पोखरा/ गण्डकीका मुख्यमन्त्रीदेखि मन्त्री नेताहरुका स्व. आफन्तका नाममा करोडौँ बजेट विनियोजन भएको समाचार प्रकाशन भएपछि गण्डकीमा त्यसको चर्को विरोध भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोवद्र्धन शर्माको नाममा तनहुँमा स्मृति कोष बनाउन ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय मातापिताको नाममा ट्रस्ट बनाउन दुई फरक शीर्षकमा एक करोड रुपैयाँ विनियोजन गरिएको छ । खर्च शीर्षक २६४१३ अन्तर्गत छुटेका कार्यक्रम भनेर एउटै शीर्षकमा ५०÷५० लाख रुपैयाँ विनियोजन गरिएको छ । पुननारायण धनकुमारी श्रेष्ठ ट्रस्टको नाममा ५० लाख रुपैयाँ छुट्याइएको छ । यो कार्यक्रम कार्यान्वयन स्वयम् मन्त्री मेखलाल श्रेष्ठको मन्त्रालयले नै गर्ने छ ।
त्यस्तै भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयबाट कार्यान्वयन हुनेगरी सोही ट्रस्टको भवन निर्माणक लागि भनेर पनि समान ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ट्रस्टको भवन भिरकोट नगरपालिका १ मा बन्ने छ ।
कांग्रेस गण्डकी प्रदेश सभापतिमा पराजित नेता अर्जुनप्रसाद जोशीका पिता स्वर्गीय अमृतप्रसाद जोशीको नाममा स्मृति पार्क बनाउन २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कुश्मा नगरपालिका ८ मा उक्त स्मृति पार्कको लागि कार्यक्रम थपेर २० लाख रुपैयाँ छुट्याइएको हो ।
पर्वतकै अर्का कांग्रेस नेता स्वर्गीय डिल्लिराम लामिछानेको नाममा पनि प्रतिष्ठान बनाउन भनेर गण्डकी सरकारले २० लाख बजेट विनियोजन गरेको छ । समाचार प्रकाशन भएपछि यसको चौतर्फी विरोध भएको छ ।
नागरिक अगुवा देखि पूर्वमन्त्री गोकुल बास्कोटासम्मले प्रदेशको औचित्यमाथि प्रश्न उठाउँदै यसको विरोध गरिरहेका छन ।
पोखराका नागरिक अगुवा विश्व सिग्देलले गीताको श्लोक लेख्दै यो बजेट श्राद्ध गर्ने बजेट भएको टिप्पणीगरेका छन ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन,
पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति ।
तदहं भक्त्युपहृतमश्नामि प्रयतात्मनः ।। गीता ९.२६
पिताजीको श्राद्धमा समेत प्रदेशको बजेट हाल्न पुगेछन । पिताको किर्ती राख्न शालिक बनाउने ,ट्रष्ट बनाउने भनेको श्राद्धै हो ।धनी मानिसको यज्ञ यज्ञादी भन्दा गरीब मान्छेले भावपुर्ण तरीकाले समर्पण गरेको पातीको मुन्टो ,खनियाको गेडा मेरो निमित्त अमृत हुन्छ , भगवान भन्नु हुन्छ ।
एक त कस कसले लगे भन्ने नाम पढदा वहांहरु दुइ चार करोड पिताजीको नाममा खर्च गर्न नसक्ने कोही हुनुहुन्न , किन धित छाडनु भयो । पित्रीहरु स्मरण, सुमिरनले मात्रै पनि प्रसन्न हुनुहुन्थ्यो, किन यति ठुलो बोझ पित्रीलाइ बोकाउनु भयो ?
