मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

असारे रोपाइँ, सेखु अनि बाल्यकालका सम्झनाहरु

असारे रोपाइँ, सेखु अनि बाल्यकालका सम्झनाहरु


  • दिवस गुरुङ
  • साउन ९ २०७९, सोमबार

शहर पसेपछि गाउँ पुग्ने समय मिलाउन साइत नै जुराउनु पर्ने । शहरको व्यवस्त दैनिकीबाट फुर्सद नै कहाँ मिल्छ र ? हुन त यो पनि भनिन्छ, एक दिनमा सबैसँग हुने भनेको त्यहीँ चौबिस घण्टा न हो । प्राथमिकता केलाई दिने भन्नेले नै अर्थ राख्छ रे ! शहर बसेपछि यतैको व्यस्ततामा अल्झिहाल्ने, उम्किन नमिल्ने गरी ।

पोखराबाट नजिकै पर्छ मेरो गाउँ । गाडीमा जम्मा डेढ घण्टाको बाटो । हिँडेर पनि एकै दिनमा पुगिन सक्छ तर सधैं घरसम्म पुग्ने बाटो टाढा बन्छ । अझ भनौं टाढा ठानियो । वर्षमा केही पटक घरसम्म पुग्ने साइत जुर्छ । त्यहीँमध्ये एक साइत हुन्छ, असारे रोपाइँमा । यसपालि पनि असार पस्न म पनि गाउँ पसेँ । असारका लागि गाउँ पस्नु मनका खुसी पस्नु पनि हो ।

पानी बेस्मानी दर्किरहेछ । असार मास लागेसँगै यसपालि मज्जाले अविरल पानी परिरह्यो । अझै परिरहेछ । पानी पर्नु, हिलो पस्नु हो । खुसी छाउनु हो घर घरमा । दशैं तिहार जति कै महत्व किसानका लागि असारे मासले राख्छ । मानो रोपेर मुरी उब्जाउने बेला जो हो । त्यसैले भ्याइनभ्याइको चटारो छ रोपाइँको । वर्षभरिको खाद्यान्य जोह गर्ने बेला हो असार । हजुरबाले भनेको सम्झिन्छु, असारमा कोही बितेपछि बोराले छोपेर मेला पस्नुपथ्र्यो बाबु । यसको अर्थ हो, यो बेलामा लास कुर्ने वा लासलाई अन्त्यष्टि गर्नेसमेत फुर्सद हुँदैनथ्यो । अहिले दुःख गरे पो वर्षभरिलाई चुलो बल्छ, पेटमा अन्न पस्छ । कुनै साल खडेरी पर्दा किसानका मनमा पनि खडेरी लाग्छ । भोकै भइने डरले ननिदाएका कैयौं छटपटी रातहरु छन् किसानका । तर यसपालि असार लागेसँगै मन्सुन सुरु भयो । पानीका मूल फुटेर आए । अनि सँगै फुटे हर्षका आँसुहरु, कारण यसपालि भात खान पाइन्छ भन्ने अभिलाषाले ।

गाउँघरतिर असार लागेको छ । बिहानै सबेरै झिस्मिसे मै ज¥याकजुरुक उठ्छन् सबै किनकि घर धन्दा भ्याएर सबेरै खेत पुग्नुछ । ब्याडेहरुलाई धानको ब्याडमा बिउँ उखेल्न भ्याइसकेका छन् । अनि केहीँ बेरमै आइपुग्छन्, काँधमा हलो, जुवा र दाँदे बोकेर हली दाई । एक जना खेत खेतमा पानी मिलाउन बाउसो बोकेर कुँलो सोझ्याउन कुदिहाल्छन् । अनि खेतैमा पुग्छन् रोपाहार बेलैमा । बाउँसे, रोपाहर, हली, ब्याडे सिँगो परिवार हो असारको । वास्तममा यो मेला अर्थात रोपाइँ मात्र हैन, यो त किसानको लागि मेला अर्थात उत्सव वा पर्व नै हो ।

पानी पर्दैमा मेला कहाँ रोकिन्छ र ? जतिसुकै पानी दर्किएपनि काम रोकिनेवाला छैन । बरु खेतमा पानी नभएर टन्टलापुर घाममा कामबाट आराम गर्नुपर्ने अवस्था हुनसक्छ । काम रोकिनु जीवन सकिनु हो, भन्नेहरु भन्छन् । रुझेरै जाने त खेतमा ? हैन, उनीहरु छीडि वा बैइगलमा धुवाले सेकाएर राखेका सेखु निकाल्छन् । अनि सबैले थाप्लोमा सेखु अडाएर खेत झर्छन् ।

