पोखरा/ मृत्यु भइसकेका व्यक्तिको नाममा पनि पोखरा महानगरले ११ लाख ६० हजार भत्ता निकासा गरेको खुलेको छ । महानगर आफैले मृत्यु दर्ता गरि लगत कट्टा गरिसक्दासमेत मृतकको नाममा रकम निकासा गरेको महालेखा प्रतिवेदनले खुलाएको छ ।
विभिन्न १० वडाका मृतकको नाममा निकासा भएको यो रकम फिर्ता गरि संघीय सञ्चित कोषमा दाखिला गर्न महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
‘सामाजिक सुरक्षा कार्यविधि २०७७ को दफा १५ (२) मा भत्ता खाइपाई आएको कुनै व्यक्तिको मृत्यु भएमा मृत्यु भएको दिनसम्मको भत्ता भुक्तानी दिई बाँकी रकम फिर्ता गरि संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था छ’, प्रतिवेदनमा भनिएको छ, ‘पोखरा महानगरपालिकाले मृत्यु दर्ता तथा लगत कट्टा पश्चात १० वडाको लाभग्राहीको खातामा ११ लाख ६० हजार रुपैयाँ निकासा गरेको छ । बढि भुक्तानी भएको रकम फिर्ता गर्नुपर्दछ ।’
यसबाहेक महालेखाले निवर्तमान मेयर जिसीको निर्णयले गर्दा महानगरपालिकालाई ३ करोड ६३ लाख २४ हजार रुपैयाँ व्ययभार बढाएको उल्लेख गरेको छ ।
मेयर जिसीले आफ्नो चुनावी घोषणापत्रमा वृद्धभत्ता १० प्रतिशत थपेर दिने उल्लेख गरेका थिए । स्थानीय सरकारले आफ्नो कोषबाट रकम थप दिन पाउँदैन । तर, मेयर जिसीले ०७४ जेठ १४ गते पदभार ग्रहण गर्दै दोश्रो निर्णयमा सामाजिक सुरक्षा भत्ता थप गर्ने निर्णय गराए ।
वृद्धवृद्धाले संघीय सरकारबाट पाउने वृद्धभत्तामा २०० रुपैयाँ थपेर दिने निर्णय मात्रै भएन ६ करोड बजेट विनियोजन नै भयो । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १५ (२) मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीका लागि संघीय सरकारबाट प्राप्त भत्तामा स्थानीय सरकारले आफ्नो कोषबाट रकम थप गरी प्रदान गर्न नपाउने व्यवस्था छ ।
महालेखाले, ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधी, २०७५ १५(२) मा सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीहरुका लागि संघीय सरकारबाट प्राप्त भत्ता रकममा स्थानीय सरकारले आफ्नो कोषबाट कुनै पनि रकम थप गरि प्रदान गर्न नसकिने व्यवस्था छ’, उल्लेख गरेको छ ।तर, उक्त कार्यविधि विपरित महानगरले ज्येष्ठ नागरिकलाई ६ करोड विनियोजन गरि मासिक २ सय रुपैयाँ थप गरि ३ करोड ६४ लाख २४ हजार भुक्तानी गरि व्ययभार बढाएको उल्लेख गरेको छ ।





