गोरखा / अविरल वर्षापछि आएको बिहीबार रातिको बाढीले पालुङटार नगरपालिका-९ को दुईवटा मोटरेबल पुल बगाएको छ ।
शेराबजार र सिस्नेरीबीचको चुतिखोलामा निर्माणाधीन पुल बाढीले पुरेको सिस्नेरीका कृष्ण थापाले बताए ।
‘बन्दै गरेको पुलको नामनिसाना छैन,’ थापाले भने, ‘पुलको दुई भागमा पिल्लर उठाउने र नदी छेक्न जाली लगाउने काम हुँदै थियो ।’
पालुङटार नगरपालिका-९ विर्दीको चुती खोलामाथिको मोटरेबल पुलको पहुँचमार्ग पनि बाढीले बगाएपछि आवतजावत ठप्प बनेको छ ।
अबुवा-शेरा सडकखण्डअन्तर्गतको विर्दीको चुती खोलामाथिको पुल बिहीबार रातिको बाढीले बगाएको हो ।
पुलको पहुँचमार्ग बगाएसँगै शुक्रबार बिहानबाट आउजाउ हुन नसकेको पालुङटार नगरपालिका-९ का वडाध्यक्ष भेजराज पाण्डेले बताए । ‘शाखा बाटोहरू त कति ठाउँमा भत्किएर बिग्रिएका छन्; हेरिसाध्यै छैन,’ उनले भने ।
त्यस्तै पालुङटार नगरपालिका-६ केउरेनीका केशरबहादुर थापाको घर पहिरोले बगाएको छ । ढुङ्गा र सिमेन्टले बनेको दुईकोठे घर पूर्ण रुपमा क्षति भएको डीएसपी लिलाराज लामिछानेले बताए ।
पहिरोले घर बगाएका केशरबहादुरका ६ परिवार पाल टाँगेर बसेका छन् । त्यस्तै केउरेनका वीरबहादुर राना र ज्योती रानाको घर पनि पहिरोको उच्च जोखिममा परेको छ ।