सेखु । चिज उहीँ हो, काम उहीँ हो, ओत दिने । ठाउँ अनुसार घुम, सेउँ, पै कुसा, स्याखु, स्याङ्गो, झिम, मौनो आदि नामले बोलाउँदा रहेछन् । बासको चोयाले मुखतिर बिट मार्दै बनेको यसमा भोर्लाका पातहरु मिलाएर चोयाले बुन्छन् । यति जब्बर तरिकारले चोया र पातहरु समातिएका हुन्छन् कि असारे वा साउने झरीमा पनि पानी भित्र पस्नेवाला छैन । कला, कौशलता, सीप र लगनशीलताको समष्टिगत रुप हो यो ।
सबैका थाप्लामा यस्तै सेखुहरु अडिएका हुन्छन् । उहिलेका बुढापाकाले सोचविचार गराएरै बनाएका हुन् सेखु । त्यतिबेला अहिलेको जस्तो छाता, रेनकोट, आदि कहाँ हुन्थे र ? स्थानीय स्रोतसाधनलाई उपयोग गरेर बनाएको एक प्रोडक्ट हो सेखु । सेखु ओढेरै जोतिरहेका छन् हली । थाप्लामा यहीँ अड्याएर बाउसे आली लगाइरहेका छन्, कान्ला ताछिरहेका छन् । रोपाहरहरु सेखु ओढेरै रोपिरहेका छन् धानका बिउँ । दिनभर सेखु थाप्लामा राखेर खेतमा काम गर्दा ढाड कटक्क दुख्दो हो । तर मन त कहाँ दुख्छ र ? काम गरेर खानलाई के को दुःख , खेतमा भनेको सुन्थे ।

मध्यान्नतिर सेखु ओढेरै घरबाट धुन्से वा डोकोमा खान्की ल्याउँछन् घरकाले । बेसीँकै धान, हिउँदे आलु, आलीमै फलेको मासको दाल अनि खेतमै उब्जेको मुलाको अचार । अनि खाना माथि मगमगाउँदो घिउ । आलीमा टुसेक्क बसी सेखु ओढेरै खाना खाँदाको मज्जा नै बेग्लै । चिसो अनि भोको पेट तातो खानाले तताउँदा कम्ता आनन्द मिल्छ नि ! भन्छन् नि भोजनभन्दा भोक मिठो । असारे हिलो माटोको गन्ध, वर्खे झरीको त्यो टपटप आवाज, नजिकै एक सुरले बगिरहेको रत्ती खोला आदिले मन त्यसै मत्याइहाल्छ । अघाएको अनुभूति हुन्छ मन पनि । यो भोजनको स्वाद शहरको कुनै पाँच तारे होटलमा पस्किने चौरासी व्यञ्जनबाट भिन्न लाग्छ मलाई । बाँकी रहेका खाना र दिउँसोको खाजासमेत त्यहीँ सेखुले ढाकेर सुरक्षित राख्छन् ।

सेखु केवल सेखु मात्र हैन मेरा लागि । कैयौं बाल्यकालका स्मृतिहरु यससँगै जोडिएर अनायासै आउँछन् । घरबाट स्कुल हिँडेर एक घण्टा लाग्थ्यो । वर्खे झरी, जुका, खोला अनि हिलो बाटो पार गर्दै स्कुल जो पुग्नु थियो । आमालाई लाग्दो हो, यी सब दुःख छोराले झेल्न नपरोस् । आमाको पिठ्युमा बुई चढी यहीँ सेखुले गल्र्याम्म ढाक्थिन् आमाले । अनि पटुकीले मज्जाले कसिदिन्थिन् । अनि स्कुलसम्मको रोयल यात्रा । अनि घर ल्याउथिन् साँझ उसैगरी आमाले । यसको भार त म कहिल्यै तिर्न सक्दिन् आमा । सन्तानका खुसीका लागि आफ्ना रहर र चाहनाहरु तिलञ्जली दिने ती तमाम आमाहरुप्रति नमन ।

गाउँठाउँमा उत्सव, कार्यक्रम, चाडपर्व हुँदा यहीँ ओढेर हामी जान्थ्यौं । मामा घर यहीँ ओढेर गएको सम्झना अहिले ताजा बनेर आयो । साथीसंगीसँग खेल्न, घुम्न र डुल्न सेखु हाम्रो साथी बनेर आउँथ्यो । आज सेखुले सम्झाइदिए ती बालसखाहरु (जो उज्वल भविष्य खोज्दै सात समुन्द्र पारि छन्) र सँगै बिताएका ती स्वर्णीम क्षणहरु ।

आजकलका युवाहरुलाई के थाहा यसको महत्व ? समयसँगै यसको महत्व, प्रयोग र यसको सीप पनि लोभ हुँदै गए । न बुन्ने मान्छे नै छन् न ओढ्ने नै । आजकल त जहीतही छाता अनि रेनकोट कै बिकबिकी छ । सेखु वातावरणमैत्री चिज हो । आजको समयमा वातावरण प्रदुषणको कारक बनेका छन् प्लास्टिकका छाता र रेनकोट । मज्जाले कुहिन्छ, सेखुमा प्रयोग हुने बासको चोया अनि भोर्लाका पातहरु ।

आजकल विभिन्न गाउँहरुमा रहेका संग्रहालयमा सीमित हुन पुगेको सेखुको महत्व, प्रयोग र यसको संरक्षणमा विशेष पहल गरिनुपर्नेछ । ग्रामीण पर्यटनमा पर्यटकहरुलाई आकर्षण गर्नका लागि पनि यस्ता
साधनहरुको प्रयोग प्रवर्धन गर्न जरुरत देखिन्छ ।
सेखु इज लभ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->