पोखरा, २५ साउन– भारतमा जारी केलेला महिला लिगमा नेपाली स्टार फरवार्ड सावित्राले पाँच गोल गर्दा गोकुलमले सान्दार जित निकालेकी छिन् ।
राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य सदस्य समेत रहेकी सावित्रा भण्डारीको पाँच गोलसँगै गोकुलमले केरेला युनाइटेड फुटबल क्लबलाई ११–० को फराकिलो गोलअन्तरले पाखा लगाएको हो ।
बुधबार भएको खेलमा सावित्राले ५ गोलसँगै दुई गोलमा एसिस्ट पनि गरिन् । पहिलो हाफमा नै ४ गोल गरेकी उनले खेलको २७ औं मिनेटभित्र ह्याट्रिक गरेकी थिइन् ।
उनले खेलको तेस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । उनले छैटौं मिनेट व्यक्तिगत दोस्रो र २७ औं मिनेटमा ह्याट्रिक पूरा गरिन् । ३५ र ५६ औं मिनेटमा उनले थप गोल गरिन् ।
गोकुलम केरेला लिगसँगै महिला आइ लिग च्याम्पियन पनि हो । सावित्रा गत साता भारत गएकी थिइन् ।
दुई वर्ष अघि पनि गोलकुलमबाट खेल्दै टोलीलाई आइ लिग च्याम्पियन बनाएकी थिइन् । उनले त्यति बेला १६ गोल गरेकी थिइन् ।





