पोखरा/ आज पोखरामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा आउँदैछन् । नेपाली कांग्रेसकी शक्तिशाली महिला नेतृ तथा तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङलाई निम्त्याएर तरुण दल कास्कीले जनप्रतिनिधिहरुलाई सम्मान गर्दैछ । तर, आरजु आउने अघिल्लो दिन नै नेपाली कांग्रेस कास्कीको अन्तरविरोध भने सतहमा आएको छ । शेरबहादुर देउवा समूहबाट सभापति जितेका किशोरदत्त बरालप्रति असन्तुष्टि जनाउँदै अधिकांश पदाधिकारी र सदस्यहरुले विरोध गरेपछि बैठक नै स्थगित भएको छ ।
कांग्रेसभित्रको अन्तरविरोध बुझ्न १४ औं महाधिवेशनअन्गर्तत भएको कास्कीको चुनावतिर फर्कनुपर्ने हुन्छ । गएको माघ १२ गते किशोरदत्त नेपाली कांग्रेस कास्कीको सभापतिमा विजयी बनेका थिए । पहिलो चरणमा भएको निर्वाचनमा ५ जना प्रतिस्पर्धी हुँदा किशोरसहित कसैले पनि बहुमत अर्थात् ५० प्रतिशत मत ल्याउन सकेनन् । किशोरको विपक्षमा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री यज्ञबहादुर थापाको आड पाएका सुदीपमोहन भट्टराई, हालका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा समूहबाट आइबहादुर गुरुङ र नेता देवराज चालिसेको मोर्चाबाट पोषनाथ शर्मा उम्मेदवार बनेका थिए । गिरिराज गौतम पनि मैदानमा थिए । तर, किशोर दोस्रो चरणमा प्रवेश गरे ।
दोस्रो चरणमा आइबहादुर वा सुदीपमोहन पुग्ने अनुमानको विपरीत किशोर दोस्रो चरणमा पुगे । दोस्रो चरणमा पुगेपछि समीकरण एकाएक परिवर्तन भयो । कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसीले अन्तिम समयमा किशोरलाई सघाए भने सभापति देउवा क्याम्पका आधिकारीक उम्मेदवारले सबैभन्दा बढी मत ल्याएपछि सो पक्ष पनि उत्साहित बन्यो । उनले शुक्रराजसँग रुष्ट बनेका पोषनाथ समूहको मत पनि प्राप्त गरे र कांग्रेस कास्कीको सभापतिको रुपमा विजयी बने । उनको विजयलाई कास्की कांग्रेसको एउटा समूहले आफ्नो हारको रुपमा हेरेको थियो । किशोरलाई कसरी तल पार्न सकिन्छ भन्ने ध्याउन्नमा रहेको सो समूहले सुृरुमै पार्टीको प्रदेश सचिवालय हालको पार्टी कार्यालयमै राख्ने प्रस्ताव ग¥यो ।
शुक्रराज शर्माको सो चाहनालाई किशोरले अस्वीकार गरिदिए । किशोरले पुनः प्रदेशको सभापति भएपछि शक्तिमा आएका शुक्रराज र उनको समूहलाई चिढ्याउने काम गरे । किशोरले मञ्चमा ३ जना नेता र बाँकीलाई तल नै राख्ने नियम बनाइदिए । यो निर्णयलाई धेरै नेताहरुले आफ्नो मानमर्दनको रुपमा लिए । मास्टरी पृष्ठभूमिबाट आएका किशोरले आफूहरुलाई भाषणमात्रै सुनाउने र मान नदिएको भन्दै उनीहरुले आपत्ति जनाए । यो उपक्रम चलिरहेको थियो । यस्तैमा आइतबार बैठक डाकियो । बैठकमा चुनावी समीक्षा, निर्वाचित पदाधिकारीलाई सम्मान गर्ने तथा चुनावमा भएको खर्चबारे छलफल चलाउने एजेण्डा थियो । पार्टी कार्यालय नजिकैको होटलमा राखिएको सो बैठक सुरुबाटै सौहार्दपूर्ण हुन सकेन । सभापतिमा पराजित भएका सुदीपमोहन भट्टराईले सभापतिको कार्यशैलीप्रति आपत्ति जनाए । स्रोतका अनुसार त्यसपछि सबैजसो कार्यसमितिका सदस्यहरु एकाएक किशोरको विपक्षमा उभिए । बैठक चल्न नसक्ने भएपछि आउँदो ११ गतेसम्मको लागि स्थगित भयो ।
बैठकमा सहभागी एक नेताका अनुृसार स्थिति झण्डै बाझाबाझको स्थितिसम्म पुग्यो । स्रोतका अनुसार किशोरसँग रुष्ट समूहले उनले बोलाउने तीनवटा बैठक नै बहिष्कार गर्नेसम्मको रणनीति बनाएको छ । ‘लगातार ३ वटा बैठक स्थगित गराउने र त्यसपछि २५ प्रतिशत कार्यसमितिको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव पेश गर्नेसम्मको तयारी छ’,ती सदस्यले भने,‘किशोर एक्लै हिँड्न र आफू अनुकूलका व्यक्तिको कुरामात्रै सुन्ने आरोप लागेको छ, अब उहाँ कसरी अगाडि बढ्नुहुन्छ भन्ने उहाँमाथि नै निर्भर छ ।’
नेपाली कांग्रेसमा सभापतिलाई असहयोग गर्ने परम्परा यो नौलो हैन । यसअघिका सभापति कृष्ण केसीलाई पनि पार्टीमा असफल बनाउने प्रपञ्च रचिएको थियो । तर, चतुर कुष्ण केसीले विरोधीलाई सहजै हातमा लिए । पोखराका शक्तिकेन्द्र शुक्रराजलाई सधैं मञ्चमा राखे र आफ्नो कार्यकाल पूरा गरे । ‘किशोरजीको राजीनामा नै माग्नेसम्म त नपुग्ला तर उनलाई साइजमा ल्याउने उपक्रम सुरु भएको छ’,ती नेताले भने ।
नेपाली कांग्रेको विधानको धारा ४४मा अविश्वासको प्रस्तावसम्बन्धी प्रावधान छ । सो धाराको उपधारा १ अनुसार पार्टीका सबै तहका सभापतिका विरूद्ध सम्बन्धित निर्वाचकहरूको पच्चीस प्रतिशत सदस्यले अविश्वासको प्रस्ताव सम्बन्धित कार्यसमितिमा दर्ता गर्न सक्नेछ भन्ने व्यवस्था छ भने उपधारा (२) मा यसरी दर्ता हुन आएको प्रस्तावउपर आवश्यक छानविन गरी साठी दिनभित्र सम्बन्धित निर्वाचकको बैठक वा अधिवेशन बोलाई निर्णय गर्नुपर्नेछ भनिएको छ । यस्तो निर्णय गर्दा उप– सभापति र सो नभएमा महामन्त्री वा प्रदेश महामन्त्री, सचिवले बैठकको अध्यक्षता गर्नेछ भनिएको छ ।





