पोखरा सहरबाट मध्यपहाडी लोकमार्गलाई पछ्याउँदै पश्चिम लाग्नेहरुको लर्को उस्तै छ । सिजन होस् या अफसिजन, हिमाल पारिको मुस्ताङ ताक्नेहरुको जमात बाक्लो देखिन्छ तर धौलागिरीकै सेरोफेरोमा रहेका पर्वत, बागलुङ वा बेनीमा भने थोरैको मात्र मन अडिन्छ । उनीहरु त सिर्फ यी ठाउँहरुलाई ट्रान्जिटका रुपमा मात्र लिन्छन् । चिया कफी पिउने स्टेसन वा लन्च गरेर थकान बिर्साउने एकाध घण्टाको विश्रामस्थल । अझै पनि यी ठाउँहरु पर्यटकहरुको प्राथमिकतामा परेका छैनन् । विडम्बना, अझै यी जिल्लाहरुका ऐतिहासिक, सांस्कृतिक एवं जैविक विविधताको पहिचान, संरक्षण र प्रवद्र्धन हुन सकिरहेको छैन ।
कलासंस्कृति संरक्षणको नौलो सुरुवातः शताब्दी घर
कुस्मा बजारको मुख्य चोक । पोखराबाट जाँदा बजारबाट देब्रे लागेपछि पुगिन्छ आइएबी बैंक । त्यहीँ बैंक पछाडि पुगिन्छ संरक्षणको चरणमा रहेको पुरानो घर । कंक्रिटले भरिएको सहरमै यति सानदार कलाले भरिपूर्ण घर अझै बाँकी देख्दा पत्यार लाग्दैन । तर आफ्नै आँखाले देखेपछि नपत्याएर सुख ?
यो केवल पुरानो घर हैन, यो कुश्मा कै इतिहास बोकेको पुरानो सम्पदा पनि हो । ३ सय वर्षभन्दा लामो इतिहास बोकेको यस घरले जीवन्त पारेको छ पुराना कला संस्कृति र इतिहासलाई । यही घरलाई मात्र हैन, घरसँगै कुश्माको कला संस्कृति र इतिहासलाई संरक्षण गर्ने जमर्को गरेको छ कुश्मा आर्ट प्रोजेक्टले ।कुश्माको मुटु माझ गाउँमा अवस्थित यस ऐतिहासिक घरमै आफ्नो जीवन बिताएका राम गिरी त्यही आँगनमा लठ्ठी टेक्दै आँगनमा आइपुगे । उमेरले ६ दशक पार गरिसकेका उनै राम गिरीसँग हामी यही ऐतिहासिक घरमा बितेको बाल्यकालमा फर्कियौं ।
गिरी निवासदेखि शताब्दी घरसम्मः
२२ जनाको ठूलो जहान परिवार रहेको उनको परिवार यही घरमा अटाएका थिए । तीन सय वर्ष भन्दा अगाडि उनका जिजु हजुरबुबा धनराज गिरी तीर्थ यात्रा गर्ने क्रममा कुश्मा आइपुगेछन् । उनलाई कुश्माको प्राकृतिक सुन्दरता, भौगोलिक बनोट र हावापानीले मोहित बनाएछ । अनि उनले यहीँ ठाउँमा घरको जग बसाले । उनै हजुरबुबा धनराजले बसालेको जगमा आजको दिनसम्म ६/७ गिरी पुस्तालाई ओत मात्र थिएन, यहीँ ठाउँमा जन्मे हुर्केर पखेटा पलाएका उनीहरु कोसौ टाढा उडान भरिसकेका छन् । देश विदेशका कुनाकन्दरामा गिरी परिवारका सदस्यहरु भेटिन्छन् ।
