बाग्लुङको बुर्तिबाङबाट मध्य पहाडी लोकमार्गलाई छाडेर केही घण्टामा पुगिने बाक्लो गाउँ हो, बोबाङ । बोबाङ गाउँबाट मास्तिर लागेपछि छरिएका घरहरु रहेकासुकुरढुङ गाउँ पुगिन्छ । त्यहीँ गाउँलाई दाहिने पारेरसुप्राङ खोला बेतोडले बगिरहेको छ । बर्खा लागेसँगै उर्लेर आउने खोलासँगैसुप्राङबासीमा भय पनि साथैमा उर्लेर आउँछ । यो वर्षमात्र हैन, हरेक वर्ष ।बर्खा यामभरि उनीहरु डरैडरको सिरानी बनाएर सुत्छन् । चैनले नसुतेका कैयौं रातहरु छन् ।
दुई वर्षअघिको त्यो दर्दानाक घटना उनीहरु सम्झन पनि चाहँदैनन् । सम्झुुन पनि कसरी ? एकै रातमा कैयौं घरवारविहीन बने । कैयौंले आफ्ना जहान परिवारहरु गुमाए । कति विधवा बने त कति टुहुरा । कतिका त सिंगो घर नै रित्तियो । वंश नै मासिने पनि गाउँमा छन् । खोलाले रित्याएको गाउँको खुसी अझै फर्किन सकेको छैन । गुल्जार गाउँमा खुसी कहिले फर्किएला ?
साल २०७७ । भदौ १७ गते राति ११ बजेको हुँदो हो । ढोरपाटनको सिरानमा रहेको भुजी खोलामा पहिरो खस्यो । त्यसपछि थुनिएको खोलापुरै उर्लिएर आयो । फलेघर, दुवाल हुँदै सुकुरढुङसम्मका खोला छेउका बस्तीहरु एक निमेषमै बगाएर लगेको थियो । त्यही प्रलयबाट बारबार बाँचेर फर्केका केहीमध्ये एक हुन् देवेन्द्रकुमार घर्ती मगर । अर्थात् नजिकै रहेकोश्री सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ।
उनै सरसँग उनकै घर रित्तिएको ठाउँमा अकस्मात भेट हुने सञ्जोग जु¥यो । हँसिला चेहेराका उनी भने आफ्ना मनका बेदना र पीडाहरु लुकाएर मुस्कुराइरहेझैं देखिन्थे ।गफिदै गएपछि भने उनी विस्तारै खुल्दै गए । अनि पोख्न थाले मनका वेदनाहरु । घर बगाउँदादेखिका स्कुल अन्त सार्नु पर्दासम्मको सास्तीहरु । आफन्त गुमाउँदादेखिका घरवारविहीन छिमेकीका रोदनहरु । अझ भनौं यस भेगको दुखेको मन उनले एकएक गरि सुनाउन थाले ।
बाल्यकालमा फर्कदाः
उनी जन्मेको पहिरा, सुकुरढुङ गाउँ । गाउँमै रहेको श्री सरस्वती आधारभूत विद्यालयमा उनी तीन कक्षासम्म पढे । साथीभाइ गोठमा गाइभैसीँसँग खेलिरहँदा उनी किताबसँग रमाइरहन्थे ।गाउँमा तिनताका विद्यालय जाने संख्या नै औंलामा गनिने खालको थियो । अशिक्षा र गरीबीले घेरिएको तिनताकाको ढोरपाटन सेरोफेरो धेरै पिछडिएको थियो । मध्यम परिवारमा हुर्किएका उनलाई परिवारले पढ्नमा कुनै कमी गरेनन् । तीन कक्षासम्म पढाइ हुने गाउँको विद्यालय सकेर चार र पाँच कक्षा एक घण्टा तल बोबाङ गाउँमा गएर पढे । पढाइमा उनी कहिल्यै दोस्रो हुन परेनन्, सधैं प्रथम ।
पढाइलाई निरन्तरता दिदैँ उनी बुर्तिबाङ गए। त्यहीँ १० कक्षासम्म पढेर उनी उच्च शिक्षाका लागि काठमाडौं हानिए । आइएड र बिएड नेपाली र स्वास्थ्य शारीरिक विषय लिएर उनले उत्तीण गरे । पढाइ सकिएपछि शहरमा उनको मन अडिएन । उनको मनमा त गाउँकै वनपाखा र डाँडापाखा घुमिरहन्थ्यो । त्यसैले गाउँको मायाले उनलाईगाउँ फर्कायो । अनि सुरु गरे गाउँमै शिक्षण पेशा ।
