मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

असार !

असार !


  • कल्पना देवकोटा
  • असार २९ २०७९, बुधबार

त्यसो त हरेकलाई मन पर्ने महिना – असार । अझै हामी त कृषीप्रधान देशका किसानका छोराछोरीहरुलाई असार मन नपर्ने भन्ने त हुँदै हँुदैन । आमाले घाँस काट्दा काट्दै जन्मेका, बुवाले हलो जोतेको हेर्दाहेर्दै हुर्केका हामी र हाम्रा लागि असार निकै महत्वपूर्ण हुन्छ । बैशाख र जेठ किसानका लागि अलिक फुर्सदका महिना हुन् भने असार शुरु हुनासाथ किसानलाई सास फेर्न फुर्सद हुँदैन । मकै गोड्नुपर्छ, कोदो रोप्नुपर्छ अनि रोपाइँ गर्नुपर्छ । असार अनि रोपाइँका लागि जेठमै सबै कुराको बन्दोबस्त गर्नुपर्छ । बिरामी हुँदाका लागि भनेर पैसाको मेलोमेसो मिलाउने, गोबर बोक्ने, घरका लागि चाहिने दैनिक उपभोग्य वस्तुको जोहो गर्ने, अन्न कुटानी र पिसानी गर्ने, धानको बीउ निर्धारण गर्ने, कुलो बनाउने, पर्म जाने, खेताला बोलाउने, हलो जुवा हेरफेर गर्ने, छाता किन्ने, पाल्तो किन्ने आदि जस्ता काम गरिन्छ । असारमा बारीमा तरकारी भने कम हुन्छ । त्यसैले असारका लागि मस्यौरा, सुकाएको साग, सुकाएको काउली, आँपको अचार तयार हुन्छ । सिरौँला, चिउरा, चना, केराउ, भट्ट खाजाकालागि राखिएको हुन्छ ।

असार किसानका लागि महिना होइन, पर्व हो । जब झमझमपानी पर्छ, अनि किसानका मनमा हर्षका मोती फुल्छन् । पानी अरु बेलामा अरु महिनामा पनि परेकै हुन्छ तर असारको पानीमा भने शक्ति हुन्छ । सायद त्यसैले होला नवबिबाहिताले असार बार्नु पर्ने चलन छ । कसैलाई पानीमा रुझ्न खुब मन पर्छ । उनीहरु पनि आफ्नो प्यास असारमै मेटाउँछन् । असारको पानीमा रुझेर बिरामी भइँदैन । असारमा जन्मेको मान्छेले आगो बाल्न सक्दैन जस्ता अपत्यारिला कुरा असारको परिचयसँग जोडिएको पाइन्छ । असार १५, अर्थात् दहीचिउरा खाने दिन । चिउरा गह्रुगो खानेकुरा हो, आँटिलो हुन्छ अनि दही पौष्टिक आहार हो । यी खानेकुराले छिटो भोक नलाग्ने हुनाले धेरै काम गर्न सकिन्छ । त्यसैले असारको बीचमा दहीचिउरा खाने दिन राखिएको हुनुपर्छ । प्रत्येक जातजातिले असारलाई आफ्नाआफ्नै तरिकाले मनाउने गरेका हुन्छन् । चौधरी समुदायमा असारको पहिलो सातातिर कुनै एक दिन गाउँभरिका मान्छेले आफ्नो आफ्नो भान्छामा मासु, गेडागुडी, मदिरा अन्य मिठामिठा खानेकुरा बनाउने र देवतालाई चढाउने अनि आफ्ना इष्टमित्र र अर्मपर्म सँगै गर्ने सबैलाई खाना खान बोलाउने, खानजाने चलन छ । यसलाई कलुवा पनि भनिन्छ । असारमा कलुवा खाएपछि खाना खेतमै लगेर खान पाइने हुन्छ । कलुवा नखाई खेतमा खाना लैजानु वा खानु हुँदैन, खाए देवता रिसाउँछन् भन्ने मान्यता चौधरी समुदायमा छ । हाम्रो असार १५ दहिचिउरा जस्तै चौधरी समुदायको कलुवा हो ।