धनराजका पाँच भाइ छोराहरु थिए – नरसिंह, कालु, प्रसाद, दौलत र ईश्वर । उनै कान्छो छोरो ईश्वरको जिम्मामा यो घर रह्यो । उनका तीन भाइ छोरामध्ये महन्तले पछि बाको बिँडो धान्दै घर समाले । महन्त कै कान्छो छोरो बलभद्रको भागमा यो घर पर्यो । उनका ६ भाइ छोराहरु जन्मिए । बलभद्र बितेपछि आमालाई जुन छोरासँग बस्ने रहर छ, उनैलाई यो घरको जिम्मा दिने निर्णय भयो । राइँलो छोरा रामसँग बस्ने आमाको राय भएपछि राम गिरीले यो घर सम्हाले । ‘हाम्रो ६÷७ पुस्ताका सयौं सन्तानहरु यही घरको छत्रछायाँमा जन्म्यौं, हुक्र्यौँ । सानामा हाम्रा २२ सदस्यहरुले भरिन्थ्यो यो घर । कोही भुइँतलामा, कोही आँटीमा त कोही धन्सारमा मिलीजुली सुत्थ्यौं । कुन सन्तानले खाना खाए, कुन सन्तान निदायो, आमालाई नै पत्ता हुदैनथ्यो । यति धेरै सन्तानहरुलाई हुर्काएको घर हो यो । नयाँ घरहरु बनेर सबै सन्तानहरु आ–आफ्ना बाटा लागिसक्दा घर बिरानो छै बनिसकेको थियो । ढिलो चाँडो यसको अस्तित्व हराएर जाने निश्चित थियो तर आज कुश्मा कला परियोजनाले यसको संरक्षण, प्रवद्धन र हेरचाह गर्ने जिम्मा लिँदा हामी गौरवान्वित भएका छौं ।’
कला नै कलाले भरिपूर्ण घरः
६÷७ गिरी पुस्ताहरुको जन्मस्थल मात्र हैन यो घर, यो घर कुश्मा कै विभिन्न कालखण्डका विकास, परिवर्तन र रुपान्तरणको साक्षी बनेर जीवन्त बनिरह्यो । घर पुरानो छ तर संरचना बलियो र कलात्मक हिसावले बेजोड छ अझै । ग्रामीण शैलीमा बनेको यो घरको कला नै कलाले भरिएको संग्रह हो भन्दा कुनै अत्युक्ति नहोला ।
घर अगाडि ठूलो चारपाटे आँगन छ । जुन ढुंगाले चिटिक्क पारेर छापिएको छ । बाहिर बासकै तगारो । चौडा पिँढी, माइली पिँढी । भुँइतला, माइली आँटी र माथिल्लो आँटी । झ्याल, ढोका र टुडालमा कुदेका बुट्टेदार डिजाइनहरुले केवल नेपालको कलामात्र झल्काउँदैन, सँगै जगेर्ना गरेर राखेको छ पुराना शिल्प शैलीलाई । झ्याल, ढोका दलिन, थामदेखि निदाल सबै सालका काठका । धुँवाले दह्रा बनेका दलिन र थामले घरमात्र थेकेको छैन, सँगै थेगेको छ लामो इतिहासलाई । ढुंगा, माटो र इँटाले बनेको गारा जब्बर छ । समग्रमा यसले नेपालको पुराना वास्तुकला, चित्रकला एवं शिल्पकलालाई बचाएर राखेको छ ।
इतिहास बोकेको घरः
२०२४ साल । पर्वत जिल्लाको सदरमुकाम कुश्मा जिल्ला बनेपछि यो राजनीतिक, प्रशासनिक र सरकारी काजकार्यको हब बन्दै गयो । उतिबेला खरले छाएका स–साना घरहरु रहेको कुश्मामा कलाले भरिपूर्ण, जस्ताले छाएको यही मात्र चिटिक्कको घर थियो । त्यसबेलाका जिल्ला पञ्चायत सभापति अमृतप्रसाद जोशीले रामका बुबालाई यो घरमा भूमिसुधार कार्यालय राख्ने प्रस्ताव राखेका थिए । प्रयोग बापत केही रकम पनि पाउने भएपछि रामका बुबाले सहर्ष स्वीकारे । यसरी विभिन्न कालखण्डमा आकर्षणको केन्द्रमा रहेको यस घर पछिल्लो समय संरक्षणविहीन अवस्थामा थियो । राम गिरीको परिवार नयाँ घरमा बस्न थालेपछि यो घर भाडामा लगाइएको थियो । जीर्ण अवस्थामा पुगेको यसलाई संरक्षण गर्न आइपुगे आरके अदिप्त गिरी र कुश्मा कला परियोजना ।