तिनताका बिएडपढ्ने नै यस भेगमा कोही थिएनन् । त्यसैले शिक्षण करियर प्रधानाध्यापकबाटै सुरु गर्ने सौभाग्य मिल्यो उनलाई । सुरुका चार वर्ष नजिकैको अधिका चौर ओख्रेनी गाउँमा प्रधानाध्यापक भए । त्यसपछि उनी आफ्नै गाउँ फर्किए । जुन विद्यालयमा उनले क ख ग…पढेका थिए, त्यसैमा उनी सरुवा भएर आए, प्रधानाध्यापकको जिम्मेवार बोकेर । आपनै गाउँ फर्किँदाको खुसी उनको मनमा व्यापकथियो । जुन विद्यालयमा उनी कक्षा तीनसम्म पढेका थिए, पछि त्यसमा कक्षा पाँचसम्म पढाइ सञ्चालनमा ल्याए । गाउँमै पाँच कक्षासम्म पढाइ हुँदा सिंगो गाउँमा खुसी छायो। कारण घण्टौं हिँडेर पढ्नलाई बोबाङ वा बुर्तिबाङ झर्नुपरेन । त्यसपछि उनी आफ्नै गाउँठाउँको शैक्षिक स्तरोन्नति गर्ने महात्वाकांक्षी लक्ष्यसहितदत्तचित भएर लागे ।
अशिक्षा र गरीबीले ग्रस्त सिँगो भेग
यस भेगका प्रायः परिवारहरु गरिबीका रेखामुनि थिए । दलित जातिको बाहुल्यता रहेको यस भेगमा अशिक्षा, अज्ञानता, कम उमेरमा विवाह,बहुविवाह आदि शिक्षाका बाधकहरु व्याप्त थिए । माथि बुकी गोठ, ढोरपाटन र यस ठाउँमा गरी वर्षमा तीन पटक बसाइँसराइँ गर्ने प्रचलन अझै यहाँ चलिरहेको छ । त्यसैले पनि बालबालिकाहरु एकै ठाउँमा एकाग्र भएर पठनपाठन गर्न पाउँदैनथे । त्यसैले धेरैको बाल्यकाल कि त गोठमा पाठापाठी स्याहार्दै त कतिका आफ्नै बालबच्चा हुर्काउँदैमा बित्थ्यो । बिहानबेलुकाको हातमुख जोड्न धौधौ हुने परिवारलेविद्यालयको पोसाकदेखि कापीकलमको जोहो कसरी गरुन ? यस्तै अनेकौं बाधकहरु माझ गाउँमा शैक्षिक क्रान्ति ल्याउन त्यति सजिलो त कहाँ थियो र ?
निरन्तरता, लगनशीलता र कर्तव्यनिष्ठ उनका पर्याय थिए । उनी प्रधानाध्यापकलाई पेशाका रुपमा मात्र नलिएर यसलाई आफ्नो जिम्मेवारीबोध गरी गाउँठाउँमा शैक्षिक सुधारको विगुल फुक्दै हिँडे । हरेक घरघरै आफै पुगेर उनी शिक्षाको महत्वमात्र बुझाउँदैनथे, घरघरैबाट बालबालिकालाई जम्मा पारेर विद्यालयसम्म ल्याउने वातावरण मिलाउँथे । अनि साँझ घरसम्मै पु¥याइदिन्थे ।
फेरिएको शिक्षा अवस्था
समय फेरियो । समयसँगै यस भेगमा आम मानिसको शिक्षाप्रतिको मानसिकता पनि फेरियो । हामी नपढेर दुःख पाएपनि सन्तानहरुलाई पढाएरै छाड्ने अठोट बोकेर दुःख गरिरहे ।बा आमा माथि बुकी गोठ आफैं उक्लिरहे । यता सन्तानहरु माथिल्ला कक्षाहरु उक्लँदै गए । अहिले त्यहीँ तीन कक्षासम्म पढाइ हुने विद्यालयमा कक्षा ९ सम्म पढाइ हुन्छ । करिब चार सय हाराहारी र १२ जना शिक्षकशिक्षिकाहरु आबद्ध रहेको यस विद्यालय यस भेगकै राम्रो विद्यालयमा मानिन्छ, उनी थप्छन्, ‘अहिले मसुरु, सुप्राङ, बोबाङदेखिका विद्यार्थीहरु पनि घण्टौं हिडेर यहीँ पढ्न आउँछन् । त्यहाँ पनि विद्यालयहरु नभएका हैनन् तर हाम्रो विद्यालयको शैक्षिक गुणस्तरले उनीहरुलाई यहाँसम्म डोे¥याएको हुनुपर्छ ।’
बाढीले बगाएको त्योे खुुसी
उनलाई अझै त्यो घटना झलझल्ती याद आउँछ । जुन रात उनको सिंगो घर नै बाढीले एक निमेषमै बगाइदियो, जहाँ उनी पाहुनालाई बस्न खाने व्यवस्था गर्थे । शिक्षण पेशामा लागेका उनी, यता उनकी श्रीमतीले सानो होटेल चलाउँथिन् । फुर्सदमा उनी पनि होटलकै काममा सघाउँथे । बुर्तिबाङबाट गाडी वा बाइकमा घुम्न आउनेहरु त्यहाँ पसेर खाना नास्ता गरेर ढोर उक्लन्थे । नयाँ कोठा थप्ने योजनासहित चार सय हाराहारीमा फल्याकहरु पनि घरमै ओसारिसकेका थिए ।
