आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकीमा ६० हजार बेरोजगार, ६७ हजार विदेशमा

गण्डकीमा ६० हजार बेरोजगार, ६७ हजार विदेशमा

प्रदेशले रोजगार मेला गर्दै , ६७ हजार विदेशमा, पोखराबाटै बढी महिला विदेशमा ।


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७९, बुधबार

पोखरा/ गण्डकी प्रदेश सरकारले साउनको ६ देखि ८ गतेसम्र्म ‘वृत्ति परामर्श तथा रोजगार मेला’ को आयोजना गरेको छ । शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनमार्फत् कार्यक्रमको जानकारी दियो ।

तर, पत्रकार सम्मेलनमा सोधिएको प्रश्न ‘गण्डकीमा कति बेरोजगार छन ?’ को जवाफ चाहिँ यकिन नभएको भन्ने जानकारी दिइयो । यही कार्यक्रमले २ सय जनालाई रोजगारी पनि प्रदान गर्न सक्ने अनुमानको तथ्य पनि अधिकारीहरुले बताए ।

अर्थ मन्त्रालयले निकालेको आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण अनुसार प्रदेशमा बेरोजगारीको संख्या ६० हजार छ । ३ वर्षअघि प्रकाशित गण्डकी नीति तथा योजना आयोगले स्थितिपत्रमा स्थितिपत्रमा चाहिँ यो तथ्यांक ५६ हजार थियो । तीन वर्षपछिको आर्थिक सर्वेक्षणले चाहिँ बेरोजगारको संख्या बढेर ६० हजार पुगेको छ ।

नेपाल श्रमशक्ति सर्वेक्षण २०१९ अनुसार गण्डकीमा काम गर्ने उमेर समूहको जनसंख्या १८ लाख ६८ हजार रहेको छ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा अनुसार प्रदेशको कुल जनसंख्या २४ लाख ७९ हजार ७४५ को ७५ प्रतिशत हुन आउँछ ।

तर, काम गर्ने उमेर समूहको यो जनसंख्याको ६४ प्रतिशत जनसंख्या चाहिँ श्रमशक्तिमा समावेश भने छैन । बाह्र लाख दुई हजार जना चाहिँ श्रमशक्तिमा समावेश नहुँदा काम गर्ने उमेर समूहका जम्ममा ६ लाख ६ हजार जना रोजगारीमा छन । श्रमशक्तिमा समावेश भएका ६० हजार चाहिँ बेरोजगार रहेका छन । जुन ९ प्रतिशत बेरोजगार दर हुन आउँछ ।

काम गर्ने उमेर पुगेका पुरुष भन्दा महिलाको संख्या बढी छ । बेरोजगारी दर पनि पुरुषको नै बढि छ । गण्डकीमा पुरुष भन्दा महिला रोजगारमा बढि छन । काम गर्ने उमेर पुगेकाको कुल संख्या १८ लाख ६८ हजारमध्ये महिलाको संख्या १० लाख ९८ हजार छ । पुरुषको संख्या चाहिँ महिलाको भन्दा तीन लाखले कम छ । गण्डकीमा काम गर्ने उमेर पुगेका पुरुषको संख्या ७ लाख ७० हजार मात्र छ । उनीहरु मध्ये तीन लाख ९५ हजार जना चाहिँ श्रमशक्तिमा समावेश नै छैनन । समावेश भएका तीन लाख ४० हजार रोजगारीमा छन भने ३५ हजार पुरुष बेरोजगार छन ।

१० लाख ९८ हजार जना महिला काम गर्ने उमेर समूहका रहेतापनि उनीहरु मध्ये ८ लाख ७ हजार जना चाहिँ श्रमशक्तिमा समावेश नै छैनन । संख्या धेरै भएतापनि जम्मा २ लाख ९१ हजार जना महिलालाई काम गर्ने उमेर समूहमा राखिएको छ ।

यसमध्ये पनि तीन लाख ४० हजार महिला चाहिँ रोजगारीमा आबद्ध छन । २४ हजार महिलाले चाहिँ रोजगार पाएका छैनन ।

