद्या देशविदेशमा पुज्य हुन्छ । विद्या आर्जन गरेको व्यक्तीको सम्मान गर्नु पर्दछ भनेर बालवृद्द र वयस्कलाई भनिन्थ्यो । भारत वर्षका जुन कुनै स्थानमा विद्वान/पण्डित एवं शिक्षित व्यक्तिको व्यक्तित्व विकास र सम्मान गरिने गरेका इतिहास र प्रमाण भेटिन्छन्–
विद्या मित्रं प्रवासेषु भार्या मित्रं गृहेषु च ।
व्याधितस्यौषधं मित्रं धर्मो मित्रं मृतस्यच ।।
मानिसको जीवनमा विदेशको परम मित्र भनेको विद्या हो, विद्या आर्जन गरेको व्यक्तिले संसारको जुनकुनै स्थानमा गए पनि वृत्ति गरेर खान सक्छ । त्यस्तै घरको मित्र स्त्री, रोगिको मित्र औषधि र मृत्यु पछिको परम मित्र धर्म मानिन्थ्यो । जुन तर्कसंगत र व्यवहारिक पनि थिए । तर अहिले निबन्धकार भैरव अर्यालको ‘जय भुँडी’मा चर्चा भएका ‘हाडिघोप्टे’ र ‘घ्याम्पे’ भुँडी भएका मानिसहरुको बोलवालाले गर्दा धन नै सर्वोपरि बन्यो । धर्म र भातृत्व नाश भो ! गरिबको बनिवास भो !
दुर्गम भुगोलमा जन्मिएका नेपालीले सगोल पृथ्वी देख्दा आफैमा चकित थिए नै । ‘जे छैन त्यसैको अभाव बलियो’ भने झै साघुरो, भिरालो र कुनै सेवा सुविधाले दृष्टिगत नगरेका अनकन्टार ठाउँमा जन्मिएका नेपालीलाई सम्मा तराईका फाँट र चिल्लाचौडा शहरका बाटाले लोभ्याउनु स्वभाविक नै ठान्नु पर्छ । तर गरिबीले अमनिएका तिनै निमुखा जनतालाई शहर पुगेर झुप्रो बनाउनेहरुले नचिन्दा भातृत्वको मर्म माथी कुल्चिएको यथार्थ प्रस्तुत हुन्छ । उता आफु तराईको गर्मीमा कष्टकर जीवन बिताएका मानिसहरुले पहाडियाको संज्ञा दिएर गाउँबाट भोकप्यास मेटाउन तराई झरेका मानिसलाई पुकार्दा सबैको जीवन तरङ्गित बनेको छ । धनसम्पत्तीको आड्मा आडम्बरी र घमण्डीपन अवलम्बन गर्ने मानिसहरूले आफ्ना मन र यौवनलाई सम्हाल्न नसक्दा समाज विछिप्त बन्दै गएको छ, भने धनीको रौरवाफपुर्ण जीवनले गरिबका मनमा विछिप्तताको उद्योग खोल्न बल्दो आगोमा घ्यु थप्ने काम गरिरहेको छ ।
जस्ले सामाजिक नाता सम्बन्ध, नैतिकता, दया, माया, करुणा र स्नेहका भावहरु विलयको लयमा बाटो तताएको प्रष्ट देख्न सकिन्छ । सरकार यस्मा मौन छ । दैनिक रुपमा बढेको महङ्गी नियन्त्रण गर्न सरकारलाई चुनौती छ । सरकारको नीति नियमलाई सबल बनाउने कर्तव्य जनताको हो । तर जनताप्रतिको सरकारी उत्तरदायित्व बहन गर्न नसक्ने सरकार नै समाजमा धनी र गरिब बिचको खाडललाई फराकिलो र गहिरो बनाउन उद्दत छ । नीति नियम र सस्कारले नेपालीहरुलाई अहिलेसम्मको समाज निर्माणमा त पुर्यायो तर भावी दिनहरुको गन्तव्य निर्णयविहिन छ । आधुनिक नेपाली साहित्यका चर्चित कवि भरतराज पन्तले सन्तुष्टि कविता लेखेर मानिस सन्तुष्ट हुनुपर्छ । आफुमा जे छ त्यसैमा रमाउनु पर्छ ।
‘दुख पर्यो भन्दैमा डसना नओड्नु सुख पायौ भन्दैमा सिरक नओछ्याउनु’, भन्या झै धनसम्पत्तिले मानिसमा अन्धोपन थप्दछ । विपत्तिमा आत्तिनु हुदैन र सुख पायौ भन्दैमा मात्तिनु हुदैन, भन्ने विषयलाई यस श्लोकमा व्यक्त गरेका छन् ।