उनी दुई वर्षअघिको घटना सम्झदै न्यास्रो मुहारमा भन्छन्, ‘राति एघार बजिसकेको थियो । हामी त सुतिसकेका थियौं । एक्कासी छोरीले बा बाढी आयो, बाढी आयो भनेपनि आफ्नो आङमा रहेको एकसरो लुगामै हामी घरमाथि कुद्यौं । त्यसको केही मिनेटमै घरको जगैसहित बाढीले बगाएर लगिदियो । हामी त ठूलो भाग्यले बाँचेका थियौं ।’
बाढीले घर बगाउँदा उनलाई थप अर्को चिन्ताले मनमा पिरोलिरहेको थियो । अलिक माथि रहेको विद्यालयलाई पनि बाढीले कतै बगाएर त लगेन ? घर बगाउनु तीन–चार जनाको भविष्य अन्योल हुनु हो भने विद्यालय बगाउनु सिंगो गाउँको भविष्य बगाउनु हो भन्ने उनले राम्ररी बुझेका थिए । कति बेला बिहान होला र विद्यालय पुगुँ भनेर उनले रातभर आँखा झिमिक्क गरेनन् । बिहान विद्यालय पुग्दा विद्यालयको पर्खाल र केही कोठाहरुलाई बाढीले बगाएछ ।
आफ्नै घर उठिबास हुँदाको दुःखले भन्दा बढी उनलाई विद्यालय अन्यत्र कतै सार्न पाए भन्ने पिरलो मनमा रहिरहन्थ्यो । विद्यालय व्यवस्थापन समितिको निर्णय लिएर अहिले विद्यालय सुरक्षित स्थानमा स्थान्तरण भएको छ । कक्षाकोठाहरु निमार्णकै चरणमा रहेका छन् ।
यता उनको आफ्नै भत्किएको घरको पर्खाल अझै ठडिन सकेको छैन । घर पुनःनिमार्णको कुरा कोट्याउँदा मलिन मुहारमा उनी भन्छन्, ‘यहीँ बगाएको घर बनाउँदाको ऋण अझै तिर्न सकिरहेको छैन । ब्याजमाथि ब्याज तिर्नै धौ–धौ छ । सरकारले दिने भनेको बाढी पीडितको सहयोग रकम पनि मात्र दुई लाखका दरले हरेक परिवारले पाए । बाँकी रकम आउने भनेको पनि वर्षौं भइसक्यो तर अझै आएको छैन ।’
यो उनको मात्र गुनासो हैन, ९७ घरथुरीका साझा गुनासाहरु हुन् यी ।त्यस प्रलयमा ३७ जनाले त ज्यान गुमाए, गुमाए, बाँचेकाहरुले पनि चैनसँग बाच्न पाएका छैनन् । डरैडर र भयसँग मित लगाएर बाँचिरहेका उनीहरुका व्यथाहरु कसले सुन्ने ?
सिंगो शिक्षित परिवारः
सानैदेखि आफैं पढ्नमा राख्ने उनले आफ्ना चारै सन्तानलाई शिक्षामा कुनै कमी गराएनन् । छोरा छोरी सबैलाई बराबर, मेरो यहीँ मन्त्र लागू हुन्छ, उनी थप्छन् । पढेको र नपढेको सन्तानको भिन्नता आकाश जमिनको उनी मान्छन् । त्यसैले दुवैका रहर र चाहनाहरुलाई खुम्च्याएर सबै चारै सन्तानलाई इच्छाहुन्जेल पढाए । आज उनका सन्तानहरु कोही पशु डाक्टर, नर्स त कोही फ्रान्समा छन् । पढाइ नै सबैभन्दा ठूलोलगानी ठान्ने उनले भने आफ्नै घर बनाउन सकेका छैनन्, पुरानै घरमा ओत लागेर बसेका छन् । जेनतेन दुःखसुख जीवन बाँचिरहेका उनी सन्तानकै कमाइले नयाँ घर बनाए त्यसमा बाँकी जीवन बिताउने सपना चाँहि साँचेका छन् ।
अन्त्यमा,
उनीसँग बिदा लिएर जाँदै गर्दा मैले उनको मोबाइल नम्बर मागे । ‘पोहोर दसैंको भत्ता आउँदा किनेको मोबाइल छोरीले बोकेर हिँड्छे । अस्ति भर्खर किनेको मोबाइल छोरालाई चाहियो भनेर बागलुङ लगेर गयो । अहिले त मोबाइल पनि छैन सर, मसँग । केही छैन, अर्को दशैंको भत्ताबाट नयाँ मोबाइल जोड्नु पर्ला । अनि तपाईसँग जोडिनेछु’ उनी मुसुक्क हाँस्दै बिदा हुन्छन् ।