फिरन्ते गिरीले बुनेको त्यो सपनाः
बागलुङको जैमिनीमा जन्मेका आरके अदीप्त गिरी कुश्मा काखमै रमाए । यहीँ हुर्के र पढे । नेपालका कुनाकन्दरा चहारिसकेका उनै कुशल फोटोपत्रकार, सशक्त कवि एवं गजलकार, प्रकृतिप्रेमी, वातावरण संरक्षणका अभियन्ता गिरी पछिल्लो समय भिन्न सपनालाई यर्थाथमा परिणत गर्न अहोरात्र खटिएका छन् । यति लामो इतिहास, कलासंस्कृति र परिवर्तनको साक्षी बनेको यस घरको संरक्षणकै लागि जोडिएको संस्था हो कुश्मा कला परियोजना । ‘शताब्दी घर –हेरिटेज होम’ उपमा दिएर यस घरको संरक्षण, प्रवद्र्धन र कलासंस्कृतिको हव बनाउँदै छ संस्था । झट्ट सुन्दा कुनै विदेशी दाताको सहयोगमा सञ्चालित लागेपनि यो जनस्तरमा सञ्चालित परियोजना हो । अहिले हामीले आफ्नै खल्तीबाट पैसा हालेर काम अघि बढाइरहेका छौं, आरके भन्छन्, ‘राम्रो कामको सुरुवात ढिलो हुनु हुँदैन । हामीले नगरेको भए कसैले यो आँट गरेर जिम्मेवार उठाउनुपथ्र्यो । आजको दिनसम्म कुनै सरकारी निकाय वा विदेशी संघसंस्थाबाट कुनै सहयोग नमिलेपनि हामीले हात कमाएका छैनौं । विस्तारै यस परियोजना पछिको महत्व बुझ्दै गएपछि सबैको साथ, सहयोग र हौसला मिल्नेमा हामी निश्चिन्त छौं ।’
देशका कुनाकन्दरा पैदलमा विचिरण गर्ने, बुझ्ने, पढ्ने र सबैलाई काव्यिक अक्षर र कौशल फोटोमार्फत पस्काउने उनै गिरीको प्रकृति, वातावरण र कलासंस्कृतिको मोह बेजोडको छ । ‘आफ्नै गतिमा बगिरहेको मोदीलाई थुनेर दर्जनौं ठाउँमा पैसा कमाउने मनसायले हाइड्रो बनाएका छन् । कालीगण्डकीको कोखमा डोजर चलाएर रातारात कैयौं मालिकहरुबने। यसैमाथि राजनीति गरेर यसलाई डाइभर्सन गर्न लागियो,’ उनी थप्छन्, ‘प्रकृति, वातावरण र पर्यायवरणको महत्वबारे पैसाको भोगीहरुका आँखामा पैसाले लेप लगाइदिए । उनीहरु अन्धा बने । पुराना कलासंस्कृतिलाई माँसेर आधुनिकताका नाममा विकृतिहरु मात्र भित्राए । पुराना शैलीका घरहरु भत्काएर विकासमा नाममा कंक्रिट शहर बसाले । शहरमात्र हैन, कंक्रिट मन भएका उनीहरुमा न मानवता छ, न संवेदना नै । चौतारा मासेर कंक्रिट प्रतिक्षालय बनाए । कुरुप बनिसकेको यो सिंगो संसारमा झिनो आशासहित बलेको मधुरो दियो हो – कुश्मा कला परियोजना ।’
शताब्दी घरः अल इन वान
