प्यारो छोरी रुयासामा शुभ आर्शीवाद साथै सुस्वास्थ्यको कामना
छोरी रुयासालाई म आजको पत्रको श्रृङखलामा निर्वाचनको आधारभुत पक्षका बारेमा जानकारी गराउन चाहन्छु । स्थानीय तह निर्वाचन २०७८ हाल सालै २०७९ साल वैशाख ३० गते शुक्रबार दिन सम्पन्न भएको छ । छोरी रुयासाले १८ वर्ष पुगेपछि पहिलोपटक मतदान गरेको चुनाव हो भने म पहिलो पटक जनकल्याण माध्यमिक विद्यालय जैमिनी नगरपालिका वडा नं. ६ अर्जेवामा मतदान अधिकृत भै गएको चुनाव भएको छ । यसभन्दा अगाडीका चुनावमा म दुई पटक ट्रेड युनियन पदाधिकारी भएकोले निर्वाचनमा नखटिएको र दुई पटक सहायक मतदान अधिकृत भै निर्वाचनमा खटिएको थिए । छोरी रुयासाले मतदान गर्ने बेलामा सुझबुझका साथ गरेको हुनु पर्दछ । निर्वाचनका बेलामा सक्रिय हुने ऐन नियम र निर्देशिकाका बारेमा पनि सात्क्षकार भएमा राम्रो मानिन्छ । भोट माग्न आउने राजनीतिक पार्टीका सिद्धान्त, उद्धेश्य र लक्ष्यका साथै कार्यक्रमका बारेमा हरेकको जानकारी लिनु पर्दछ । निर्वाचन आयोग ऐन,२०७३, निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन २०७३, निर्वाचन आयोग नियमावली २०७३, स्थानीय तह निर्वाचन नियमावली २०७३, स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका २०७८, निर्वाचन आचारसंहिता २०७८, स्थानीय तह निर्वाचन निर्देशिका २०७८ का बारेमा जानकारी लिनु पर्दछ । आगामी दिनमा हुने हरेक निर्वाचनका बारेमा विश्लेषणात्मक टिप्पणी गर्न सक्ने सबल र सक्षम नागरिकका रुपमा छोरी उभिनुपर्दछ ।
मतदानको समयमा निर्वाचन प्रतिनिधि, निविदा मतपत्र, पर्यवेक्षक, पोलबुक, मतदाता, मतदाता परिचयपत्र, मतदान अधिकृत, मतदान कक्ष, मतदान केन्द्र, मतदान प्रतिनिधि, मतदान स्थल, मतपत्र, मतपेटिका, सर्वदलीय वा सर्वपक्षीय बैठक आदिका बारेमा जानकारी लिनु पर्दछ । अलि नौलौ पोलबुक भन्नाले मतदान अधिकृतले मतदानको सम्बन्धमा मुख्य मुख्य घटनाको विवरण टिपोट गर्न आयोगले उपलब्ध गराएको पोलबुक (मतदान पुस्तिका) भनी सम्झनुपर्दछ । त्यसैगरी निविदा मत पत्र भन्नाले स्थानीय तह निर्वाचन (मतदान) निर्देशिका २०७८ को दफा ५४ बमोजिमको निविदा मतपत्र सम्झनुपर्दछ । निविदा मतपत्र भन्नाले कुनै मतदाताले आफनो नामबाट अरु कसैले मतपत्र लिइसकेको वा मतदान गरिसकेको र आफु नै वास्तविक मतदाता हो भनी दाबी गर्न चाहेमा निजले निजले मतदान अधिकृत समक्ष नियमावलीको अनुसुचि २८ को ढाँचामा आफनो परिचय खुल्ने प्रमाण संलग्न राखी निवदेन दिन सक्ने छ । निवेदन दिई दाबी गरेमा मतदान अधिकृतले दाबीकर्ताको दाबी बमोजिम निज बास्तविक मतदाता हो होइन भन्ने कुरा बुझनुपर्दछ । दाबीकर्ताले लिखित रुपमा आफनो मतदाता परिचयपत्र, नागरिकताको प्रमाण पत्र वा निजको परिचय खुल्ने अन्य प्रमाण प्रस्तुत गरेमा सोको प्रतिलिपि मतदान अधिकृतले लिनुपर्नेछ । उल्लेखित कागजपत्र र प्रमाणको आधारबाट दाबीकर्ता वास्तविक मतदाता हो भन्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा मतदान अधिकृतले सो कुरा जनाई अभिलेख राखी निर्णय गरी त्यस्तो व्यक्तिलाई निविदा मतपत्र दिनुपर्नेछ । सो निविदा मतपत्रमा मतदान गरी सकेपछि मतपेटिकामा नखसाली छुटै खाममा राखी निर्वाचन अधिकृतलाई बुझाउनुपर्दछ । मत पत्रमा निविदा मतपत्र भनी मतपत्रको बायाँतिरको खाली ठाउँमा लेख्नुपर्दछ ।