असार भन्ने बित्तिकै सबैले याद गर्ने भनेकै रोपाइँ हो । किसानका लागि नयाँ वर्ष हो असार । भनिन्छ नि, मानो रोपेर मुरी फलाउन मेहनत गर्नु पर्ने महिना । मंसिरमा कतिधान भित्राउन मन छ, त्यहीअनुसार मेहनत गर्नुपर्ने । आँप, आरु, बडहर, जामुन, फरेट, कुसुम, नास्पति, फुट्की, खनया, बनच्याउ, एकपाते सागजस्ता खानेकुरा खान पाइने पनि असारमै हो । छरेको बीउ हरियो हुदाँ वातावरण नै हरियाली देखिन्छ । काम गर्न कुटो कोदालो हलो जुवाका साथमा सबै खेतमा देखिँदा कति रोमान्चक समय हुन्छ । “हरिको बीउ राम्रोसँग उम्रेन, केहँीकतै छोइछाइ गरे होलान् । बीउ राख्दा राम्रोसँग देवीदेउता नसम्झे यस्तै हो” बूढापाकाका शरु हुन्छन् यस्तै सुन्दा आनन्द लाग्ने तर वास्तविकता भन्दा परका कुराहरु । असार किसानका लागि सुत्केरीजस्तै हो । स्याहार पाए आमाबच्चा दुवै स्वस्थ भएझैँ कुलो पानी र मेहनत गरे मंसिर मा हीरा भित्राउन पाइने । बीउ समातेर खेतमा पुगेपछि शुरु हुन्छ रोपाइँ । मेरो हात झटपट, अरुको हात लटपट ओसर ओसर भनेर रोप्न शुरु गरिन्छ । कसको मेलो कति अगाडि, फलानीले रोप्न नजानेकी, उसका त खुट्टै सर्दैनन्, बीचमा लाग्यो भने मेलो ल्याउनै गाह्रो हु्न्छ भन्दै बोली बाराबार गरेका छिमेकीहरु पनि रोपाइँमा बोल्छन् । असारमा रमाइलो मात्र हुने होइन पारस्परिक सम्बन्ध सुदृढ र बलियो पनि हुन्छ । कसले कति छिटो र राम्रोसँग रोपेकी छे, कसले अल्छी गरेकी छे, कसले खाल्डा छोडेकी छे जस्ता कुराको मूल्यांकन बूढापाकाहरु ले गरेका हुन्छन् । खाजाखाने बेला हुन्छ उस्तै रमाइलो अनि मिठो खाजा खान पाइन्छ किनकि असारका लागि भनेर खाना पहिला नै तयार हुन्छ । कामले शरीर जति नै थाकेपनि सबै एकैसाथ काम गर्नाले थकाइको महशुस भने हुँदैन ।
‘असारमा काम नलागेको गोरु’ भन्ने त उखान नै छ । यो सेतेले यो असार नसक्ला जस्तो पो गर्छ भनी बुवागोरुसँग रिसाँउदै गरेको पनि रमाइलो लाग्ने । असारे भाका शुरु हुन्छन् ।
असारे भाका (अवालि)
ब्याहा लाग्यइ, लगन लाग्यइ
छैट लाग्यइ, पैट लाग्यइ मोति मेराए
रोपि ल्या पोखि ल्या सिउति सेराय
रुदि लाग्यइ, कथा लाग्यइ
सुनौलो फल लाग्यइ रुपऊलो नलाग्यइ मोति मेराए
रोपि ल्या पोखि ल्या सिउति सेराय

असारे भाकासँगै वातावरण नै संगीतमय हुन्छ । कसले कता बाट हिलो छ्याप्ने हो, डरभित्रको खुशी उस्तै । हिलो छ्यापाछ्याप शुरु हुन्छ, कसैको अनुहार चिनिँदैन । भान्साबाट घिँउमा मस्यौरा भुट्दै गरेको बासना कुनै महङ्गो अत्तरभन्दा कम हँुदैन । सेल, पुरी काँचै खाउँखाउँ लाग्ने । निउरोको साग, सिमी र बोडीको दाल, तातोतातो खाना आमाको हातले बनाएको मिठोमिठो खाँदा दिनभरीको थकाइ मेटिन्छ । बीउका भुरुली बनाउँदै एक वर्षका लागि किसानले असारलाई बिदाई गर्छन् ।

साउन १ गते लुतो फाल्ने वा असारको हिलो पखाल्ने दिन । असारमा हिलो पानीले शरीरमा आएका फोका, घाउखटिरा, पाकेका हातखुट्टा साउन १ गते नुहाएपछि सबै सकिन्छन् भन्ने परम्परागत मान्यता छ । हुनेखाने र सम्पत्तिले पुगेकालाई दशैँजस्तै किसानलाई असार एक पर्व हो ।

पहिलापहिला जस्तो असारको महत्व अब छैन । न असारका लागि कुनै तयारी न त तामझाम हुन्छ । न असारे भाकाहरु नै गुन्जिन्छन् । गाउँमा जमिन बाँझो छ । सबैलाई सहर बस्नुपर्छ । सहर बसेकालाई विदेश जानुपर्छ । कसले बुझ्ने असारलाई ? अबका नानीबाबु सेतो चामल नै फल्छ भन्ने बुझ्छन् । तर कहाँ भन्ने प्रश्नमा ‘पसल’ भन्छन् । बुढा बाउआमा गाउँमा छन् । उनीहरु कामगर्न सक्दैनन् । छोरा र नाति दुख गर्नु पर्दैन, हामी पैसा पठाइदिन्छौँ भन्छन् । सुगर प्रेसर बढ्छ किन दुख गर्नुप¥यो ? किनेर खाए भैहाल्यो नि भन्छन् । अबका केहि बर्षमा ११ महिना मात्र हुनेछन् त्यसमा असार हुने छैन । किनकि असारको महत्व महिमा हामीले बुझ्न छोड्यौँ । असार हामीसँग रिसाउने छ अनि सदाका लागि विदा हुनेछ । छोरा बुहारी अमेरिका छन् नाति कोरिया जाँदैछ । छोरी ज्वाइँ क्यानडा छन् । नातिनी पनि जापान र अष्टेलिया जाने केटा पाए बिहे गर्छु भन्छे । आजका हामी नेपालीको वास्तविकता पनि यही हो । धान कहिले रोपिन्छ भन्ने प्रश्नमा हाम्रा छोराछोरीले ‘पास’ भन्ने दिन नआउला भन्न सकिन्न । छोएपनि सुन फल्ने जमिन बाँझो छ तर भाइ पचास डिग्रीको घाममा काम गर्न राजी हुँदै विमानस्थलको लाइनमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->