तीनतले घरमा परियोजनाले विभिन्न योजनाहरु बनाएको छ । भुइँतलामा पुराना पुस्तकहरुसहितको पठनयोग्य पुस्तकालय बन्नेछ । अनि छैवैमा बन्ने छ, कलासंस्कृति र समसामायिक विषयमाथि छलफल, विमर्श र बहस गर्ने सभाहल । माइली आँटीमा थिएटर बन्नेछ । अनि बार्दलीमा आर्ट ग्यालरी । कुश्मालाई प्रतिनिधित्व गर्ने विभिन्न फोटा, पेन्टिङ एवं स्केटले बार्दली सझिनेछन् । त्यहीँ तलामा रहेको पुरानो धनकुटी अर्थात जहाँ धान, चामल मकै राखिन्थ्यो, त्यसलाई ज्ञानकुटीमा रुपान्तरण गर्ने योजना छ संस्थाको । अनि माथिल्लो तलामा सांस्कृतिक संग्रहालय, जहाँ राउँटेदेखि थारुसम्म र गुरुङ मगरदेखि सेर्पासम्मका भेषभुषा, बाजागाजा र उनीहरुको कलासंस्कृति झल्किने पुराना वस्तुहरुलाई संरक्षण गरेर राखिनेछ । शताब्दी घरको आँगन अगाडि तयार हुनेछ – फलैँचा । आँगनमै बन्नेछन् तीन वटा आकर्षक तुल्सीका मठहरु । छेवैको खुल्ला भागमा थिएटर बन्नेछ । अनि आँडैमा आमा भान्सा, जहाँ पाहुनालाई पस्किनेछन् विभिन्न रैथाने परिकारहरु । चौडा आँगनमा ठूल्ठूला चित्रकला, नाटक एवं गीत संगीतको कार्यशाला बनाउने सपना संस्थाको सपना छ । वाङ्मयका हरेक विधालाई समेटेर यसमाथि छलफल, विमर्श र चर्चा परिचर्चा गर्ने थलो बन्नेछ शताब्दी घर । अनि बन्नेछ इतिहास, समाज र बदलिदोँ देश चियाउने जीवन्त आँखीझ्याल ।
त्यो सपना, यो यर्थाथताः
कोरोना महमारीले सुस्ताएको बेलामा जुरमुराएका आरके आदिप्त गिरीको सपनाहरु दिनप्रति दिन यर्थाथमा परिणत हुँदैछन् । कुनै समय जीर्णोद्धार अवस्थामा संरक्षणविहीन रहेको यो घरको चमक दिनप्रति बढ्दो छ । केही समयमा अन्तिम रुप लिने यस परियोजनाले कुश्मामा मात्र नभईनेपालमै छुट्टै पहिचान बनाउनेमा कुनै दुई मत छैन ।
समृद्ध कुश्माको परिकल्पनाकारः
उनले बुनेका कैयौं सपनामध्ये मात्र एक हो शताब्दी घर । गाउँहरु जोड्ने कोरा साइकल ट्रयाक, ग्रामीण जनजीवन बुझ्ने हाइकिङ ट्रेल, राउन्ड दि कुश्मा म्यारथुन ट्रेल, विभिन्न गुफाहरु, मन्दिर अनि झोलुंगे पुलले जोड्ने समृद्धिका सम्भावनाहरुबारे अध्ययन, खोज र प्रवर्धन गर्दै कुश्मालाई देशी विदेशी पर्यटकहरुको हब बनाउने सपनाहरु बेजोड छन् । उनको खोज, अध्ययनको दायरा त लोभलाग्दो छ नै, सपना साकार गर्न उनको लगनशीलता, समर्पण र एकाग्र अनुशरण गर्न योग्य छ । प्रकृति, वातावरण र पर्यायवरणको संरक्षणबारे उनले चलाएको काव्यिक अभियानले कैयौंका आँखा खोलिदिएका छन् ।
अन्त्यमा,
आरके अदीप्त गिरीको परिकल्पना, शताब्दी घर र कुश्मा कला परियोजनाको स्वरुप नजिकबाट नियाल्दा मन मस्तिष्कमा छुट्टै उर्जा मिल्दछ । यसले कलासंस्कृति, वातावरण र प्रकृति संरक्षणमा लाग्ने कैयौं युवालाई प्रेरणा मिल्नेमा कुनै दुई मत छैन । शताब्दी घर जीवन्त संग्रहालय बनोस् । कैयौं आरकेहरु यस धर्तीमा जन्मीरहुन् ।
शुभकामना !