निर्विरोध उम्मेदवार चयन पनि हुनसक्दछन् । कसै कसैको निश्चित मत हासिल नगरेमा धरौटी जफत हुन्छ । सुरुमा धरौटी स्वरुप नगद राख्नुपर्दछ । मतगणना भएपछि धरौटी रकम फिर्तासमेत हुन्छ । प्रायः बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको हुन्छ । निर्वाचनमा आचारसंहिताको निर्धारण गरेको हुन्छ । अनुचित प्रतिस्पर्धा तथा साधन स्रोतको दुरुपयोगलाई रोक्न, निर्वाचनलाई कम खर्चिलो र मर्यादित बनाउन, स्वच्छ र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आचारसंहिताको व्यवस्था गरिएको हुन्छ । उम्मेदवार, राजनीतिक दल, राजनीतिक दलको भातृसंगठन वा सम्बन्धित व्यक्ति, नेपाल सरकार र नेपाल सरकारका मन्त्रीहरु, सार्वजनिक संस्था र स्थानीय तह, आम सञ्चार माध्यम, गैर सरकारी संस्था, पर्यवेक्षक, सार्वजनिक पद धारण गरेको व्यक्ति, नेपाल सरकारका कर्मचारी, स्थानीय तहका कर्मचारी, निर्वाचन सम्बन्धी कार्यमा संलग्न व्यक्ति वा सुरक्षाकर्मीहरुले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्दछ ।
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गर्नका लागि निर्वाचन आयोगले केही नाराहरुको तय गरेको छ । आवधिक निर्वाचन– लोकतन्त्रको आधार, मतदाता नामावलीमा नाम दर्ता गरी आफनो मताधिकारको सुरक्षित गरौ, मतदानद्धारा आफुलाई मन परेको प्रतिनिधि चुन्न पाउनु नागरिकको मौलिक अधिकार हो । स्वच्छ र स्वतन्त्र निर्वाचनको लागि निर्वाचन आचारसंहिताको पुर्ण पालना गरौं । स्वच्छ र स्वतन्त्र निर्वाचन– हाम्रो लक्ष्य हाम्रो अभियान जस्ता नारा उल्लेख गरेको पाइन्छ । ति नाराहरुको अर्थ र उपादेयताबारे जानकारी भै सचेत हुन बालिग नागरिक भएका नाताले जरुरी हुन्छ ।
नेपालमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी), नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी मसाल, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल, दलित जनजाति पार्टी, नेपाली जनता दल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा माले, लोकतान्त्रिक पार्टी नेपाल, संघिय समाजवादी फोरम नेपाल, नेपाल समावेशी पार्टी, जनजागरण नेपाल पार्टी, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल सुशासन पार्टी, नेपाल गौरवशाली पार्टी नेपाल आदि पार्टीका बारेमा छोरी रुयासाले जानकारी लिन पर्दछ । माथि उल्लेखित पार्टीको नाममा अझ छुटफुट हुन सक्दछ । खोजी खोजी जानकारी लिनुपर्ने दायित्व बालिग भएपछि नागरिकको हक अधिकार हो । कुन जिल्लामा कुन पार्टीले जित्यो, कति निर्वाचन क्षेत्र रहेका छन् भन्ने बारेमा जानकारी लिएमा लोक सेवा आयोगको परीक्षामा सामान्य ज्ञानमा समेत काम लाग्न सक्दछ ।