यो तथ्यांकले गण्डकीमा पुरुषको तुलनामा २४ हजार कम महिलाले रोजगारी पाएका छन भने ११ हजार जना पुरुष चाहिँ महिलाको तुलनामा बढि बेरोजगार छन ।

६७ हजार विदेशमा, पोखराबाटै बढी महिला विदेशमा

गण्डकी प्रदेशबाट विदेशिने युवाको संख्या आर्थिक वर्ष २०७८/७९ सम्म विदेशिनेको संख्या प्रदेशमा बेरोजगारको संख्या भन्दा बढि छ । वैदेशिक रोजगार विभागका अनुसार उक्त आर्थिक वर्षको ९ महिनामा नै ६७ हजार जना विदेशिएका छन । विदेशिनमा पुरुषको संख्या अत्याधिक मात्रामा रहेको छ । अन्तिम तथ्यांकलाई हेर्दा नौ महिनामा विदेशिने पुरुषको संख्या ६३ हजार ७८७ जना रहेका छन भने महिलाको संख्या चाहिँ तीन हजार ४४४ सहित कुल ६७ हजार २३१ जना विदेश गएका छन ।

यो संख्या आर्थिक वर्ष २०७५/०७६ को भन्दा १५ हजारले बढि हो ।
२०७९/०७९ मा सबैभन्दा बढि तनहुँ र स्याङजाबाट विदेश गएका छन । तनहुँबाट उक्त समयमा ४८२ जना महिला र ११ हजार ३२४ जना पुरुष गरि ११ हजार ८०६ जना विदेशिएका छन ।
स्याङजाबाट चाहिँ १० हजार ८२७ पुरुष बाहिर जाँदा ४६२ महिला गरि ११ हजार २८९ जना विदेशिएका छन । त्यसपछि बढि विदेश जानेमा कास्कीका ६२३ महिला र सात हजार १२० पुरुष सहित सात हजार ७४३ जना, गोरखाका ५७५ महिला र छ हजार ८९४ पुरुष सहित सात हजार ४६९ तथा नवलपुरका ३९९ महिला र सात हजार २८८ पुरुष गरि सात हजार ६८७ जना छन ।

बागलुङबाट चाहिँ १९० महिला र सात हजार ५४२ पुरुष गरि यो अवधीमा सात हजार ५४२ जना विदेशिँदा सबैभन्दा कम मनाङबाट २३ र मुस्ताङबाट चाहिँ ७९ जना विदेशिएका छन । यी दुई जिल्ला मध्ये मनाङबाट ६ महिला र १७ पुरुष तथा मुस्ताङबाट चाहिँ १८ महिला र ६१ जना रहेका छन ।

लमजुङबाट चाहिँ ३०३ महिला तथा पाँच हजार ५५७ महिला सहित पाँच हजार ८६० जना, पर्वतबाट चार हजार २८८ पुरुष र १६९ महिला गरि चार हजार ४५७ जना विदेश गएका छन भने अर्को हिमाली जिल्ला म्याग्दीबाट चाहिँ २१७ जना महिला र तीन हजार ५९ जना पुरुष सहित तीन हजार २७६ जना विदेश गएको तथ्यांकले बताउँछ । यो तथ्यांक अनुसार कास्कीबाट सबैभन्दा बढी महिला विदेशिएका छन भने स्याङजाबाट सबैभन्दा बढी पुरुष विदेशिएका छन ।

आर्थिक वर्ष २०७७/०७८ मा चाहिँ कोभिडका कारण विदेश जानेको संख्यामा कमी आएको थियो । श्रमशक्ति सर्वेक्षण अनुसार गण्डकीमा औपचारिक भन्दा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमशक्तिको संख्या बढी रहेको छ ।

