पोखरा/ गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले प्रमाणपत्र थन्क्याएर खाडी दगुर्नुपर्ने शिक्षा प्रणालीमा सुधार हुनुपर्ने बताएका छन् । उनले आदिवासी जनजाति विद्यार्थीहरुलाई देशकै शासन र प्रशासनमा पुग्ने र विश्व जगतमा बिक्ने विषय पढ्न आग्रह गरेका छन् ।
कुलपति गुरुङ २८ औं विश्व आदिवासी दिवसको अवसरमा मंगलबार तमु धिं नेपालले आयोजना गरेको ‘तमु जातिको शैक्षिक अवस्था र अबको शिक्षा’ विषयक अनुशिक्षण कार्यक्रममा बोल्दै थिए । सो अवसरमा तमु धिँले यसवर्षको एसइई उत्तीर्ण तमु विद्यार्थीहरुलाई सम्मान पनि गरेको थियो ।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा डा.चन्द्रबहादुर गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर गुरुङ तमु धिं नेपालका केन्द्रीय सदस्य एवम शिक्षा विभाग संयोजक श्रीजंग गुरुङ,वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ,सचिव जुमकाजी गुरुङलगायतले बोलेका थिए ।





