पोखरा, २६ साउन–अखिल नेपाल फुटबल संघ (एन्फा) ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितासँग जुधाउनेगरी नेपाल सुपर लिगलाई मिति दिने तयारी गरिरहेको छ ।
एन्फाको नयाँ कार्यसमितिको आगमनसँगै अन्योलमा परेको दोस्रो संस्करणको नेपाल सुपर लिग(एनएसएल) ले असोज २३ देखि मंसिर २ गतेसम्म मिति तोकेको छ ।
एन्फाको यो निर्णले खेलाडीलाई मर्का पर्र्ने देखिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गर्दैछ ।
एन्फाको मिति अनुसार कोजाग्रत पूर्णिमाकै दिन एनएसएल सुरु हुनेछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी एन्फाको दोस्रो बैठकले एनएसएलका लागि मिति दिएको हो ।
एनएसएल आयोजकसँग छलफलका लागि अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा समिति गठन भएको छ ।