निर्वाचन आचारसंहिता २०७८ मा निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले आचारसंहिता बनाउने गरिन्छ । आचार संहितामा मौन अवधि भन्नाले मतदान हुने दिनको अघिल्लो अठ्चालिस घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि सम्झनुपर्दछ । मौन अवधिभर कुनै पनि प्रकारका अन्तरक्रिया, सम्मेलन, कार्यशाला, गोष्ठी वा निर्वाचनसँग सम्बन्धित छलफल वा सामुहिक मस्तिष्क मन्थन आदि गर्न नहुने हुन्छ । त्यसैगरी मौन अवधिमा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था रहेको छ । सामाजिक सञ्जाल भन्नाले एस.एम.एस., फेसबुक, मेसेञ्जर, भाइवर, ट्वीटर, इन्स्टाग्राम, ब्लग, गुगल प्लस, टिकटक, ह्वाट्स एप, इमो, वीच्याट, लिन्कडइन, टमलर जस्ता सामाजिक सञ्जाल सम्झनुपर्दछ । निर्वाचन आचारसंहिता अनुगमन समिति केन्द्र, जिल्ला र स्थानीय तहमा रहने व्यवस्था गरेको छ ।
देशमा सहज परिस्थिति भएमा आगामी २०७९ साला मंसिरभित्र संसद र प्रदेश सरकारको चुनाव फेरी पनि हुदैछ । त्यसमा समेत बालिग मताधिकार प्रयोग गर्ने अवसर आउँछ । प्रत्येक सक्षम नागरिकले सरह पार्टीहरुको घोषणा पत्र अध्ययन गरेर मात्र मतदान गर्नमा सबल हुनु पर्दछ । निर्वाचन सम्पन्न हुँदासम्म अझ सविस्तारमा धेरै विषयवस्तुहरु गर्नपर्ने छन् । त्यसलाई विश्लेषण गर्दा लेख लामो हुने भएकोले मैले महत्पुर्ण लागेका विषयवस्तुहरुमा छोटकरीमा चिठीको रुपमा लेख्ने काम भएको छ । पत्र लामो भएपनि विषयवस्तुमा निष्कर्ष आउदैन । पढाइ, लेखाइलाई निरन्तरता दिनुको विकल्प छैन । व्यहावरिक ज्ञानको प्रयोगको शिक्षालाई महत्वपुर्ण मानिन्छ । हातमा मोबाइल छ क्यारे फुर्सदमा धधध।भभिअतष्यल।नयख।लउ लगइन गरी विस्तृत रुपमा जानकारी लिन सकिन्छ । गुगल डट कम डट एनपीमा सर्च गरी विश्वमा निर्वाचनको इतिहास, नेपालमा निर्वाचनको इतिहासका बारेमा र हाल नेपालसहित विश्वको परिवेशमा चुनावको समसायिक परिवेशका बारेमा जानकारी लिुनपर्दछ । विभिन्न राजनीतिक पार्टीका विचार, भातृसंगठनका बारेमा समेत सुझबुझ राख्नु पर्ने हुन्छ भन्दै पत्रको श्रृङखलाबाट बिदा हुनुभन्दा अगाडि छोरीले आमा रुपक देवी थापा मगर र तिम्रो भाई तथा मेरो छोरा हिम्मत थापा मगरलाई लेखेका पत्रहरुको संग्रह एक पटक पढ्नका लागि अनुरोध गर्दछु । छोरी रुयासाको लागि समेत कामकाज लाग्ने विषयवस्तु हुन सक्दछ । सकभर मैले पत्र लेख्दा जिवनसंगिनी रुपक, छोरी रुयासा र छोरा हिम्मतका लागि फरक फरक विषयवस्तुहरुलाई समावेश र अध्ययन गरी लेख्ने प्रयास गरेको छु । एघारौ पत्रको श्रृङखलाबाट बिदा चाहान्छु ।
उही बाबा
बागलुङ नगरपालिका–१०, भकुण्डे