आंफू त भूईंमान्छे परियो काठमाण्डौमा कसले के गर्छन ,सुनिन्थ्यो मात्रै ।गण्डकी प्रदेश सरकारले त प्रदेशबासीलाइनै लज्जाबोध हुने , शिर निहुराएर हिंडनु पर्ने बनाइदिए ।
अब गण्डकी प्रदेशले स्थापित गरेका किर्तीहरु काँधमा बोकेर कांग्रेस चुनाबमा जाने होला ।
एमाले नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले प्रदेश संरचना आवश्यक नरहेको प्रमाणित भएको लेखेका छन । उनले ट्विटरमा लेखेका छन,
‘र, फेरि भन्छु, यो प्रदेश संरचना त गण्डकी प्रदेश सरकारको बजेटमा राखिएका मन्त्रीका मातापिता ट्रष्टले पनि प्रमाणित गरिसक्यो कि आवश्यक छैन ।’
गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टले पनि संघीयता विघटनतर्फ उन्मुख देखिएको बताएका छन । उनले लेखेका छन, ‘प्रदेश सरकारको बजेट विनियोजन र काम गराइको तरिका हेर्दा त संघीयता विघटनतर्फ उन्मुख देखियो । सुनकै भएपनि टाउकामा जुत्ता ? अहँ हुँदैन । बरु फाटेकै टोपी सहित । नसुध्रिए त्यो दिन टाढा छैन जस्तो लाग्छ ।’
एमाले निकट विद्याथीं संगठन अनेरास्ववियुले एक रुपैयाँ दान गर्ने उल्लेख गरेको छ ।
‘राज्य दोहन बन्द गर, गण्डकी प्रदेश मुख्यमन्त्री र मन्त्रीलाई मेरो रु १ दान’ पोष्टर अखिलले सार्वजनिक गरेको छ । यस्तै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रदेश खारेजी अभियान समेत सुरु गरेका छन ।
चर्को आलोचना भएपछि यस विषयमा कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टिकरण दिँदै अमृत स्मृति पार्कमा विनियोजित बजेट आवश्यक ठाउँमा प्रयोग गर्न भनेर मुख्यमन्त्रीलाई फोनमार्फत जानकारी गराएको बताएका छन ।
आफ्ना पिताको नामको पार्कबारे उनले लेखेका छन्,
पर्वतको कुश्मा न.पा.४ मा अमृत स्मृती पार्क नामबाट सार्वजनिक पार्क केहि बर्ष अगाडी देखि नै स्थानीयको सक्रियतामा निर्माण गरि सन्चालनमा रहेको र उक्त पार्कमा बाग्लुङ/पर्वतबाट पूजा, बनभोज र मनोरन्जनको लागि जाने गरेको सबैलाई विदितै छ !
उक्त पार्कमा भिड बढ्दै गएर व्यवस्थापन गर्न गाह्रो भएकोले थप ब्यबस्थित गर्न बजेट माग भए अनुसार जम्मा २० लाख विनियोजित भएको रहेछ !
स्थानीय र राष्ट्रियरुपमा महत्वपूर्ण व्यक्तिहरुको नाममा पार्क, द्वार, विद्यालय र सडक मात्र हैन नगर नै नमाकरण गर्ने र करोडौं रकम संघ प्रदेश र स्थानीय सरकारबाट बर्षौं देखि बिनियोजन हुँदै आएकै हो !
तर स्थानीयको सक्रियताबाट निर्माण भै धेरै अगाडी देखिनै सन्चालनमा रहेको र सबैले प्रयोग गैरहेको सार्वजनिक (अमृत स्मृति) पार्कलाई थप ब्यबस्थित गर्न प्रदेश सरकारको २० लाखको बारेमा जुन ढंगले समाचार सम्प्रेषण र प्रतिक्रिया आयो तेस्मा परिवारको सदस्य (छोरा) को नाताले हाम्रो ध्यानाकर्षण भएको छ !
अमृत प्रसाद जोशीको बारेमा जिलाबासी, गण्डकी प्रदेश र समकालीन ब्यक्तिहरुलाई नै बढी जानकारी होला यस्मा मलाइ केही भन्नू छैन ! उक्त रकमबारे मलाई जानकारी भए पछि हिजो नै मुख्यमन्त्रीलाई बिहानै फोन गरेर उक्त रकम जता आवश्यक छ, उतै प्रगोग गर्न अनुरोध गरेको छु !





