पोखरा/ पोखरा महानगरपालिकाले पोखरा ३३ मा अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । सोमबार विभिन्न जिल्लाबाट आएका मानिसहरुले अवैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको महानगरका कानून महाशाखा प्रमुख नारायणप्रसाद शर्माले जानकारी दिए । मेयर धनराज आचार्यको निर्देशन र वडाध्यक्ष रामचन्द्र अधिकारीको उपस्थितिमा ती छाप्रा भत्काइएको हो । उनका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६ वटा छाप्रा भत्काइएको हो ।
सार्वजनिक जमिनमा टहरा वा अन्य संरचना निर्माण गरेकाहरुले आफै यस्ता संरचना हटाउन आग्रह गर्दै उनले नभए कानून बमोजिम क्षतिपूर्ति तिराएर महानगरले यस्ता संरचना हटाउने बताए । ‘अनधिकृत रुपमा जग्गा कब्जागरि निर्माण गरिएका २६ छाप्रा भत्काएका छौं । पोखरा महानगरको सार्वजनिक जग्गा संरक्षणको अभियान यहीँबाट सुरु भएको छ । महानगरका अन्यत्रपनि यसरी निर्माण गरिएका संरचना क्रमस हटाइने छ’ उनले भने ।
मेयर धनराज आचार्यका अनुसार महानगरले हटाएकाहरु कोही पनि भूमिहीन हैनन् । ६ महिना अघिबाट महानगरका विभिन्न स्थानमा बसोबास गर्दै आएका वास्तविक भूमिहीन तथा सुकुम्बासीको लगत संकलन गरिरहेको छ । करिब २० हजार भूमिहीनको आवोदन आएको बताउँदै उनले अव्यस्थित बसोबासलाई व्यवस्थित बनाएर लालपूर्जा दिने तयारी गरिएको जिकिर गरेका छन् ।
‘सकेसम्म छिटो सुकुम्बासी समस्या समाधान गरि वास्तविक भूमिहीन एवं सुकुम्बासी हरुलाई लालपूर्जा बितरण गर्ने क्रममा छौँ’,उनले भनेका छन्,‘ यही क्रममा पोखरा महानगरको वडा न १८, ३३ लगायतका सार्वजनिक स्थानमा रातारात प्रायोजित रूपमा घर टहरा बनाइ सार्वजनिक जग्गा कब्जा गरिएको पाइएपछि उहाँहरुलाई स्थानीय प्रसासनको सहयोगमा ७ दिनको सूचना दिएर सार्वजनिक जग्गा खालि गराइएको हो । हटाइएकामध्ये कोही पनि सुकुम्बासी हैनन् ।’ उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्न नगरवासीसँग आग्रह पनि गरेका छन् ।





