आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पर्यटकको गन्तव्य र बसाइ बढाउने अभियान

पर्यटकको गन्तव्य र बसाइ बढाउने अभियान


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७९, बुधबार

पोखरा/ नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान र विकास गर्दै पोखरा र वरपरका पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन सहकार्य गरेर अगाडि बढ्ने विषयमा पोखरा महानगरपालिका र होटल संघ पोखरा एकमत देखिएका छन् ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वागातार्थ संघले सोमबार पोखरामा आयोजना गरेको कार्यक्रममा होटल संघका पदाधिकारी तथा सल्लाहकारले पर्यटन क्षेत्रको अवस्था र सुधारका लागि सुझावहरु राखेका थिए ।

सो अवसरमा भनाइ राख्दै महानगर प्रमुख आचार्यले यसअघिका बजेटमा पर्यटन क्षेत्रका लागि एक दुई करोड रुपैयाँमात्र बजेट विनियोजन हुँदै आएकोमा चालू बजेटमा ५८ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । सडकमार्गको विकास र अन्य कारणले समेत पोखरा र वरपरका कतिपय पर्यटकीय गन्तव्य मासिंदै गएको स्मरण गराउँदै उनले नयाँ गन्तव्यहरुको खोजी गरिनुपर्ने र पोखरा भ्रमणमा आउने पर्यटकको बसाई २ दिनबाट बढाएर पाँच दिनको बनाउने वातावरण तयार गरिनुपर्ने बताए । धार्मिक तथा खेल पर्यटनको विकास र विदेशबाट सन्तहरु बोलाएर सम्मेलन गर्ने विषयमा समेत महानगर र व्यवसायी मिलेर अगाडि बढ्न सकिने उनको भनाइ थियो ।

पर्यटकीय लेकसाइड लगायत सिंगो पोखराको सुरक्षा, यहाँको पार्किङ व्यवस्थापन, ट्याक्सीहरुलाई मिटरमा चलाउने, प्रदूषण नियन्त्रण र फोहोर व्यवस्थापनमा समेत महानगर सचेत रहेको उनले सो अवसरमा बताए । पोखरा महानगरभित्र सानो रिङरोड छुट्याएर त्यसको ब्युटिफिकेसन गर्ने तथा ट्राफिक लाइट र सीसी क्यामेराको व्यवस्थाका लागि समेत महानगरले काम अगाडि बढाउने उनले बताए ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा आउने पर्यटकमध्ये ४० प्रतिशत हिस्सा आन्तरिक पर्यटकको रहेको जानकारी दिंदै कोभिडका कारण पर्यटन क्षेत्रका हजारौं मजदूर र व्यवसायी विस्थापित हुन पुगेको बताए । पछिल्लो क्रममा पोखरा आउने पर्यटक संख्या पुनः घट्न पुगे पनि आगामी सेप्टेम्बर महिनादेखि त्यस्तो संख्यामा बढोत्तरी आउनेमा आफूहरु आशावादी भएको उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं संघका सल्लाहकार विश्वशंकर पालिखेले पोखरामा बन्दै गरेको नयाँ विमानस्थलबाट कुन–कुन विमान कम्पनीले सेवा दिने हो भन्ने विषयमा पूर्वतयारीका लागि वायुसेवा संचालक संघ नेपालसँग छलफल र सहकार्य गरिनुपर्ने सुझाव राखे । क्यासिनोको रोयल्टी घटाएर पोखरामा क्यासिनो सुरु गर्न सके पर्यटक बढ्ने सुझाव उनको थियो ।

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरि शर्मा गैह्रेले महानगरमा पर्यटनका लागि अलग शाखाको व्यवस्था र पोखरा दृष्यावलोकनका लागि एकद्वारा प्रणालीको व्यवस्था हुनुपर्ने बताए ।हानका सदस्य एवं होटल संघ पोखरा नेपालका सल्लाहकार भरतराज पराजुलीले नयाँ विमानस्थलबाट पोखराको मुख्य सहरी क्षेत्रसम्म फराकिला र व्यवस्थित सडक निर्माण गरिनुपर्ने सुझाव राखे । संघका सल्लाहकार वच्चुराम तिवारीले पोखराको पर्यटन क्षेत्रको लगानी सुरक्षित हुने वातावरण तयार गरिनुपर्ने बताए । संघका सल्लाहकार गोविन्दराज पहारीले पोखरालाई पर्यटकीय राजधानी बनाउन महानगरले गरेको प्रयास सह्रानीय भएको भन्दै फोहोर व्यवस्थापनमा समेत उत्तिकै ध्यान दिएर अगाडि बढ्न सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->