पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र र त्यसपछि राजा हुने व्यक्ति( पारस शाह) को चरित्रकै कारण आफू राजसंस्था पुनस्र्थापना हुन्छ भन्ने मान्यताबाट पछि हटेको जिकिर गरेका छन् । देशमा गणतन्त्र आएको १५ वर्षको अवधिमा राजाबाट राजसंस्था पुनस्र्थापना गर्न सकारात्मक पहल गर्न नसकेको आरोप पनि उनको छ ।
‘राजाको सकारात्मक भूमिका भइदिएको भए सम्भवतः राजसंस्था पुनस्र्थापनाको सम्भावना थियो तर भएन’, सोमबार पोखरामा पत्रकारहरु माझ उनले राजनीतिक विश्लेषक सिके लालको भनाइ उधृत गर्दै भने,‘ राजा ज्ञानेन्द्र र त्यसपछि राजा हुने मान्छेहरुको अनुहार सम्झनुहोस् त कति पीडा हुन्छ ?’
उनले आफूले कफन बाँधेर राजसंस्थाको पक्षमा वकालत गरे पनि राजाबाट सहयोग नपाएको गुनासो गरे । ‘यो १५ वर्षको अवधिमा राजाबाट राजतन्त्र पुनस्र्थापना गर्न के सकारात्मक काम भयो ? राजाबाट पार्टीहरुसँग वैमनश्यता बढाउने काम भयो । १५ वर्षमा राजाबाट जस्तो वक्तव्य आएको छ,त्यसमा सकारात्मक काम भएकै छैन’,उनले भने,‘ हो पार्टीहरुले गलत गरेका छन् तर नेता भ्रष्ट भए, पार्टी असफल भयो भनेर राजा आएर शासन गर्ने हो र ? यहाँ देशभित्र २ ४ हजार मान्छेले राजा आऊ देश बचाऊ भन्दै, अस्थिरता सिर्जना गर्दैमा राजसंस्था पुनस्र्थापना हुँदैन ।’
आफूले पहिलो पटक राजा महेन्द्रलाई १० वर्षको उमेरमा भेटेको र १६ वर्षको उमेरमा अन्तररंग कुराकानी गरेको स्मरण गर्दै उनले भने,‘अहिले पनि राजासँग मेरो व्यक्तिगत रुपले सम्मान छ । राप्रपा राजाको शक्तिको आधारमा स्थापना भएको पार्टी हैन । बरु,राप्रपाले राजसंस्थाको एजेण्डा बोकेर राजालाई जुन गुन लगायो,राजाबाट त्यो व्यवहार भएन ।’
उनले ढिलै भएपनि गणतन्त्रको एजेण्डा स्वीकार गरेकोमा मुलधारका दलहरुले आफूलाई धन्यवाद दिनुपर्ने जिकिर पनि गरे ।राजाकै कारण आफूले राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा चुनाव नहारेको भएपनि राजाका सचिव ब्रिफकेससहित महाधिवेशन प्रतिनिधिहरु बसेको होटल–होटल पुगेर मतदान प्रभावित गरेको आरोप लगाए । उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र धवल शमशेर राणाहरु घुम्दैफिर्दै आफ्नै एजेण्डामा आइपुग्ने जिकिर पनि गरे । उनले नयाँ पार्टी गठन आफ्नो बाध्यता भएको सुनाए । उनले राप्रपाबाट छुट्टिने आफ्नो निर्णयलाई कांग्रेसका नेताहरु कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको नियतिको रुपमा व्याख्या गरे ।
‘हामीले हाम्रो मान्यता र अवधारणालाई समायानुकूल परिवर्तन गरेका हौँ’,उनले भने,‘मसँग कि राजनीतिबाट सन्यास लिने वा पुनः आफ्नो मान्यतालाई लिएर अगाडि बढ्ने भन्ने विकल्प थियो, मैले दोस्रो रोजेँ ।’
राप्रपा नेपालले हिन्दु राज्यको एजेण्डाकै बलमा वैकल्पिक शक्ति बनाउने र आउँदो संसदीय चुनावमा राष्ट्रिय दलको मान्यता दिलाउने जिकिर पनि उनको थियो । उनले समाजवादी विचारधारा बोक्ने कांग्रेस पनि वामपन्थी नै भएको जिकिर गर्दै राप्रपा नेपाल दक्षिणपन्थी धारको नेतृत्व गर्दै अगाडि बढ्ने बताए । पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपति एवं प्रदेश विनाको संघीयता राप्रपाको एजेण्डा हुने उनको भनाइ थियो ।





