आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओबादी केन्द्र केन्द्रीय समिति बैठक : पदाधिकारीको टुंगो लागेन, बरिष्ठ उपाध्यक्षमा नारायणकाजीको चर्चा

माओबादी केन्द्र केन्द्रीय समिति बैठक : पदाधिकारीको टुंगो लागेन, बरिष्ठ उपाध्यक्षमा नारायणकाजीको चर्चा


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७९, बिहिबार

काठमाण्डौ/ नेकपा माओवादी केन्द्रले जारी केन्द्रीय समिति बैठकबाट पनि पदाधिकारी चयन गर्न सकेन । प्रज्ञा भवन कमलादीमा चार दिनदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५६ सदस्यीय पोलिटब्युरो र ४१ सदस्यीय स्थायी समिति घोषणा गरेका छन् ।

तर पुसमा भएको आठौं महाधिवेशनबाट अध्यक्षमा फेरि दोहरिएका प्रचण्डले पदाधिकारीबारे निर्णय लिन अझै केही साता समय मागेका छन् ।

उनले केन्द्रीय सदस्यहरुसँग अझै केही दिन समय उपलब्ध गराइदिन अनुरोध गरे । ‘स्थानीय निर्वाचनमा भएको अन्तर्घात र अनुशासनहीन अवस्थाको छानबिन गर्न त हामीले टंक राई नेतृत्वको कमिटीलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनेका छौँ’ उनले भने, ‘पदाधिकारी बनाउने कुरामा पनि हामीलाई थोरै समय किन नदिने त ?’

उनले पोलिटब्युरो र स्थायी समिति हाँसिखुसीसाथ टुंगिएको बताउँदै पदाधिकारी त सजिलै चयन गर्ने बताए । ‘अब जाबो पदाधिकारी त अब सजिलै टुंगिन्छ। अलिकति समय पुगेको छैन, सहमति बनाउन अझै दुई चार दिन चाहिएको छ’ उनले भने, ‘केन्द्रीय समितिसँग अनुरोध गर्दैछु, मलाई केही समय दिनुस्, म सबैलाई खुसी बनाएर पदाधिकारी पनि टुंगो गर्छु ।’

प्रचण्डले पोलिटब्युरो र स्थायी समिति टुंगो गरिसकेकाले राहत महसुस भएको बताए । ‘अब पदाधिकारी पनि हँसिलो अनुहार हुने गरी टुङ्ग्याउँछौँ’ उनले भने, ‘तर मलाई केही समय दिनुपर्छ तपाईंहरुले ।’

अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको विकल्प नरहेको बताए ।

‘वरिष्ठ उपाध्यक्षमा त नारायणकाजीको विकल्प छैन’, उनले थपे, ‘उता महराजी (कृष्णबहादुर) ले त जे भए पनि नारायणकाजीपछि मेरो नाम हुनुपर्यो भन्नु भएको छ ।’

वरिष्ठ उपाध्यक्ष पदमा मात्रिका यादव र कृष्णबहादुर महराले पनि दाबी गरेका थिए । प्रचण्डले मात्रिकाको दाबी भए पनि नारायणकाजीको विकल्प नभएको उल्लेख गरे ।

उनले आफूसँग महासचिवको नाम आफूसँग भए पनि अहिले वाचन नगर्ने बताए । केन्द्रीय सदस्यले अहिले नै सुनाउन भने पनि प्रचण्डले समय दिन आग्रह गरिरहे । ‘मसँग सबै पदाधिकारीको नाम छ । महासचिवको प्रस्ताव पनि छ यहाँ’, उनले भने, ‘तर अहिले नै हतार नगरौँ। मलाई दुई चार दिन समय दिनु, म पदाधिकारी टुङ्ग्याउँछु ।’

माओवादी केन्द्रमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष सहित १५ सदस्यीय पदाधिकारी व्यवस्था छ । प्रचण्डका अनुसार पदाधिकारीको संख्या केही बढ्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->