तथ्यांक अनुसार अनौपचारिक क्षेत्रमा तीन लाख ६६ हजार जनाले काम गर्छन । अनौपचारिक क्षेत्रमा पनि ग्रामीण क्षेत्रमा एक लाख ५५ हजार जना र सहरी क्षेत्रमा दुई लाख ११ हजार जनाले काम गर्ने गरेका छन । ग्रामीण क्षेत्रमा अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको संख्या ५४ हजार र सहरी क्षेत्रमा चाहिँ एक लाख १५ हजार रहेको छ ।
अनौपचारिक क्षेत्रमा काम गर्ने पुरुष चाहिँ सहरी क्षेत्रमा भन्दा बढि छन । एक लाख एक हजार पुरुषले ग्रामीण क्षेत्रमा काम गरिरहँदा सोही अनौपचारिक क्षेत्रमा काम गर्ने सहरी पुरुषको संख्या चाहिँ ९६ हजार रहेको छ ।

औपचारिक क्षेत्रमा चाहिँ दुई लाख चालीस हजार जनाले काम गर्ने गरेका छन । औपचारिक क्षेत्रमा काम गर्नेमा पुरुष अगाडि छन । ग्रामीण क्षेत्रमा ३८ हजार पुरुषले काम गर्छन भने सहरी क्षेत्रका पुरुषको संख्या चाहिँ एक लाख पाँच हजार रहेको छ । यो तथ्यांक पुरुषको हकमा अनौपचारिक र औपचारिक क्षेत्रको तुलना ग्रामीण र सहरी क्षेत्रमा काम गर्नेको संख्यासँग विपरित छ ।औपचारिक क्षेत्रमा काम गर्ने महिलाको संख्या ९८ हजार छ । जसमध्ये २६ हजारले ग्रामीण र ७२ हजार महिलाले सहरी क्षेत्रमा कार्यरत छन ।

प्रदेशले रोजगार मेला गर्दै

सरकारले आगामी शुक्रबारदेखि त्रिदिवशीय ‘वृत्ति परामर्श तथा रोजगार मेला’ को आयोजना गरेको छ ।
मेलामा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रदायक शैक्षिक संस्थाहरु, प्राविधिक धार सञ्चालित विद्यालयहरु, ईन्स्योर परियोजनाको सहयोगी संस्था अन्तरङ्ग र अन्य संघ संस्थामा आवद्ध विज्ञहरुबाट वृृत्ति विकासका बारेमा अवलोकनकर्ताहरुलाई परामर्श सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।
पत्रकार सम्मेलनमा नै मन्त्रालयले जागिर खोज्ने र कर्मचारी रोज्ने एप सार्वजनिक गरेको जनाएको छ ।

‘तालिम तथा रोजगार व्यवस्थापन सुचना प्रणाली’ (टिइएमआइएस) नामक यो एप्लिकेसनमार्फत सीपमुलक तालिम लिन चाहने, रोजगारीको खोजीमा, रोजगारदाता र सीप परिक्षण गर्न चाहनेहरुको लागि छुट्टाछुट्टै जानकारी लिनेदेखि फर्म भर्नेसम्मको व्यवस्था गरिएको मन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए ।
उनले उक्त एफ जागिर खोज्ने र रोजगारदाताले दक्ष कर्मचारी रोज्ने दरिलो माध्यम हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नै मन्त्री श्रेष्ठले अहिले विद्यार्थीहरु एसईई र कक्षा १२ पछि कुन विषय अध्ययन गर्ने भनेर अन्योलमा रहेको बताए । ‘विद्यार्थीहरु एसईई र कक्षाको परिक्षा पछि कुनकुन विषय अध्ययन पछि आफुले रोजेको विषयमा दक्ष हुन सकिन्छ भनेर निर्णय लिन नसकेको अवस्थालाई मध्यनजर गर्दै रोजगारको मेलाको आयोजना गरेको हो’, पत्रकार सम्मेलनबारे प्रष्ट पार्दै उनले भने ।
मन्त्री श्रेष्ठका अनुसार मेला अवधिभर सहभागीहरुले रोजगारीका सम्भावित क्षेत्रहरुका बारेमा जानकारी हासिल गर्नेछन ।

मेलालाई स्वीस सरकारको सहयोग, नेपाल व्यावसायिक योग्यता परियोजनाको प्राविधिक सहयोग, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान (जिटिइभिटीए), प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेश, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश, रोजगारदाताहरु र राइट फर चिल्ड्रेनको समन्वयमा सञ्चालन हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->